अमेरिका र मेक्सिको सीमा नजिकैको मेक्सिकन सहर बाभिस्पेबाट सोमबार राति दुई परिवार दुई कारमा चढेर ७० माइल टाढाको डग्लास सहर जान हिँडे। गाडीमा महिला र बालबालिका धेरै थिए। केही किलोमिटर पर गएपछि अचानक कसैले उनीहरूको कारमा गोली हान्यो। बन्दुक धारीले दुबै कारमा गोली हानेका थिए। यो अचानकको आक्रमणमा परी ६ बालबालिका र तीन महिलाको घटनास्थलमै ज्यान गयो।
बन्दुकधारी को हुन् भन्ने पत्ता लागेको छैन। अहिलेसम्म मेक्सिकोका अधिकारीहरूले उनीहरू लागुऔषध कारोबारी हुन सक्ने बताएका छन्। यो सीमा क्षेत्रमा लागुऔषध कारोबारीका समूहबीच बेलाबेलामा हिंसात्मक आक्रमण भइरहन्छन्। सोमबार पनि उनीहरूले अर्को समूहका मानिस ठानेर महिला र बालबालबालिका चढेको कारमा आक्रमण गरेको हुन सक्ने बताइएको छ।
गोली हानेर बन्दुकधारी गए केही बालबालिका घाइते थिए। मध्य रातमा चिने जानेको ठाउँ थिएन। बालबालिकामध्ये १३ वर्षीय बालक डेभिनले आफ्ना ६ भाइबहिनीलाई झाडीमा लुकाए। सहयोग माग्न उनी जहाँबाट आएका हुन् त्यहीँ गए। २३ किलोमिटर हिँड्न उनलाई झन्डै ६ घन्टा लाग्यो।
लामो समय कुर्दा पनि डेभिन नफर्किएपछि एक जना अर्की बालिका पनि झाडीबाट हिँडिन्। डेभिनले खबर गरेपछि मेक्सिकन प्रहरी घटनास्थलमा पुग्यो। अमेरिकी सैनिक हेलिकप्टर उद्धारमा खटियो। अहिले ती बालबालिकाको अमेरिकाको फिनिक्सस्थित अस्पतालमा उपचार भइरहेको छ।