
भोजपुर । टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णकी २५ वर्षिया पवित्रा गिरी जन्मजात नै नशा सम्बन्धिको रोगले ग्रस्त छिन् । सामान्य हिँडडुल गर्न पनि नसक्नाले उनी प्रायजसो घरमै हुन्छिन् । शारिरीक र मानसिक रुपमा अशक्त बनेपछि उनको अवस्था नवजात शिशुको झैँ छ । कमजोर आर्थिक अवस्थाले समयमा उपचार नपाउनाले पनि उनको यो हविगत भएको परिवारजन सुनाउँछन् । बर्षौदेखि अटिजन नामक नशाको रोगले ग्रस्त पवित्राको स्वास्थोपचार र सुधारमा केहि आशा पलाएको छ । सामाजिक सुरक्षा भत्ताबाट पनि बञ्चित उनले त्यो सुविधा पनि पाउने भएकी छन् । घरमै निःशुल्क स्वास्थ्य जाँच र अपाङ्गता परिचयपत्र पाएपछि उनको परिवारमा हर्षमय बनेको छ ।
‘जन्मजातै छोरी यो अवस्था भयो, जिउँदो लास झैँ सधैँभरी घरमा राख्नुपर्दा मन दुख्छ, के गर्नु समयमा उपचार गर्न सकिएन’ पवित्राकी आमा हर्कमायाले भनिन्, ‘अहिले डाक्टर सरहरु घरैमा आएर चेकजाँच गरिदिनुभयो, अब छोरीको केहि होला कि भन्ने आशा पलाएको छ’ यस्तै वर्षौदेखि प्यारालाईसिसबाट थलिएका टेम्केमैयुङ गाउँपालिका खावा केराबारीका ५२ वर्षिय बसन्त राईलाई पनि शिविरबाट निःशुल्क स्वास्थ्य सेवा र अपाङ्गता परिचयपत्र पाए । हलचल गर्नै समस्या भोग्दै आएका बसन्तलाई पनि शिविर टोलीले उनको घरमै पुगेर उपचार सेवा र परिचयपत्र प्रदान गरेपछि परिवारमा खुशी छायो । पवित्रा र बसन्त जस्तै धेरैको संख्यामा वर्षौदेखि स्वास्थ्य जाँचबाट बञ्चित गाउँपालिका क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुले शिविरबाट स्वास्थ्योपचारसंगै परिचयपत्र पाएका छन् ।
गाउँपालिका क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर विशेषज्ञ चिकित्सकबाट शिविर चलाईएको हो । भौगोलिक विकटता र सेवासुविधाको पहुँचले स्वास्थ्य सेवाबाट बन्चित भएका स्थानीयलाई लक्षित गरेर शिविर चलाईएको थियो । प्राथमिक उपचारपछि जटिल र विशेष शल्यक्रिया गरिनुपर्ने स्थितीका विरामीको उपचारमा विशेष सहयोग मिल्ने गाउँपालिका उपाध्यक्ष ईन्द्रावती राईले बताईन् । अपाङगता भएकाहरुलाई शिविरपछि आवश्यकताका आधारमा परिचयपत्र, सहयोगी उपकरण दिईने राईले सुनाईन् । अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरणका लागि पनि छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्टसहितका स्वास्थ्य विशेषज्ञहरुले प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो । घरआगनमै स्वास्थ्य सेवा पाउँदा उनीहरु हर्षित बनेका छन् । स्वास्थ्य परिक्षण गर्ने, पुष्टि गर्ने, पुराना रोगीलाई नयाँ हिसाबले वर्गिकरण गर्ने गरि नै अपाङ्गता व्यक्तिहरु लक्षित कार्यक्रम चलाईएको करुणा फाउन्डेशन नेपाल भोजपुर प्रमुख राजेन्द्र पराजुलीले बताए ।







