बेलायतमा आउँदो हप्तादेखि लकडाउन हट्दै

लण्डन । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या क्रमश घटन थालेपछि आउँदो सातादेखि सरकारले बेलायतमा जारी लकडाउन हटाउने भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या उल्लेख्य रुपमा सुधार हुन थालेपछि बेलायत सरकारले लकडाउन हटाउने तयारी गरेको हो ।

 

संक्रमण दर अनुपातमै भएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या भने घटेको बेलायतको सञ्चारमाध्यमहरुले जनाएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ ।

 

बेलायतले कोरोना संक्रमण नियन्त्रणका लागि कडा नीति लिएपछि कोरोना नियन्त्रण हुन थालेको छ । जारी लकडाउन, बाहिरी मुलुकहरुबाट हुने आवतजावतमा कडाई र तीव्र गतिमा खोप वितरणले कोरोना नियन्त्रण आउन थालेको हो ।

बेलायतमा दुई चरणमा कुल ५ करोड ३३ लाख २८ हजार ८ सय ४५ डोज खोप वितरण भएको छ । ३ करोड ५४ लाख ७२ हजार २ सय ९५ जनाले पहिलो र एक करोड ७८ लाख ५६ हजार ५ सय ५० जनाले खोपको दोस्रो चरणमा खोप लगाईसकेको छ ।

 

हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख १२ हजार नाघेको छ । बेलायत सरकारको पूर्व निर्धारित समय अनुसार नै आउँदो मे १७ बाट जारी लकडाउन हटाउने प्रधानमन्त्री बोरिस जोन्सनले बताए ।

 

आउँदो सोमबारबाट पब तथा रेष्टुरेन्ट पनि पुरै खुल्ने भएको छ । ग्यालेरी, थिएटर, सिनेमा हल लगायतका स्थानहरु पनि संचालनमा आउने भएको छ । यसैगरी ६ जनासम्मको समूह वा दुई परिवारबीच घरभित्र भेट्न पाउने भएको छ । परिवार तथा साथीभाईबीच ३० जनासम्म आउटडोरमा भेट्न पाइनेछ भने विवाह तथा अन्त्यष्टिमा पनि ३० जनासम्म भेला हुन पाउनेछन् । आउँदो सोमबारबाट स्कुल र कलेजमा मास्क लगाउन आवश्यक नपर्ने भएको छ ।

 

बेलायतमा कोरोनाका कारण एक लाख २७ हजार ६ सय ९ जनाको मृत्यू भइसकेको छ । पछिल्लो २४ घन्टामा दुई हजार २ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या ४४ लाख ३७ हजार २ सय १७ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार ९ सय ९ छ भने ४२ लाख ५० हजार ६सय ९९ संक्रमित निको भइसकेको छ । सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्नुको साथै निको क्रम पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार