
अमेरिकी प्रविधि दिग्गज Meta Platforms ले चिनियाँ मूलको एआई स्टार्टअप Manus AI लाई २ अर्ब डलरभन्दा बढी मूल्यमा किन्ने सम्झौता गरेको छ । यो सम्झौता अमेरिकी कम्पनीले एशियाली कृत्रिम बुद्धिमत्ता कम्पनी (एआई) अधिग्रहण गरेको सबैभन्दा चर्चित सम्झौतामध्ये एक हो ।
मार्चमा सार्वजनिक गरिएको Manus ले स्वतन्त्र रूपमा जटिल काम सम्पन्न गर्न सक्ने “सामान्य” एआई एजेन्टको दाबी गर्दै बजारमा प्रवेश गरेको थियो । रिज्युमे छनोट, सेयर बजार विश्लेषण, बजार अनुसन्धान, कोडिङ र डाटा विश्लेषणजस्ता कार्य स्वतः गर्न सक्ने क्षमताका कारण कम्पनीले छोटो समयमै ध्यान आकर्षित गरेको थियो, यद्यपि सुरुआती परीक्षणमा कहिलेकाहीँ गलत तथ्य उत्पादन (hallucination) गरेको टिप्पणीसमेत आएको थियो ।
Manus चिनियाँ एआई उत्पादन स्टुडियो Butterfly Effect ले सुरु गरेको हो । सन् २०२५ को मध्यतिर कम्पनीले आफ्नो मुख्यालय चीनबाट सिंगापुर सारेको थियो र हाल सिंगापुर, टोकियो र सान फ्रान्सिस्कोमा करिब १०५ कर्मचारीसहित सञ्चालनमा छ ।
कम्पनीका अनुसार यसले वार्षिक आम्दानी १० करोड अमेरिकी डलर नाघिसकेको छ भने कुल आम्दानीदर १२ करोड ५० लाख डलरभन्दा माथि पुगेको छ । अप्रिलमा यसले अमेरिकी भेन्चर क्यापिटल फर्म Benchmark को नेतृत्वमा ७५ मिलियन डलर लगानी जुटाएको थियो, जसबेला कम्पनीको मूल्याङ्कन करिब ५० करोड डलर रहेको बताइएको थियो ।
कम्पनीका संस्थापक सियाओ होङ हुन्, जो Butterfly Effect का प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । सन् १९९२ मा चीनमा जन्मिएका उनले Huazhong University of Science and Technology बाट सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका थिए । यसअघि उनले Nightingale Technology स्थापना गरी WeChat का लागि “Yi Ban” सहायक उपकरण विकास गरेका थिए, जसले चीनमा लाखौं प्रयोगकर्ता पाएको थियो । सह–संस्थापक जी (Ji) कम्पनी सार्वजनिक गर्दा मुख्य प्रस्तोता थिए र यसवर्ष MIT Technology Review को “Innovators Under 35” सूचीमा परेका छन् । उत्पादन प्रमुख झाङ ताओ यसअघि ByteDance मा ग्लोबल प्रोडक्ट हेड र Tencent मा प्रोडक्ट म्यानेजरका रूपमा कार्यरत थिए ।







