चीनमा बालबालिकाले दिनमा ४० मिनेट मात्रै टिकटक चलाउन पाउने

चीनमा बालबालिकामा टिकटकको लत बढेपछि दिनमा ४० मिनेट मात्रै चलाउन पाइने समयसीमा तोकिएको छ।

 

विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’को नामबाट उपलब्ध छ। चीनमा सर्वाधिक लोकप्रिय एप डुइनका प्रयोगकर्ता पनि सबैभन्दा  कम उमेरकै किशोर–किशोरी छन्।

 

बालबालिका निकै झुम्मिन थालेपछि चिनियाँ टिकटकको मातृ कम्पनी बाइटडान्सले ब्लगपोस्मार्फत उनीहरूले अब बिहान ६ बजेदेखि राति १० बजेभित्र केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउने घोषणा गरेको हो।

 

बीबीसीका अनुसार आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका बालबालिकाका लागि यो नियम लागू हुने कम्पनीले जनाएको छ।

 

बालबालिकालाई डिजिटल लतबाट जोगाउन यस्तो सीमा तोक्ने आफू नै पहिलो प्लाटफर्म भएको दाबी पनि कम्पनीले गरेको छ।

 

किशोरावस्थाका प्रयोगकर्तालाई सिकाइका लागि गुणस्तरीय सामग्री उपलब्ध गराउनका कडा मेहनत गरिरहेको पनि कम्पनीले जनाएको छ।

 

चिनियाँ टिकटक डुइनमा खाता खोल्न न्यूनतम उमेर हद तोकिएको छैन। जति कम उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न पाउँछन्।

 

तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्न अभिभावकको स्वीकृति लिनुपर्छ। टिकटकमा खाता खोल्न भने न्यूनतम उमेर १३ वर्ष तोकिएको छ।

 

चीन सरकारले किशोरकिशोरीलाई प्रविधि प्रयोगमा नियन्त्रण गर्ने कदम चालेपछि डुइनले पनि प्रयोगको समय सीमा निर्धारण गरेको हो।

 

गत महिनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर–किशोरी तथा बालबालिकाले शुक्रबार र बिदाका दिन एक घण्टा मात्र भिडिओ गेम खेल्न पाउने, अन्य दिन नपाउने नियम लगाएको छ।

 

त्यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीलाई विद्यालयमा फोन प्रयोगमा पनि बन्देज लगाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार