
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतलाई कल्याणकारी संस्थाको रुपमा दर्ता गरिएको छ । सामाजिक हितमा पुर्ण समर्पित गर्ने उद्देश्यले कल्याणकारी संस्थाको रुपमा संघलाई दर्ता गरिएको हो ।
तत्कालीन अध्यक्ष योगकुमार फगामीको कार्यकालमा संघलाई कल्याणकारी संस्थामा दर्ता गर्ने भनिए पनि दर्ता भने हुन सकेको थिएन ।
प्रेम गाहा मगरको वर्तमान नेतृत्व निर्वाचित भएसंगै यसको प्रक्रिया द्रुत रुपमा अगाडी बढाएको थियो । संस्थालाई पूर्णरुपमा कानुन सम्मत, तथा पारदर्शिरुपमा बनाउनका लागि कल्याणकारी संस्थामा दर्ता गरिएको अध्यक्ष प्रेम गाहा मगरले बताए ।
लामो समयको मेहनतले गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतले आवश्यक सम्पुर्ण मापदण्ड पुरा गरी कल्याणकारी संस्थामा दर्ता भएको उपाध्यक्ष सुनिलबाबु खडकाले बताए ।
संस्थाको कामहरुलाई पारदर्शी, अगाडीका अनियमितता र बक्यौताहरु खोजी गर्ने अभियानमध्ये संस्था दर्ता प्रक्रियालाई पुरा गरिएको अध्यक्ष प्रेम गाहा मगरले बताए । अब संघका कामहरु पनि कार्यालयबाट सम्पन्न हुने पनि अध्यक्ष मगरले बताए ।
जनहितमा कामका लागि आर्थिक सहायता संकलन गर्ने र उद्देश्य अनुसार जनहितमै खर्च गर्ने संस्थालाई कल्याणकारी संस्थामा दर्ता गर्नुपर्ने हुन्छ । स्थापनादेखि नै आर्थिक सहायता संकलन गरी परोपकारी काम गर्दै आइरहेको भएपनि स्थानीय कानुन अनुसार संस्था दर्ता भने गरिएको थिएन ।
च्यारिटी ऐन २०११ को दफा ६० अनुसार च्यारिटी संस्थाको रुपमा ११९६०१३ नम्बरमा दर्ता भएको च्यारिटी कमिसनले दिएको प्रमाणपत्रमा उल्लेख छ । च्यारिटी कमिशनमा दर्ता भई परोपकारी काममा सक्रिय संस्थालाई बेलायत सरकारले पनि आर्थिक सहायता उपलब्ध गराउने गर्दछ ।
अगष्ट पहिलो साता सम्पन्न निर्वाचनबाट निर्वाचित प्रेम गाहा मगर नेतृत्वको कार्य समितिले आर्थिक पारदर्शिताको मुद्दालाई प्राथमिकताका साथ अघि सारेको छ ।
एनसीसी यूकेले केही दिनअघि मात्रै (सेप्टेम्बर १९ मा) युवा र महिला सशक्तीकरणको उद्देश्यसहित अल्डरसटमा च्यारिटी डिनरको आयोजना गरेको थियो । तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको अवसर पारेर आयोजित च्यारिटी डिनरमा बेलायतका लागि तत्कालिन नेपाली राजदूत लोकदर्शन रेग्मीसहित संसारभरबाट बेलायत पुगेका गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागिता रहेको थियो ।







