खेतमा डुबेको धान कसरी सुरक्षित उठाउने ? यस्ता छन् विज्ञका नौ सुझाव

अविरल वर्षासँगै आएको बाढी र पहिरोले सुदूरपश्चिम तथा पूर्वका थुप्रै जिल्लाको जनजीवन प्रभावित भएकाे छ । बाढी, पहिराे तथा डुबान लगायतका विपद्का घटनामा परी जनधनकाे ठूलाे क्षति भएकाे छ ।

 

बेमाैसमी पानीका कारण भित्र्याउने तयारी गरेकाे धान खेतमै डुबेपछि किसानहरू यतिबेला पीडामा छन् । सबै धान नोक्सान हुने चिन्ताले उनीहरू थप समस्यामा परिरहेका छन् ।

 

तर यतिबेला विज्ञहरूले पानीले डुबाएको धानलाई सकेसम्म कम क्षति गराउने तर्फ ध्यान दिनुपर्ने बताइरहेका छन् । यसो गर्नाले क्षति न्यूनीकरण गर्न सकिने उनीहरूको मत छ ।  कृषि विज्ञ भोलामान श्रेष्ठले लगायतका विज्ञले भिजेकाे धानकाे स्याहार गर्ने तरिका सिकाएका छन् ।

 

यस्ता छन् विज्ञहरूले दिएका सुझावहरू:-

१) सबैभन्दा पहिले खेतमा जमेको पानी निकाल्ने र खेत सुकाउने ।

२) भिजेकाे धान काटेकाे भए सुख्खा स्थानमा सार्ने, नत्र हल्का डोरी लगाएर उठाउने ।

३) धेरै तातो र चिसो भए धान उम्रिने खतरा हुन सक्छ । त्यसैले अब सकेसम्म घाम लागेपछि मात्र धान काट्ने ।

४) सामान्य तापक्रममा भएको अवस्थामा धानलाई चलाउने तथा पल्टाउने नत्र गुम्सिन्छ ।

५) खेतमै ढलेको धान भए पानी कटाएर जमिन ओभाउने भएपछि मात्र काट्ने, ढलेको धान नओभाएसम्म नहल्लाउने ।

६) पानी जमेको र बाढी पसेको स्थानको धान पानी पर्ने छाडेको २ दिनसम्म नकाट्ने अथवा काट्नै परे तत्काल झार्ने ।

७) बाढीले भिजाएको धान भए परालले बनाएको सामग्रीमा मात्र सुकाउने, भिजेको धान प्लाष्टिकमा सुकाउनु हुँदैन ।

८) बाढी अथवा पानीले भिजेको धान एक सातासम्म खुल्ला ठाँउमा फिजाउने, बोरामा तत्काल नहाल्ने  ।

९) पानीले भिजेको धान धेरै चर्को घाममा सुकाउँदा फुट्न सक्छ, त्यसैले ठिक्ककाे घाममा सुकाउने  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार