बप्पी लहेरी : डिस्को संगीतदेखि भाजपा प्रवेशसम्म

बीबीसी । भारतका गायक तथा संगीतकार बप्पी लहेरीको बुधबार ६९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति करिब पौने १२ बजेतिर मुम्बईको जुहूस्थित क्रिटिकेयर अस्पतालमा उनको निधन भएको हो ।

 

अब्सट्रक्टिव स्लीप एपनिया (ओएसए)बाट पीडित उनी सोमबार मात्रै एक महिनापछि घर फर्किएका थिए । तर, स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार पुनः उनलाई अस्पताल भर्ना गरिएको थियो ।भारतमा डिस्कोको प्रचलन बसाएको श्रेय उनलाई जान्छ । उनका डिस्को फ्लेवरका गीतहरू ‘चलते–चलते’, ‘डिस्को डान्सर’ र ‘सराबीको धूम’लगायत चर्चित छन् ।

 

सन् २०२० मा उनको स्वरमा अन्तिम गीत ‘बागी ३’ को ‘भंकास’ सार्वजनिक भएको थियो ।

सुनको गहनामा विशेष लगाव
सुनका गहनामा बप्पी लहेरीको विशेष लगाव थियो । उनले कैद गराएका तस्बिरहरूमा पनि त्यो देख्न सकिन्छ । उनले संगीत भरेका ‘डिस्को डान्सर’, ‘हिम्मतवाला’, ‘शराबी’, ‘एडभेन्चर अफ टार्जन’, ‘डान्स–डान्स’, ‘सत्यमेव जयते’, ‘कमान्डो’, ‘आज के शेहेन्शाह’, ‘थानेदार’, ‘नम्बरी आदमी’, ‘शोला और शबनम’ गीत करियरका विशेष हुन् । उनका ‘जिम्मी जिम्मी, आजा–आजा’ त आज पनि उत्तिकै चर्चित छन् ।

हलिउडसम्मको यात्रा
बप्पी लेहरीको वास्तविक नाम आलोकेश लहेरी हो । चार वर्षको उमेरमा लता मंगेशकरको एउटा गीतमा तबला बजाएर चर्चामा आएका उनलाई मायाले बप्पी लहेरी भनेर बोलाउन थालिएको हो । बलिउडमा उनलाई ‘बप्पी दा’ भनेर सम्बोधन गरिन्थ्यो ।

 

उनी बलिउडमा मात्र होइन, हलिउडमा पनि चर्चित थिए । ८० देखि ९० दशकमा बलिउड चलचित्रहरूमार्फत स्रोता–दर्शकलाई डिस्को धुनमा नचाएका उनलाई ‘डिस्को किङ’ पनि भनेर चिनिन्छ । बलिउड संगीतलाई डिजिटल गर्नमा उनको ठूलो योगदान छ ।

 

थुप्रै राष्ट्रिय अवार्ड जितेका उनलाई ग्रामी अवार्ड जित्ने ठूलो इच्छा थियो । यसबारे उनले सन् २०१६ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका थिए, “मैले कैयौँ अवार्ड जितेँ, तर आजसम्म ग्रामी अवार्ड जित्न सकेको छैन । मैले अहिलेसम्म पाँचपटक ग्रामीमा इन्ट्री पठाइसकेको छु । योपटक ‘इन्डियन मेलोडी’ एल्बम जसमा सुफी, लोक र भारतीय संगीत शैलीको दोस्रो गीत पठाएको छु ।”

उनका संगीत हलिउडमा पनि कैयौँपटक प्रयोग गरिएको छ । सन् १९८१ मा रिलिज भएको ‘ज्योति’को गीत ‘कलियोँ का चमन’ अमेरिकन टप ४० मा परेको थियो ।

संगीतदेखि राजनीति
बप्पी लहेरी २०१४ मेमा भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका थिए । भाजपामा प्रवेश गरेसँगै उनले देशमा नरेन्द्र मोदीको लहर चलेको भनी अभिव्यक्ति दिएका थिए ।सन् २००४ मा उनले भारतीय कांग्रेसका लागि अभियान चलाएका थिए ।

 

२०१४ को लोकसभा चुनावमा भाजपाले बप्पी लहेरीलाई हुगली जिल्लाको श्रीरामपुर लोकसभा सिटको उमेदवार बनाएको थियो । यद्यपि, उनले चुनाव हारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार