
आइतबार हृदयघातका कारण निधन भएका अभिनेता प्रशान्त तामाङ चर्चित गायक तथा अभिनेता हुन् । तामाङले भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभीको रियालटी शो ‘इन्डियन आइडल २००७’ बाट चर्चा कमाएका थिए ।
उक्त शो विजेता समेत बनेका उनी भारतीय प्रहरीका पूर्व जवान पनि हुन् । शोमा सहभागी भएको समय उनी प्रहरीमै कार्यरत थिए । तामाङका पिताको प्रहरीमै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि उनलाई कोलकात्ता प्रहरीमा उक्त जागिर गर्ने अवसर प्राप्त भएको थियो । प्रशान्तको जन्म भारतमा दार्जिलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।
जिन्दगीमा कहिल्यै औपचारिक रूपमा सङ्गीतको शिक्षा हासिल नगरेका उनले ‘इन्डियन आइडल’ जितेपछि गायन सुरु गरेका थिए । इन्डियन आइडल जितेपछि पहिलो पटक नेपालको पोखरा र काठमाडौँका कन्सर्ट गरेका उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’बाट अभिनय सुरु गरेका थिए ।
त्यसपछि उनी नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’ मा देखिए । उनको पछिल्लो नेपाली फिल्म ‘परदेशी २’ हो । उनी अभिनीत तीन वटै नेपाली फिल्म हिट मानिन्छ ।
उनले अभिनय गरेका नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’का निर्माता राजेश बंशलका अनुसार उनी अहिले सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा काम गरिरहेका थिए । फिल्ममा उनले चाइनिज आर्मीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको डबिङ बाँकी नै छ ।
‘फिल्म डबिङका लागि चाइनिज भाषा सिक्ने तयारी गर्दैछु दाइ भन्थे’, राजेश बंशलले भने ‘आज मृत्यु भएको सुन्दा पत्याउन सकेको छैन ।’ ‘उनको परिवारका सदस्यबाट मृत्यु भएको खबर थाहा पाएपछि पत्याउनु नै पर्यो’, राजेशले थपे । बंशलका अनुसार तामाङ एक सहयोगी, मिलनसार र मिहिनेती व्यक्ति थिए ।
सबै कुरोलाई पोजेटिभ रूपमा मात्र हेर्न उनको बंशलसँग केही दिनपछि भेट्ने कुरो थियो । तर आज अचानक मृत्युको खबर सुन्दा आफूलाई निकै दुखी बनाएको बंशलले बताए ।







