
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले संघ/संगठन र पञ्चिकृत सदस्यहरुको आकस्मिक भेला बोलाएको छ । आइसीसीले अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त गरेको भन्ने पत्र लेखेपछि गैर–आवासीय नेपाली संघ बेलायतले विहिवार आकस्मिक रुपमा संघ संगठन र पञ्चिकृत सदस्यहरुको भेला बोलाएको हो ।
आइसीसीले प्रतिशोधपूर्ण रुपमा कार्यक्षेत्र भन्दा बाहिर गएर अध्यक्षलाई पदमुक्त गरिएको भन्ने पत्र सार्वजानिक गरेकाले संघ/संगठन र पञ्जिकृतहरुको भेला डाकिएको प्रवत्ता भरतमणी चोङवाङले बताए । ११ हजार २ सय ६३ जना पञ्जिकृत सदस्यहरुबाट निर्वाचित अध्यक्षलाई पदमुक्त गर्न नमिल्ने भएपनि आइसीसी मुडभेडतर्फ उद्यत भएकाले भेला डाकिएको प्रवक्ता चोङवाङले बताए ।
विधानत र च्यारेटी कमिशसनको नियमअनुसार अध्यक्षलाई पदमुक्त गर्न मिल्ने कुनै व्यवस्था छैन प्रवक्ता चोङवाङले भने “महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षलाई हटाउन महाधिवेशनमा भोट हाल्ने सदस्यहरुको दुईतिहाई वहुमत पञ्जिकृत सदस्यहरुले मात्रै पदमुक्त गर्न सक्छ । तर एउटा कोठे बैठकले पदमुक्त गर्न सक्दैन ।”
बेलायतस्थित नेपाली समुदाय मेलमिलाप र आपसी सद्भावका साथ एक जुट भएर रहेको अवस्थामा ६ महिना म्यादी अध्यक्ष कुल आचार्यले गुटउपगुट सिर्जना गरी एनआरएनए युके फुटाएको पनि प्रवक्ता चोङवाङले बताए । संघसंगठन र पञ्जिकृत सदस्यहरुको भेलाबाट नै सबै छिनोफानो गरिने पनि चोङबाङले बताए ।








