जीपीकी पत्नीले मुख खोलिन्, उषाले नै आफ्नो श्रीमानलाई दु:ख दिए

पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको जाहेरीमा उनका पूर्वपति जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

 

यो घटनामा परोक्षरुपमा जोडिएकी अर्को पात्र हुन् जीपीकी कान्छी पत्नी सविना अधिकारी । उषासँग डिभोर्सपछि जीपीले सविनासँग विवाह गरेका थिए । आज जीपी जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा रहेपछि सविना पनि दिनभरि त्यतै रहिन् । उनले पहिलो पटक यस प्रकरणमा मुख खोल्दै उषाको तीव्र आलोचना गरेकी छन् ।

 

उषाले मिडियाबाजी गरेर आफूलाई समेत गाली खुवाएको सविनाको गुनासो छ । उषाले मिडियामा चलाएको हल्लामा कुनै सत्यता नभएको समेत उनले बताइन् । जीपीले घरबाट निस्केर जा भनेर कहिल्यै पनि नभेटेको दाबी उनले गरिन् ।

 

‘त्यस दिन (उषाले स्टाटस लेखेको दिन) पनि उहाँ… शर्माको गाडीमा घरमा आउनुभएको थियो । शर्माले गाडीको लाइटले जीपी सरको आँखामा हानेपछि उहाँले ‘गेटआउट’ भन्नुभयो । त्यसपछि उहाँले गाडीलाई फनक्क घुमाएर फिर्नुभएको थियो,’ सविनाले भनिन्, ‘त्यसपछि उषाजी जिपीसँग झगडा गर्न थाल्नुभयो । मुखमा जुन जुन गाली आउँछ, त्यही त्यही बोल्नुभयो ।’

 

शर्मा भन्ने व्यक्ति उषाको पुरानो साथी भएको उनले बताइन् । ‘घरमा आइरहनुहुन्छ । उहाँले क-कसलाई ल्याउनु हुन्छ, हामी चासो पनि राख्दैनौँ । शर्मा स्वयंले पनि वीरगन्ज अदालतमा आफ्नी श्रीमतीसँग डिभोर्स गरिपाऊँ भनेर मुद्दा हाल्नुभएको छ रे’ सविनाले भनिन् ।

 

अहिले घरको किस्तादेखि छोरीको स्कुल फी जिपीले नै तिरिरहेको सविनाको भनाइ छ । ‘उहाँ (उषा) ले यदि घर लिनुहुन्छ भने हामीले पाउनुपर्ने कुरा दिए हुन्छ, हामी घर छाडिदिन्छौँ । यदि उहाँ घरबाट अलग भएर जान चाहनुहुन्छ भने कानुन अनुसार उहाँले पाउनुपर्ने सबै कुरा हामी एक साताभित्र उहाँलाई दिन्छौँ,’ सविनाले भनिन्, ‘तर, एक दिन भए पनि जिपी सरलाई थुनाउने उहाँको नियत देखिन्छ । आफ्नै आत्मालाई झुट बोलेर यस्तो गलत नियत राख्नेलाई के भन्न सकिन्छ र !’

 

जिपीले उषासँग डिभोर्सपछि सविनासँग बिहे गरेका हुन् । जिपी र उषाका दुई छोराछोरी उषासँग बस्छन् ।

सविनाको भनाइ उनकै शब्दमा

अस्तिदेखि नै केस चलिरहेको थियो । म ३/४ दिन नेपाल बाहिर थिएँ । त्यो घटनाको दिन म घरमै बसेर इन्डिया जानलाई प्याकिङ गर्दै थिएँ । एक्कासि अगाडिपट्टि बाउ–छोरा खेलिरहेको ठाउँमा आवाज आयो । राति भए पनि पोलको लाइटमा बच्चाले खेल्न मन गरेको भएर ब्याडमिन्टन खेलिरहेका थिए ।

 

त्यत्तिकैमा उहाँ (उषा खड्गी) को गाडी आयो । गाडी चाहिँ एक जना केटा मान्छेले हाँकेको थियो । शर्मा थरको व्यक्ति, जो उहाँको पुरानो साथी हुनुहुन्छ वीरगञ्जदेखिकै, पुर्‍याउन आउनुभएको थियो ।

 

उहाँ को हो, कस्तो सम्बन्ध हो हामीलाई केही थाहा छैन । तर पहिलेदेखि नै उहाँको साथी हो । डिभोर्स हुनुभन्दा अगाडिदेखि नै जीपीलाई थ्रेट दिन्थे उनले । उषाजीसँग खटपट भएपछि बेलाबेलामा निहुँ खोजिराख्थे । उनको पनि केस अदालतमा छ । श्रीमतीविरुद्ध डिभोर्सको मुद्दा हालेका रहेछन् ।

 

त्यसबेला उहाँलाई पनि भक्तपुर प्रहरीमा ल्याएर सोधपुछ गर्दा ‘म उहाँहरूको फ्यान हो, त्यस्तो केही गर्दिनँ’ भनेर सरी भन्नुभयो र मिलापत्र भएछ ।

 

उषाजी आफैँले हंगामा मच्चाउनुभएको हो मिडियामा । जीपी चुपचाप सबै कुरा बच्चाको लागि सहेर बस्नुभयो । उहाँले ४ वर्षसम्म धेरै मिल्ने कोसिस गर्नुभयो । त्यो बुटिक पनि उहाँकै पार्टनरसिपमा थियो, उहाँले नै एकलौटी बनाइदिनुभयो । उषाजीले धेरै बार्गेनिङ गर्नुभयो । ८ लाखको हीराको हार डिमान्ड गर्नुभयो, त्यो पनि दिनुभयो । ४ वर्षसम्म अथक प्रयास गर्दा पनि घर मिल्न नसकेपछि अन्ततः डिभोर्स भयो ।

 

मसँग त धेरै पछि मेरो बुबा र जीपीको बुबा अत्यन्त मिल्ने साथी भएको हुनाले उहाँहरूको सहमतिमा बिहे भएको हो । बिहेभन्दा १÷२ महिना अगाडि मात्रै कुराकानी भएर कात्तिकमा उहाँसँग मेरो भेट भएको हो ।

 

हाम्रो बिहे भएपछि फेरि उषाजीले मनगढन्ते कहानी बनाएर मेरो चरित्र हत्या गर्ने गरी आरोप लगाउन थाल्नुभयो । उहाँलाई द्वन्द्व खुब मन पर्छ । र अवैधानिक सम्बन्धको लाञ्छना लगाउन उहाँलाई मन पर्छ ।

 

शर्माजी घरमा बेलाबेला आउँदै जीपीलाई थर्काएर जाने गर्नुहुन्थ्यो । अस्ति १७ गते बेलुका बाउ–छोरा खेलिरहेको बेला शर्माले आँखामा लाइट बाल्दिनुभयो र हर्न बजाउनुभयो । ब्याडमिन्टन खेलिरहेका जीपीलाई रिस उठ्यो र ‘गेट आउट’ भन्नुभयो । त्यसपछि त्यो मान्छे गयो । उषाजी भित्र आएपछि द्वन्द्व मच्चाउनुभयो । ‘तँलाई मार्छु, काट्छु, तँ नयाँ श्रीमती लिएर आउने, मैले नहुने’ भन्दै सबै फोहोरी गाली गर्नुभयो । छरछिमेकी सबैले सुनेका छन् ।

 

म बाहिर जाने तयारीमा थिएँ, भोलिपल्ट बिहानै हिँडेँ । म बाहिर गएपछि समाचारहरू देखेँ । मेरो ट्रेनिङ बिग्रिन्छ भनेर मैले धेरै न्युज हेरिनँ । म योग विज्ञान सिक्न इन्डिया गएकी थिएँ । त्यहाँ ३–४ दिन मलाई कन्सन्ट्रेट हुन गाह्रो भयो । म हिजो बेलुका आइपुगेँ । हामी कानुनी प्रक्रियामा जान्छौँ । अहिले हामी छलफलमै छौँ।

 

एउटै घरमा छौँ, सहमतिमा जाऊँ भन्दा उहाँ म एक्लै घरमा बस्न पाउनुपर्छ, तिमीहरू घरबाट निक्लिनुपर्छ भन्नुहुन्छ । त्यो घर जीपीले अहिलेसम्म किस्ता तिरिराख्नुभएको छ । सिद्धार्थ बैंकबाट लोन लिएर बनाइएको घर हो ।

 

उषाजीले तिललाई पहाड बनाउँनुहुन्छ । छिमेकीलाई सोध्नुस्, यो घर कस्तो थियो र अहिले कस्तो बनाएका छौँ । उहाँका बाउआमा पनि हामीले नै पाल्नुपर्ने । घरको बिजुली पानीको खर्च ६–७ हजार आउँथ्यो, अहिले १७–१८ हजार आउँछ । त्यो पनि हामीले नै तिरिरहेका छौँ ।

 

उहाँ चाहिँ मिडियाबाजी गर्ने, चरित्र हत्या गर्ने र अफवाह फैलाउने गर्नुहुन्छ । उहाँले पुलिसलाई ‘जीपीलाई एक दिन भए पनि जेल हाल्नैपर्छ’ भन्नुभएको छ । बाहिर एउटा रूप, भित्र अर्कै चरित्र छ उहाँको । हामीले सीसीटीभी र अडियो रेकर्ड पनि राखेका छौँ । उहाँका बाउआमा, दिदीबहिनी सबै अहिले घरमा ८–१० जना छन् ।

 

हामीले हेपेको भए उहाँहरू त्यहाँ कसरी बस्न सक्नुहुन्थ्यो ? घर जीपीको नाममा दर्ता छ । छोराको स्कुल फी महिनाको ३०–३२ हजार छ, छोरीको कलेजको ३५–३७ हजार छ, त्यो सबै जीपीको अकाउन्टबाट पे भइरहेको छ । जिम्मेवारी कसले उठाएको छ भन्ने कुरा सिद्धार्थ बैंक वा स्कुल– कलेजमा गएर बुझे हुन्छ । उहाँ झूटको खेती गरेर अफवाह फैलाइरहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार