
लण्डन । किरात राई यायोक्खा केन्द्रीय समिति बेलायतको आयोजनामा मन्धुम सम्बन्धी प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम हुने भएको छ । मुन्धुमबारे वहस र छलफल गर्ने उद्देश्यका साथ आउदो १ मे मा प्रशिक्षण तथा अन्तरकृया सम्पन्न हुने भएको हो ।
भर्चुअल जुमको माध्यमबाट सम्पन्न हुने प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम मुन्धुम सम्बन्धी जानकार र अध्ययाताद्धारा सहजीकरण हुने भएको छ । किरातहरुको जीवन र दर्शनसंग सम्बन्धित रहेको मुन्धुमलाई जीवन्त राख्ने अभिप्रायका साथ प्रशिक्षण तथा अन्तरकृया गर्न लागिएको किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले जनाए ।
प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको सहजीकरण किरात राई यायोक्खा केन्द्रीय समिति नेपालका महासचिव जनक राई, पुर्खा गडुलमान राई, मुन्धुम अध्ययता शान्तिदेवी राई, पुर्खा दिलबहादुर राई र किरात राई यायोक्खा बेलायतका महासचिव नरेश काङमाङले गर्ने भएको छ ।
प्रशिक्षण तथा अन्तरकृया कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय समितिका पदाधिकारी, सदस्य, प्रारम्भिक कार्यसमितिका पदाधिकारी, सदस्य, साधारण, आजविन लगायत किरात राई महानुभावहरुको सहभागिता रहने भएको छ । हाम्रो संस्कार र संस्कृतिलाई जीवन्त राख्न सहयोग पुगोस भन्ने हेतुले प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गर्न लागिएको किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले बताए ।
मानव जीवनको जन्मदेखि मृत्यसम्मका संस्कार र संस्कृतिको मुल बिषयमा प्रशिक्षण हुने छ, उपाध्यक्ष राईले भने –‘‘यसमा मुख्य तीन भागमा गर्भदेखि जन्म, शुभकार्य, सुप्तुलुङ (चुला) र मृत्यु संस्कार सम्बन्धित कृयाकलापहरु पर्छ ।’’







