
लन्डन । आसन्न गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रहेकी रोजिना प्रधान राईले सदस्यता वितरणलाई तीव्र पारेकी छन् ।
अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासीसंगै सदस्यता वितरणमा तीव्रता दिएकी हुन । बुधबारसम्म करिब २६ सय जनाले आवेदन दिएकामा राईले सवै भन्दा बढी सदस्य बनाएका दावी गरेकी छिन ।
सदस्यता आवेदन दिने अन्तिम समयसीमा १० जुन तोकिएको छ । समयसीमा नजिकिंदै गर्दा एनआरएनए बेलायतका उपाध्यक्ष राईले बेलायतवासी नेपालीसमक्ष सदस्यता लिन अपिल समेत गरेकी छन् । सामाजिक रुपान्तरणका लागि एनआरएनए बेलायतमा प्रत्यक्ष सहभागिता जनाउन उनको विशेष अपिल छ ।
एनआरएनए बेलायतको संस्थागत सुधारका लागि विभिन्न एजेण्डासहित मैदानमा उत्रिएकी राईले अग्रजहरु र समुदायबाट पूर्ण साथ र समर्थन पाएको बताइन् । ’जब म सदस्यता विस्तारमा संलग्न भएं, समुदायबाट अप्रत्यासित समर्थनले मेरो आत्माबल थप बढेको छ’, उनले भनिन् ।
एनआरएनए बेलायत उपाध्यक्ष निर्वाचित हुदाँ अत्यधिक मत ल्याएकी रोजिनाले बेलायतस्थित नेपाली डायष्पोराको मन जितिसकेकी दावी गर्दै आएकी छिन । बेलायतबासी नेपाली ईञ्जिनियरहरुको संस्था सोसाइटी अफ नेपलिज ईञ्जिनियर्स इन यूके अध्यक्ष संयुक्त श्रेष्ठले रोजिनाबारे लेखेका छन् – ’आखिर रोजिनाले मलाई गैर–नेपाली संघको सदस्य बनाएरै छाडिन् । अठोट गरे पछि लगिपर्ने र गरेरै देखाउने संकल्प भएकी महिला रहिछिन् यिनी ।
उनी हाम्रो सु:ख–दु:खमा निरन्तर साथ दिँदै आइरहेकी छिन्। भर्खरै मात्र हामीले १० थान अक्सिजन कन्सन्ट्रेटर पठाएर नेपाललाई कोभिडको दोश्रो लहरसँग जूझ्न सहयोग गर्ने क्रममा यिनले संघको तर्फबाट सहजकर्ताको गहन भूमिका समेत निर्वाह गरिन् । आसन्न निर्वाचनमा अध्यक्षको पदमा उम्मेदवारी दिएको सुनेर म हर्षित छु ।’
उनी अगाडि लेख्छन– ’असाध्यै शालीन, सुशिक्षित र कार्यसमितिमा सर्वाधिक सक्रिय उपाध्यक्षका रूपमा अनुभवी अवश्य पनि रोजिना हुन् । पासा पुच: गुथि युके लण्डन, यूकेमा म अध्यक्ष छँदा हाम्रा सबै सदस्यहरूलाई साथ दिने र सेवा गर्ने मौका उनले कहिल्यै चुकाइनन् । सयौंलाई भोज पस्कने र ऐला खन्याउन समेत पछि नपर्ने अत्यन्त व्यावहारिक यिनको स्वभावको हामीले प्रशंसा गर्नै पर्छ ।’







