भोजपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अवान्छित घटनाको न्यूनीकरणमा नेपाल प्रहरी निरन्तर लागी परेको बताएका छन् । आईतबार जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित भवनको उद्घाटनका लागि भोजपुर आएका महानिरीक्षक खनालले सुरक्षा व्यवस्थामा नेपाल प्रहरीले कुनै कसुर नछोडेको बताएका हुन् ।
पछिल्लो भोजपुरको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकताका साथ गृह मन्त्रालय र केन्द्रिय तहबाटै गम्भिरताका साथ हेरिएको उनले बताए । महानिरीक्षक खनालले नेत्र विक्रम चन्द नेतृत्वको अवान्छीत गतिविधिको नियन्त्रणमा कडाईका साथ अगाडी बढ्न सम्पूर्ण सुरक्षा निकायलाई आग्रह गरेका छन् । उनले केन्द्रदेखि जिल्ला तहसम्म गलत क्रियाकलापमा लाग्ने समुहलाई निस्तेज पार्न उच्च मनोबल बनाएर काम गर्न समेत नेपाल प्रहरीलाई निर्देशन दिए ।
महानिरीक्षक खनालले समाजमा शान्ति अमनचयन कायम गर्न सुरक्षा व्यवस्थामा नेपाल प्रहरीले विशेष ध्यान दिनुपर्ने पनि बताएका छन् । पछिल्लो समय बृद्धि भएको आपराधिक क्रियाकलापलाई विशेष ध्यानमा राख्दै महानिरीक्षक खनालले भयरहित वातावरण बनाउन आमनागरिकको सेवामा नेपाल प्रहरीको मातहतका सम्पूर्ण प्रहरी निकायलाई यस्तो निर्देशन दिएका हुन् ।
सम्बोधनका क्रममा महानिरीक्षक खनालले ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै नेपाल भित्रिने पर्यटकको सुरक्षा व्यवस्थालाई कडाई साथ अगाडी बढाईने बताए । कुल ४ करोड ८२ लाख ८ हजार ८ सय ७७ रुपैयाको लागतमा जिल्ला प्रहरी कार्यालयको भवन र कुल ४ करोड ३३ लाख ५१ हजार ३ सय ६४ रुपैंया लागतमा कार्यालय प्रमुख निवास, ब्यारेक भवन, भान्साघर तथा शौचालय लगायतको भौतिक संरचना बनेको छ ।