लण्डन । बेलायतमा बस्ने तामाङ समुदायले सधैको बर्ष झै यसबर्ष पनि सोनाम ल्होछार मनाउने भएको छ । तामाङ समुदायले आउँदो २५ जनवरीका दिन सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्वको रुपमा विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो । मञ्जुश्री सम्बत अनुसार (फाग्) ल्हो सुंगुर वर्ष पूरा गरी नाम्युङ ल्हो मुसा वर्ष प्रवेश गरेको अवसरमा लण्डनको साउथ हेरोस्थित हेरो बरो फुटबल क्लवमा सोनाम ल्होछार मनाउने भएको छ ।
तामाङ समुदायको यो २८५६औँ सोनाम ल्होछार हो । मञ्जुश्री सम्बत सुरु भएको २८५६ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको तामाङ समाज बेलायतले जनाएको छ । तामाङ समुदायले प्रत्येक वर्ष नेपाली सम्बत माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउने गरेको छ ।
तामाङ संस्कार अनुसार पुजा पाठ गरेर आफ्नो घरमा राखिएको पुराना लुङदर (झण्डा) लाई नयाँ परिवर्तन गर्दै पुरानो बर्षलाई विदा र नयाँ बर्षलाई स्वागत गरी मनाइने तामाङ समाज बेलायतका अध्यक्ष कुमार लामाले बताए । पुरानो बर्ष समाप्त भएर नयाँ बर्ष प्रबेश हुने भएकोले ल्हो बर्ष र छार नयाँ भन्ने जनाउने भएकाले ल्होछार भनिएको अध्यक्ष तामाङले बताए । यसै दिन लामा गुरु र ठुला बडाको आर्शिवाद लिने साथीभाई, आफन्तहरुसंग तामाङ लगायत अन्य परिकार बनाएर खाने र मनोरञ्जनहरु गरिने अध्यक्ष तामाङले बताए ।
बेलायतमा बसोबसा गर्ने सबै तामाङ समुदायहरु व्यस्त जीवनबाट फुर्सद निकालेर भएपनि उक्त दिन एकै स्थानमा भेला भएर सोनाम ल्होछार मनाउने गर्दै आएका छन ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजकको रुपमा लिने गरिएको यसका अनुसन्धाताहरु बताउँछन । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गर्ने गरेका छन ।
यस अवसरमा तामाङ सेवा समाज बेलायतले भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ । बेलुकी ४ बजे शुरु हुने कार्यक्रममा ठुलो संख्यामा तामाङ समुदायहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।