कोरोनाबाट समस्या परेको गोर्खाहरुलाई बेलायत सरकारले सहयोग गर्ने

लण्डन । कोरानो भाइरसको महामारीबाट समस्या परेका बेलायतमा बसोबास गर्ने गोर्खाहरुलाई बेलायत सरकारले सहयोग गर्ने भएको छ ।

बेलायत सरकारले कोरोना भाइरसको महामारीका कारण बेलायतमा रहेको गोर्खाहरुलाई परेका समस्याहरुप्रति आफू गम्भीर रहेको जनाउदै सहयोग गर्ने आवश्वासन दिएको छ ।

समस्यामा परेका गोर्खाहरुलाई सहयोगको व्यवस्था गर्न आग्रह गर्दै लण्डनस्थित नेपाली दूतावासले पठाएको पत्रको जवाफमा बेलायतले गोर्खाका समस्यालाई समाधान गर्न आवश्यक सहयोगको आश्वासन समेत दिएको हो ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार गत अप्रिल २७ मा दूतावासले पठाएको पत्रको जवाफ मंगलबार बिहान बेलायतको रक्षा मन्त्रालयले फर्काएको थियो । उक्त पत्रमा बेलायत सरकारले भूतपूर्व गोर्खा र उनीहरुका परिवारका समस्यालाई गम्भीरतापूर्वक लिंदै पूर्ण जिम्मेवारीका साथ समाधान गर्ने बताएको छ ।
उनीहरुको लागि ‘गोर्खा वेल्फेयर ट्रस्ट’ लगायतका निकायहरुबाट आवश्यक सहयोग उपलब्ध गराइरहेको जानकारी गराउँदै पत्रमा आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराइने उल्लेख छ । बेलायत सरकारले ‘गोर्खा वेल्फेयर ट्रस्ट’ मार्फत हरेक साता गोर्खाका समस्याहरुसम्बन्धी ५ सय ‘केस’ डिल गरिरहेको जानकारी समेत गराएको छ ।

पत्रमा बेलायत सरकारले गोर्खाहरुको सवालमा लण्डनस्थित नेपाली दूतावाससंग समेत समन्वयमा काम गर्ने बताउँदै कुनै समस्याहरु भए जानकारी गराउन आग्रह गरेको छ । साथै, कुनै पनि सुचना, परामर्श वा सहयोगको आवश्यकता पर्ने गोर्खा र उनीहरुका परिवारलाई ‘गोर्खा वेल्फेयर ट्रस्ट’ मा सम्पर्क राख्न आव्हान गरिएको छ ।
महामारीका बेला बेलायतको गोर्खा समुदायले सामना गरेका समस्याहरुबारे दूतावासले पत्राचार गर्दै बेलायत सरकारको ध्यानाकर्षण गराएको थियो । गोर्खाहरुका समस्याप्रति बेलायत सरकार सचेत र गम्भीर रहेको र ‘गोर्खा वेल्फेयर ट्रस्ट’ बाट उनीहरुका लागि आवश्यक सबै सहयोग उपलब्ध हुने जानकारी गराएको बेलायतका लागि नेपाली दूतावास प्रवक्ता शरदराज आरनले बताए

गोर्खा वेल्फेयर ट्रस्ट’ ले गोर्खाहरुका लागि आवश्यक सुचना, परामर्शका साथै आर्थिक ‘प्याकेज’ हरुबारे समेत जानकारी उपलब्ध गराइरहेको छ । कुनै पनि सहयोग आवश्यक पर्ने गोर्खा र उनीहरुका परिवारको लागि नेपाली भाषामै समेत हेल्पलाइन उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार