बेलायतमा साढे ७ सय नेपालीमा संक्रमण, ज्यान गुमाउने ६१

लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो सार्वजनिक उक्त तथ्यांकले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखाएको छ ।

संक्रमितमध्ये उपचारका लागि अस्पतालमै भर्ना हुनेहरुको संख्या १ सय १५ छ । जसमध्ये ६१ जनाको मृत्यु भइसकेको छ ।

तथ्यांकमा १७ जना संक्रमित नेपाली अझै पनि अस्पतालमा उपचाररत रहेको र ३७ जना उपचारपछि निको भएर घर फर्किएको उल्लेख छ ।

त्यसैगरी, हालसम्म बेलायतमा ६ सय ३२ जना नेपाली कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका, उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका तथा ६२ जना अझै पनि आइसोलेसनमै रहेको बताइएको छ ।

संघले सञ्चालन गरेको हेल्पलाइन र देशैभर रहेका संघका पदाधिकारीहरुको सक्रियतामा तथ्यांक संकलन गरिएको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी दिएका छन् ।

महामारी शुरु भएयता बेलायतमा अरु कैयौं नेपालीको मृत्यु भएको जानकारी संघमा आएको भन्दै रानाभाटले तीमध्ये केहिमा कोरोनाको संक्रमण आशंका गरिएपनि पुष्टी हुन बाँकी रहेको  बताए ।

एनआरएनए यूकेले बेलायतमा अफ्ठेरोमा परेका नेपालीहरुको सहयोगका लागि संघमार्फत २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयमसेवक गरी कुल १ सय ५१ जना खटिएको बताएको छ ।

त्यस्तै, संघले समस्यामा पर्ने विद्यार्थीहरुलाई राहतदेखि बेलायतका विभिन्न क्षेत्रस्थित भूपू गोर्खा र वृद्धवृद्धा लगायतलाई प्राथमिकतामा राखी मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण गरिरहेको छ ।

यसअघि लण्डनस्थित नेपाली दूतावासले पनि गत सोमबार बेलायतमा ६० जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार