अगस्ट १५ भित्रै कोभिड–१९को खोप तयार गर्ने भारतीय वैज्ञानिकको घोषणा, विज्ञहरुको गम्भीर चासो

भारतको चिकित्सा अनुसन्धान परिषद (आइसिएमआर) ले मानवीय परीक्षण नै सुरु नभएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप आउँदो अगस्ट १५ देखि सर्वसाधारणको प्रयोजनका लागि तयार हुने बताएर सबैलाई आश्चर्यमा पारेको छ ।

 

स्वास्थ्य तथा खोप वैज्ञानिकहरुले आइसिएमआरको घोषणाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । आइसिएमआरले सो खोपको मानवीय परीक्षणका लागि १२ संस्थानलाई पत्र लेखेर स्वतन्त्रता दिवस अर्थात अगस्ट १५ मा खोप सार्वजनिक प्रयोगमा ल्याउने गरी सहयोग गर्न आग्रह गरेको हो ।

 

भारतीयका लागि अबको डेढ महिनापछि उपलब्ध गराउने भनिएको परीक्षण नै सुरु नभएको खोप आइसिएमआर र हैदरावादस्थित भारत बायोटेक कम्पनीले संयुक्त रुपमा बनाइरहेका हुन् ।

 

एक पटकको मानवीय परीक्षण पूरा भएपछि अगस्ट १५ देखि खोप सर्वसाधारणका प्रयोगका लागि उपलब्ध गराउने आइसिएमआरले बताएको छ ।

 

मानवीय परीक्षणका लागि चुनिएका १२ संस्थानलाई आइसिएमआरका निर्देशक डा. बलराम भार्गवले जुलाई २ अर्थात गएको बिहीबार पत्र लेखेर जुलाई सातसम्म परीक्षणका लागि स्वीकृति लिन भनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

उनले पत्रमा भनेका छन्, ‘कोरोना भाइरसलाई रोक्नका लागि आइसिएमआर मार्फत बनाइएको खोपको फास्ट–ट्रयाक ट्रायलका लागि भारत बायोटेक कम्पनीसँग सम्झौता गरिएको छ । कोरोना भाइरसको एक स्ट्रेन निकालेर यो खोप बनाइएको हो । मानवीय परीक्षणपति अगस्ट १५ मा सर्वसाधारणका लागि खोप उपलब्ध गराउन चाहन्छ ।’

 

तर विज्ञहरुले भने यति छोटो अवधिमा खोप प्रयोगमा लैजाने भनिएको प्रति शंका र चासो तथा चिन्ता व्यक्त गरेका छन् । फास्ट ट्रयाकबाट पनि खोप बनाउँदा १२ देखि १८ महिना लाग्छ । त्यस भन्दा पहिले खोप बनाउन सम्भव हुँदैन ।

 

नयाँ खोप तयार गर्नका लागि वर्षौँ लाग्ने भए पनि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि खोप बाहेक अरु कुनै विकल्प नरहेकाले विश्वभर वैज्ञानिकहरु खोप निर्माणका लागि अति तीव्र गतिमा लागि रहेका छन् ।

 

तेस्रो चरणको मानवीय परीक्षणमा रहेका ती खोपहरु चाँडोमा यो वर्षको अन्त्य वा सन् २०२१ को सुरुमा उपलब्ध हुने बताइएका बेला भारतीय वैज्ञानिकले महिना दिन भित्रै मानवीय परीक्षण सकी प्रयोगमा ल्याउने घोषणा गरेको प्रति गम्भीर चासो व्यक्त भएको हो ।

 

यस्तो गर्दा मानवीय स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार