
लण्डन । किरात राईहरूको साझा संस्था किरात राई यायोक्खा केन्द्रीय समिति बेलायतले ‘प्रशिक्षण तथा अन्तरक्रिया’ कार्यक्रम गर्ने भएको छ । २३ जनवरीमा भर्चुअल माध्यमबाट संस्थागत सुदृढीकरण र क्षमता अभिबृद्धि गर्ने अभिप्रायले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका पदाधिकारीहरूको संलग्नता र उपस्थितीमा हुने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा किरात राई यायोक्खा बेलायतका केन्द्रीय समितिको पदाधिकारी र प्रारम्भिक कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहने जनाईएको छ ।
दुई सय भन्दा बढि सहभागिता रहने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा संगठन सञ्चालन गर्ने विधि पद्दती, प्रक्रिया लगायत सांगठाानिक अभिबृद्धि गर्ने बिषयबस्तुमा छलफल हुने भएको छ । नेपाल र भारतपछि बेलायतमा किरात राईहरूको सबैभन्दा धेरै जनघनत्व रहेको छ ।
आफ्नो भाषा, धर्म, संस्कार संस्कृतिको जगेर्ना र उत्थानको लागि किरात राई यायोक्खा बेलायत क्रियाशिल रहदै आएको छ ।
१४ वटा प्रारम्भिक कार्यसमिति रहेको बेलायतमा नेपाली समुदाय अन्तरगत रहेको क्रियाशिल संस्था हो । संस्थागत विकास प्रक्रियामा सहजता ल्याउनका लागि प्रशिक्षण तथा अन्तरक्रिया गर्न लागिएको किरात राई यायोक्खा बेलायतका केन्द्रीय उपाध्यक्ष मेजर योगेश राईले बताए । संस्थालाई समयसापेक्ष सञ्चालन गर्ने कुरालाई निरन्तर दिन प्रशिक्षण तथा अन्तरक्रिया लागिएको हो । उपाध्यक्ष राईले भने ‘कार्यक्रमबाट अनुभव आदनप्रदान गरिने भएकाले संस्थागत हितमा नयाँ सिकाई र प्रयोगमा टेवा पुग्ने छ ।’







