काठमाडौं । तामाङ सगरमाथा आरोही संघ नेपाल (टिसान) ले शनिबार बौद्धस्थित पर्वतिय पर्यटनमा तामाङ र आदिवासी जनजाती समुदायको धर्म, संस्कृति र परम्पराको अन्तरसम्बन्ध बिषयक एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।

तामाङ समुदायको २८६२ औ नयाँ बर्ष तथा साँस्कृतिक महोत्सव सोनाम ल्होछार ता–ल्हो (घोडा वर्ष) को अवसर पारेर तामाङ समुदायबाट प्रतिनिधित्व गर्ने पर्वतारोहीहरुलाई पर्यटक आतिथ्यता र पर्यटन प्रवद्र्धनबारे अभिमुखिकरण गराउने उदेश्यले कार्यक्रम आयोजना गरेको टिसानकी अध्यक्ष शर्मिला लामा स्याङतानले बताइन् । “पर्वतारोहण गर्नु वा गाइड गर्नु हाम्रो एउटा पेशा भयो, पेशा गर्दैगर्दा हामी तामाङ समुदायको हिमालप्रतिको आस्था र परम्पराबारे पनि पर्यटकलाई बुझाउन सकौं, र रैथाने संस्कार तथा परम्पराको प्रवद्र्धन गर्न योगदान पुगोस् भन्ने हेतुले पर्वतारोही साथीहरुमाझ अभिमुखिकरण कार्यक्रम राखेका हौं,” उनले भनिन् ।
कार्यक्रममा पर्यटन व्यवसायी अम्बर बम्जन तामाङले पर्वतारोहण र हिमालसंगको अध्यामिक, धार्मिक र साँस्कृतिक सम्बन्धबारे प्रस्तुती राखे । कार्यक्रममा सहभागी पर्वतारोहीहरुलाई पुर्वको कञ्चनजंघादेखि मकालु, सगरमाथा, गौरीशंकर, लाङ्टाङ्, गणेश हिमाल क्षेत्र, मनास्लु, अन्नपूर्ण, धौलागिरी हिमाल क्षेत्र, डोल्पो क्षेत्र, र पश्चिमको अपि साइपाल क्षेत्रसम्मको हिमशृङ्खलाको अध्यात्मिक र साँस्कृतिक महत्वबारे अभिमुखिकरण गराएका थिए ।
“विदेशीहरुले हिमाल चढ्न सफल हुनुलाई हिमालमाथिको विजयी ठान्छन्, हामी तामाङ जनजातीले हिमाललाई प्रकृतिको उपहारस्वरुप पुज्छौ, आदर गर्छौ,” पर्यटन व्यवसायी तामाङले भने, “यसकारण हाम्रो अध्यामिक, धार्मिक र साँस्कृति महत्व बुझाउँदै हिमाललाई आदर सम्मान गर्नुपर्छ भनेर पर्यटकलाई बुझाउन सक्यौं भने हिमाल संरक्षणलाई बल पुर्याउन सहयोग मिल्नसक्छ ।” उनले फर्पिङ, दामन, तेमाल, हेलम्बु लगायत स्थानीय पर्यटकीय स्थलहरुहरु तामाङ सभ्यता र संस्कृतिको महत्व रहेको जानकारी गराए ।

तामाङ समुदायले आफ्नो उत्पत्ति हिमालयको काखमा भएको विश्वास राख्दै आएको छ । कार्यक्रममा पर्यटन व्यवसायी एवम् लुम्बिनी विकास कोषका सल्लाहकार तिलक लामाले बोल्दै पछिल्ला बर्षहरुमा नेपालको पर्वतिय पर्यटनमा तामाङ समुदायको उपस्थिति बढ्दै गएको र हाल देशभरीबाट सय जनाको हाराहारीमा तामाङ समुदायका युवाहरु पर्वतारोही पेशामा आबद्ध रहेको बताए ।
कार्यक्रममा राजनीतिज्ञ एवम् तामाङ अध्येता परशुराम तामाङ, बागमति प्रदेश सांसद एवम् पुर्व उपसभामुख राधिका तामाङ र पूर्व प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा तामाङ लगायतको उपस्थिती थियो ।







