चिसोसंगै बेँसी झरे लेकाली चौँरी

  प्रदिप चन्द्र राई

 

भोजपुरको पर्यटकीय मैयुङ क्षेत्रमा पालिने चौँरीगाईहरु । तश्विर/प्रदीपचन्द्र राई

 

भोजपुर । बढ्दो चिसो मौसम र हिउँद छिप्पिँदै गएपछि लेकाली चौँरीगोठहरु बेँसी झार्न थालिएका छन् । मैयुङ, साउने, किमालुङ, खार्तम्छा, नागीखर्क लगायतका भोजपुरका उच्च पहाडी क्षेत्रका चौँरीगोठहरु यतिबेला चिसो बढेसँगै बेँसी सारिने गरिएको छ ।

समुन्द्री सतहदेखि सरदर ३३ सय मिटर उचाईका यी क्षेत्रमा दर्जनौँ चौँरीगोठहरु व्यावसायिक चौँरीपालन हुँदै आएको छ । २०८० को तथ्याङ्कअनुसार भोजपुरका मैयुङ क्षेत्रमा मात्रै १९ वटा चौँरीगोठमा ४ सय ७६ चौँरीयाक पालिएका छन् ।

टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाका विभिन्न उच्च पहाडी भेगमा व्यावसायिक रुपमा चाँैरी पाल्दै आएका चौँरीपालक कृषकहरु चिसोयाम सुरु भएसँगै आफ्ना चौँरीगोठहरु सार्न थालेका हुन् । जाडो सुरुभएपछि यहाँ चौँरीगोठहरु सुर्के, तरुलबारी, कोशेढुङगा, चिलिमधाप लगायत विभिन्न स्थानमा सारिने गरिएको छ ।
यहाँका कृषकहरु वर्षैपिच्छे हिउँद लागेसँगै बेँसी झार्ने र बर्खालागेसंगै लेकतिर चौँरीगोठहरु सारिने गरिएको छ । चौँरीगाईहरु हिउँदमा चिसो छल्न बेँसी झर्ने र बर्खायाममा गर्मी छल्न लेक निस्कने क्रम निरन्तर चलिरहने चौँरीपालक कृषक नामसोङ राईले बताए ।
‘मौसमको फेरबदल सँगसँगै चौँरीयाकहरु पनि जाडो र गर्मी छल्न लेकबेँसी गर्ने गर्छन्, यतिबेला चिसो बढेको छ, चौँरीसँगै हामी गोठहरु पनि सार्छौँ’ राईले सुनाए । प्राकृतिक नियम जस्तै बनेको यहाँका चाँैरीहरु मंसिर लागेसंँगै बेँसी झार्ने र फागुन लागेसँगै लेकतिर निस्कने गर्छन् ।
समुन्द्री सतहदेखि सरदर ३३ सय मिटर उचाईका यी क्षेत्रमा दर्जनौँ चौँरीगोठहरु व्यावसायिक चौँरीपालन हुँदै आएको छ । २०८० को तथ्याङ्कअनुसार भोजपुरका मैयुङ क्षेत्रमा मात्रै १९ वटा चौँरीगोठमा ४ सय ७६ चौँरीयाक पालिएका छन् । धेरैजसो मैयुङ घुम्न आउने पर्यटकहरु खर्कमा चौरी चरेको रमाइला दृश्यावलोकन गर्नकै लागि पनि आउने गरेका छन् । तर जाडोयाममा भने चौँरी बेँसी झर्ने भएकाले धेरैजसो पर्यटकहरु वैशाख, असोज, कात्तिक महिनामा मुन्दुम पदमार्ग हुँदै यात्रा गर्ने गरेको याक चौँरी कृषक महासंघ केन्द्रिय अध्यक्ष पावीहाङ राईले बताए ।
उनले भने, ‘सफा मौसम र उपयुक्त तापक्रमका कारण धेरैजसो पर्यटकहरु वैशाख, असोज, कार्तिकमा मैयुङ क्षेत्र घुम्न आउँछन्, चौँरीहरुको चरनले गर्दा यहाँको प्राकृतिक सौन्दर्यता बढ्ने भएकाले पनि पर्यटकहरु यहाँ आउन रुचाउँछन्, गोठबास बस्छन् र कोशेली स्वरुप चौँरीको दुधबाट बनेका छुर्पी लगेर जान्छन्’
चौँरी सार्ने क्रमसँगसँगै चरणक्षेत्र अभावमा कतिपय यहाँका चौरीगोठहरु धमाधम पलायन हुने अवस्था पनि बन्दै गएको छ । सामुदायिक बन समुह गठन भएपछि चौँरी चराए बापत हजारौँ कर तिर्नुपर्ने भएकाले यहाँका चौरी पालक कृर्षकहरुले चरण अभाव देखाउँदै व्यावसाय छाड्न थालेको भोजपुर नगरपालिका १, हेलौँछाका चौरीपालक डेण्डी शेर्पाले बताए । उनी भन्छन्, ‘बनले चौँरी चराएको पनि कर लिन थालेपछि एकातिर जताततै चौँरी चराउन पनि पाईँदैन अर्कोतिर हजार पन्ध्र सय रुपैँया कर तिरिरहनुपर्छ’
चौँरीपालनका लागि प्रशस्त सम्भावना बोकेका मैयुङ क्षेत्र लगायतका उच्च पहाडी क्षेत्रमा कृषकहरुले चौँरी चराएबापत सामुदायिक वनलाई वर्षेनी कर तिर्ने गरेका छन् । प्राकृतिक रुपमा रहेको चरनक्षेत्रमा कर लगाउने नियमले पशुपालकलाई सिमित क्षेत्रमा मात्र चराउने अनुमति रहेको अर्का स्थानीय कृषक दुर्गाधन राई सुनाउँछन् । वनलाई बुझाउनुपर्ने वार्षिक कर र सिमित चरन क्षेत्रले चाँैरी पाल्न झन्झट थपिएको उनी बताउँछन् ।
धार्मिक दृष्टिकोणले अतिआवश्यक ठानिने चौरीको पुच्छर महंगो दाममा किनबेच हुने गरेको छ । जुन धर्मकर्मका लागि चौरीको पुच्छर दुर्लभ हुँदै गईरहेको छ । चरण अभाव र सामुदायिक वनको निगरानी, करले यहाँका लेकाली चौँरीगोठ, चौँरीपालन व्यावसाय पलायन हुने अवस्थामा देखिन्छ । चौरीपालक कृषकहरुले सामुदायिक वनकै कारण व्यावसाय संकटमा परेको भन्ने गुनासो आइरहेकोले आगामी दिनमा वन नियामावली संसोधन सहजीकरण गर्न सकिए कृषकलाई सहज हुने अर्का चौँरीपालक प्रविन राईले सुनाए । ‘सामुदायिक वनले लगाएको यो नियमलाई अलिक खुकुलो बनाए सहज हुने थियो, नियामावली संसोधन गर्दा उचित होला’ उनले भने ।
भोजपुरका तिम्मा, साम्पाङ, किमालुङ, खार्ताम्छा, दोभाने, तरुलबारी, कोशेढुङ र खोटाङका फेदी, बासपानी, चिलिमधाप लगायतका गाविसबाट दर्जनौ चौँरीगोठहरु गरी सयौँको संख्यामा चौँरीहरु मैयुङ क्षेत्रमा चराउन ल्याइन्छन् र हिँउदमा झारिन्छन् । चौरीको दुधवाट बनेको चिज, छुर्पी, घ्यू बिक्रि वितरणवाट कृषकले जिविका त चलाउनुको साथै यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि चौरीँगोठ आश्रयस्थल समेत बन्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार