
लण्डन । कोरोना भाईरसको संक्रमणले बिरामी भएर अस्पतालमा उपचारत एक गोर्खा सैनिक धर्मपत्नीको दुखद निधन भएको छ ।
कोरोनाभाईरसपछि ब्रेनस्टकले गोर्खा भुतपुर्व सैनिक तथा समाजसेवी रहरमान राईको ५६ बर्षीय धर्मपत्नी सावित्री राईको दुखद निधन भएको हो । कोरोनाभाईरसको संक्रमणपछि १४ दिन घरैमा सेल्फ आईसोलशन बस्दा पनि निको नभएपछि २७ जनवरीमा ईलिङ अस्पतालमा भर्ना भएको थियो । अस्पतालमा उपचारपछि स्थिती सामान्य बनिरहेको बेला एक्कासी उच्चरत्तचापले ब्रेनस्टक भयो । मृतकका पति गोर्खा भुतपुर्व सैनिक तथा समाजसेवी रहरमान राईले भने– ‘ब्रेनस्टोकले स्थिती असामान्य बनेपछि ३१ जनवरीमा नर्थवीक पार्क अस्तालमा थप उपचारका लागि लगिएको थियो । स्थिती सुधार हुन्छ भन्ने आशा थियो तर आशा दुखमा परिणत भयो । ’
अस्पतालमा उपचार गर्दा स्थिती सुधार नभएपछि राईको फेब्रअरी २ मा दिउसो २ बजे दुखद निधन भएको किरात राई यायोक्खा प्रारम्भिक कमिटिका अध्यक्ष रोमप्रसाद मुकारुङले बताए । टेम्केमैयुङ गाउँपालिका–५ खावा जन्मघर भएका राईको सुनसरीको प्रकाशपुरमा घर जग्गा रहेको छ । लामो समय हङकङमा समेत बसेका राई परिवारको काठमाडौस्थित बुढानिलकण्ठमा पनि घर छ । बिगत एक दशकदेखि लण्डन बस्दै आएका राई पति रहरमान राई र एक छोरासंगै बस्दै आएका थिए ।
समाजसेवामा रुचि राख्ने मृतक राई धेरै संघसंस्थाहरुमा आवद्ध भएर क्रियाशिल थिइन । किरात राई यायोक्खा बेलायतको आजीवन सदस्य रहेकी राई बेलायतमा साकेला सिलि नाच्न सिकाउने (सिलिमाङमा) को काम समेत गर्दै आउनुभएको थियो किरात राई यायोक्खा प्रारम्भिक कमिटि लण्डनका अध्यक्ष रोमप्रसाद राई भने ‘बेलायतको किरात राई समुदायले एक अभिभावक गुमाउनुप¥यो । परिवारसहित सिंगो समुदायलाई दुखी तुल्याएको छ ।’
मृतक सावित्री राईको निधनप्रति किरात राई यायोक्खा केन्द्रीय समिति बेलायतले पनि गहिरो दुख व्यक्त गरेको छ । किरात राई यायोक्खा केन्द्रीय समिति बेलायतका अध्यक्ष कल्पना राईले उहाँको असामयिक निधनप्रति सबैलाई स्तब्ध बनाएको भन्दै शोक सन्तप्त परिवारप्रति गहिरो समावेदन प्रकट गरेको छ । राईको निधनप्रति भोजपुर सेवा समाज, किरात राई यायोक्खा प्राकस लण्डन लगायत अन्य संघसंस्थाहरुले पनि समावेदना प्रकट गरेको छ ।







