
लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति अन्तरगत रहेको लन्डन क्षेत्रीय समितिले गोर्खा आन्दोलन र बार्तासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । लन्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा विहिवार गोर्खा आन्दोलन र त्रिपक्षीय बार्ता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गोर्खाहरुको प्रतिनिधि सम्मलित नेपाल र बेलायत सरकारवीच हुन लागेको बार्ताको तयारीबारे प्रमुख संयोजक राईले जानकारी दिएका थिए ।
संयोजक राईले त्रिपक्षीय बार्ताको तयारी भइरहेको बेला विभिन्न व्यक्ति र समुहले बार्ता भाँडन खोज्ने कोशिस गर्न खोजेको बताउँदै त्यस्तो तत्वहरुलाई परास्त बनाउने उद्धघोष समेत गरे । बार्ता हुने तयारी भइरहेको बेला कुनै न कुनै माध्यमबाट चलखेल भईरहेको बताउदै राईले अरुबेला कानमा तेल हालेर चुप बस्नेहरु अहिले सलबलाउन थालेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
राईले गोर्खाहरुको आन्दोलनको लामो समिक्षा गर्दै बार्ता तयारी चरणसम्म आइपुगेको घटनाक्रमहरुलाई सविस्तार व्याख्या समेत गरेको थिए ।
कार्यक्रममा गोर्खा संयुक्त संघर्ष समिति लन्डन क्षेत्रीय समितिका पदाधिकारी, सदस्य र गोर्खा भूतपूर्व सैनिकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका केन्द्रीय सदस्य एवं लन्डन क्षेत्रीय समितिका सल्लाकार ज्ञानबहादुर राईको समेत उपस्थिती रहेको थियो । कार्यक्रम क्षेत्रीय समितिको सभापति श्यामकुमार ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।








