बेलायतका किरात राईहरुले धुमधामका साथ साकेला उभौली मनाए (फोटोफिचर)

लन्डन । बेलायतमा बसोबास गर्ने किरात राईहरुले साकेला उभौली धमधामका साथ मनाएका छन । वकिङस्थित किरात हाउस ग्याम्बल्सलेनमा भेला भएर बेलायतभरीका किरात राईहरुले साकेला उभौली मनाएका हुन ।

 

वर्षमा दुई पटक बैशाखे पूर्णिमामा उभौली र मंसिर पुर्णिमामा उभौली मनाउने किरात राइलेहरुले यसपटक उभौली मनाएका छन । बाली लगाउने बेलामा अन्न फलोस फुलोस रोगव्याधी नलागोस भनी प्रकृतिलाई शक्ति पिठको रुपमा मान्दै किरात राईहरुले यो समयमा उभौली मनाउने प्रचलन रहेको छ । प्रकृतिसंग शक्ति प्रदान गर्नका लागि शनिवार बेलायतका किरात राईहरुल उभौली चाड धुमधामका साथ मनाएका हुन ।

 

साकेला उभौलीमा शुभकामना दिनका लागि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, लन्डन बरो अफ हन्स्लोका मेयर विष्णु गुरुङ, गैरआवसीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष प्रेम गाहा मगर, आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका अध्यक्ष दिवस राई र सचिव हेमन्त राईको समेत उपस्थिती रहेको थियो ।

 

साकेला उभौलीमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बहुभाषिक, बहुसाँस्कृतिक जातजाती नेपालीहरुको बिशेषता रहेको बताउदै साकेला उभौलीको सफलताको शुभकामना व्यक्त गरेका थिए । साकेला उभौलीमा लन्डन बरो अफ हन्स्लोका मेयर विष्णु गुरुङले किरात राईको महत्वपुर्ण चाड साकेला उभौली रहेको बताउदै सफलताका शुभकामना दिए । सोही अवसरमा किरात राई यायोक्खा नेपालका अध्यक्ष दिवस राई र आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले पनि साकेला उभौलीको शुभकामना व्यक्त गरेका थिए ।

साकेला उभौली विशेष कार्यक्रममा बोल्दै किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले उपस्थित हुने अतिथि लगायत सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

 

करिव ६ हजारको हाराहारीमा किरात राईहरु साकेला उभौली मनाउन उपस्थिती भएका थिए । साकेला उभौलीलाई सम्पन्न गर्नका लागि किरात राई यायोक्खा बेलायतले व्यापक तयारी गरेका थियो । साकेला भब्य र सभ्य बनाउनका लागि उपाध्यक्ष मेजर भुपजीत राईको संयोजकत्वमा साकेला व्यवस्थापन समिति समेत गठन गरेका थिए । साकेला व्यवस्थापन समितिले साकेलाको सजावट, साकेला नृत्य स्थानको व्यवस्थापन, स्टल लगायत अन्य अतिआवश्यक व्यवस्थापन गरेका थिए ।

 

किराती रीतिअनुसार भूमिको पुजा गरी उभौली चाड अर्थात भूमी पुजा गरी साकेला सिली नाच्र्दै मनाएका छन । उधौली पर्वको रुपमा रहेको किरातीहरुको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा बालीनाली राम्रो होस भनी सबैमा सुख शान्ति सुस्वास्थ्य दीघायूको कामना सहित प्रकृतिलाई शक्ति प्राप्त गर्नका लागि बैशाखे पुर्णिमादेखि १५ दिन सम्म सुम्निमा र पारुहाङको पुजा गर्दे आएका छन ।

 

किरात राईहरु मानव विकास क्रमसंगै सकेला सिली प्रचलनमा आएको विश्वास गरिन्छ । मानवलाई खेती गर्ने ठाउ दिने प्रकृति तथा खेती गर्न सिकाउने पूर्वजहरुका सम्झना र सम्मान स्वरुप भूमिपूजा गर्ने गरिन्छ । किरात समुदायहरुले उभौलीको दिन चुलामा पूजा गरेर आफ्नो चूल्होमा कुखुरा काटेर बली दिने र ढोल झ्याम्टाको तालमा चरा, दुम्सी जस्ता पशुपंक्षीको स्वभावको अनुकरण गर्दै नाच्ने गरेको छन । बेलायतका किरात राईहरुले भने ग्याम्बल्सलेनमा रहेको सामुहिक चुलामा पुजा गरेर साकेलाको विधिवत रुपमा शुरुवात गरेका थिए ।

 

किरातीहरु प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा बैशाख पूर्णिमा उभौली र अन्न वाली पाकिसकेपछि घरमा भित्राएपछि उधौली पर्व मंसिरे पूर्णिमा विशेष रुपले खुशियालीका साथ आपनो प्रमुख चाडका रुपमा मनाउने गर्दछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार