
लन्डन । बेलायत र नेपाल सरकारवीच गोर्खाहरुको समस्या समाधान गर्न हुन लागेको बार्ताको टर्म्स अफ रिफेन्स (टिओआर) निमार्णका लागि बसेको पहिलो बैठक विना निष्कर्ष टुंगिएपछि गोर्खा भूतपूर्व सैनिक संघ गेसोले दुख व्यक्त गरेको छ ।
बेलायती पक्षले बार्ताकै एजेण्डा नै मोडन खोजेर बैठक विना निष्कर्ष टुंगिएपछि गेसोले दुख व्यक्त गरेका हुन । गेसोका सभापति कृष्णकुमार राई एक विज्ञप्ती जारी गर्दै यसअघि प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको मर्म र भावनाविपरित बेलायत सरकारले एजेन्डा नै मोडेकाले टिओआर निमार्णका पहिलो बैठक निष्कर्षविहिन हुनु दुखद भएको बताए ।
प्राविधिक समितिले तयार पारेको समिष्टगत १३ बुँदे प्रतिवेदनको जगमा टेकेर बार्ता हुनुपर्ने माग गेसोले राखेको छ । यदी प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका आधारमा बार्ता नभएसम्म गेसोलाई मान्य नहुने बताएका छन ।
सोमबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकको एजेण्डमा कुुरा नमिलेपछि विनानिष्कर्ष टुंगिएको थियो । वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्ने जिम्मा पाएको मेजर जुद्धबहादुर गुरुङले वार्ताको एजेन्डामा बेलायत इमान्दार नदेखिएपछि बैठकमा टिओआरबारे छलफल अघि बढन नसकेको बताए ।
गोर्खाहरुले महत्वका साथ उठाएका समान पेन्सन र अधिकारका मुख्य मागलाई बेवास्ता गरी गोर्खा वेल्फेयर सम्बन्धी एजेन्डा लिएर आएपछि गोर्खाहरुले उक्त एजेन्डा अस्वीकार गरेका थिए । यसअघि जुन बिषयका लागि भनेर बार्ता गर्ने सहमति भएको थियो, त्यो एजेन्डालाई धकेलेर वार्ता हुन नसक्ने गोर्खाहरुको तर्फका वार्ताकार मेजर जुद्धबहादुर गुरुङले बताए ।
बैठकमा नेपाल सरकारका तर्फबाट लन्डन दुतावसकी उपानियोग प्रमुख रोशन खनाल र मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदार, गोर्खाहरुको तर्फबाट मेजर जुद्धबहादुर गुरुङ र बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालयका तीन अधिकारीहरु सहभागी थिए । आगमी ५ सेप्टेम्बरमा बेलायतको प्रधानमन्त्री निर्वाचित हुनु अघि बैठक बस्ने सहमति भएको मेजर जद्धबहादुर गुरुङले बताए ।







