
३६ बर्ष भन्दा बढि समय ब्रिटिस सैनिकमा काम गरेका मेजर योगेश कोयी राई भर्खरै किरात राई यायोक्खा बेलायतको आठौं महाधिवेशनबाट अध्यक्षमा आसिन छन । बेलायती सैनिकमा माथिल्लो अधिकृत तहमा पुग्ने कम नेपालीहरुमध्ये उनी एक हुन । बेलायती सैनिक सेवामा काम गरेका आवकासप्राप्त मेजर योगेश कोयी राई लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल छन । सैनिक जीवनमा नेतृत्वदायी भुमिका निर्वाह गरेका उनीसंग किरात राई यायोक्खा बेलायत हाक्ने जिम्मेवारी छ । स्थापनाकालदेखि नै किरात राई यायोक्खा बेलायतको अभियानमा कुनै न कुनै रुपमा जोडिएका राई यसअघि उपाध्यक्ष थिए । भखरै सम्पन्न महाधिवेशनले उनलाई किरात रार्ई यायोक्खाको नेतत्व सुम्पिएको छ । बेलायतमा सफल व्यवसायी रुपमा स्थापित राई अध्ययनशील छन । सैनिक सेवामा रहँदा नै उनले औपचारिक रुपमा स्नाकोत्तर तह (मास्टर डिग्री)सम्मको अध्ययन गरेका छन । भर्खरै महाधिवेशनबाट निर्वाचित अध्यक्ष योगेश कोयी राईसंग सिलिचुङ डटकमका लागि गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
तपाई किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको अध्यक्षमा निर्वाचित हुनुभएको छ । समग्र किरात राई यायोक्खा बेलायतलाई कसरी अगाडी बढाउनुहुन्छ ?
ं
किरात राई यायोक्खा बेलायतको नेतृत्वमा सम्हाल्दै गर्दा मलाई चुनौती र अवसर दुवै छ । किरात राई यायोक्खा बेलायतको सांगाठिक अवस्थाको सुधारसंगै मुख्य रुपमा बेलायतभरी रहेका किरात राईहरुलाई एकताको सुत्रमा ल्याउनुपर्ने अपरिहार्यता छ । यस्तो अवस्थामा किरात राई यायोक्खाको संस्थागत र नीतिगत सुधारलाई मुख्य प्राथमिकता दिनु जरुरी छ । बेलायतभरी हामीसंग १४ वटा प्रारम्भिक कार्यसमितिहरु छन । केही भाषिक संस्थाहरु छन । प्रारम्भिक समिति र भाषिक संस्थाहरु हाम्रो अभिन्न अंग हो । हाम्रो प्रारम्भिक समिति र भाषिक संस्थाहरुसंग नङ मासुको जस्तै सम्बन्ध हो । दुवै अंगहरुसंग हामी समन्वयत्मक ढंगले हामी अगाडी बढेर काम गर्नेछौं । बेलायतभरी किरात राई समुदायहरु फैलिएर बसेका छन । उहाँहरुलाई पनि हाम्रो एउटै छाताभित्र ल्याउने कोशिस हुनेछ । त्यसका लागि भावनात्मक र नीतिगत रुपमा हामी काम गर्ने छौं । यी तमाम चुनौतीपूर्ण कामहरुलाई पुरा गर्न मैले अवसरको रुपमा लिएको छु । त्यसका लागि मैले आफ्नो रणनीतिक अवधारणाहरु पनि सार्वजानिक गरिसकेको छु । त्यसैको आधारमा मेरो कार्यकालमा म कामहरु गर्दै जानेछु ।

सबैभन्दा किरात राई यायोक्खा बेलायतलाई एकजुट बनाएर लैजाने कुरा चुनौतीपुर्ण छ नी ? संस्थाभित्र केही समयदेखि विवादहरु छन । यस्तो अवस्थामा समग्र किरात राईहरुलाई कसरी एकजुट बनाउनुहुन्छ ?
तीनबर्षदेखि हामी किरात राई यायोक्खा बेलायतमा संस्थागतको सुधारको अभियानमा छौं । संस्थालाई व्यवस्थित गर्ने अभियानहरु सञ्चालन भईरह्दाँ केही व्यक्तिहरुले समुह निमार्ण गरेर असान्र्दभिक बिषयबस्तु निकालेर विवाद सिर्जना गर्न खोजे । संस्थालाई व्यवस्थित गर्न विधि, विधान निमार्ण गरेका छौं । विधि विधानभन्दा बाहिर गएर संस्थाका केही व्यक्तिहरु विवाद सिर्जना गर्न खोजे । त्यत्तिले मात्रै नपुगेर सातौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष कल्पना राई हटायौं भनेर संस्थागत आचरणभन्दा बाहिर गतिविधिहरु गरे । यस्तो क्रियाकलापले बेलायतवासी सम्पुर्ण किरात राई समुदायहरुमाथि आघात पुग्दै आएको छ । इतिहासले निर्मम समिक्षा गर्ने नै छ । समयले सही गलत छुट्टयाउने नै छ । भावी दिनहरुमा सुधार गर्दै लाने हाम्रो प्रयास हुनेछ । हामी संस्थालाई जीवन्त बनाउने अभियानमा छौं । व्यक्तिको हिसावमा नेतृत्वमा जो कोही आउन सक्छ । तर विधि विधान र स्थापित मान्यता अनुसार संस्था अगाडी बढछ । किरात राई यायोक्खा बेलायत नेपालको एउटा अभिन्न अंग हो । किरात राई यायोक्खा नेपालले पनि बेलायतमा भएको सम्पुर्ण विवादहरु छिनोफानो गरिसकेको छ ।
केही व्यक्तिले समुह निमार्ण गरेर गरेको अवैधानिक गतिविधिहरुले संस्थालाई त्यत्ति फरक पार्दैन तर जो स्यमं व्यक्तिलाई नै घाटा भइरहेको छ । आम बेलायतवासी नेपाली समुदायका दाजुभाई तथा दिदीवहिनीहरुले पनि बुझिसकेको छ । सबै आम किरात दाजुभाई तथा दिदीवहिनीहरुमा भ्रममा नपर्न म अपिल गर्छु । आज कसैले स्वार्थ पुरा गर्न विवाद निकाल्ने र त्यसैलाई सुन्दै जान थाल्यौ भने भोलीका दिनमा गलत नजिर स्थापित हुन्छ । त्यसतर्फ हामी सजग भएर किरात राई यायोक्खाको अभियानमा हामी निरन्तर अगाडी बढने नै छौं । हामी समाजलाई केही योगदान दिन भनेर आएका हौं । लिनका लागि पक्कै होइन । यस्ता मूल्य मान्यतामा अडिग रहेर किरात राई यायोक्खा बेलायतलाई मजबुत बनाउदै लानेछौं ।
बेलायतका किरात राईहरुलाई एकताको सुत्रमा ल्याउन के गर्नुपर्ला जस्तो लाग्छ ? त्यसका लागि तपाईसंग के कस्ता योजनाहरु रहेको छ ?
बेलायतमा किरात राईहरुको संख्या बढदै गइरहेको अवस्था छ । संख्या बढनु हामी सबैमा सुखद पक्ष हो । किरात राईहरुभित्र विविध भाषीहरु छौं । विविध भाषी भएकै कारणले किरात राईहरुको विशेषता पनि विशेष छ । हामीहरुमा रहेको विविध भार्षीहरुको जगेर्ना गर्नु आवश्यक छ । किनभने भाषा, संस्कार र संस्कृति हाम्रो जीवन हो । हाम्रो अस्तित्व र पहिचान हो । अस्तित्व र पहिचान बचाउनका लागि दीर्घकालीन योजनाहरु बनाएर हामी पक्कै अगाडी बढने छौं । हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिहरुलाई दस्तावेजीकरण गर्ने, यसको आवश्यकता, महत्व र अपरिहार्यताको बारे जनचेतना अभिबृद्धि गर्ने कामहरुमा हाम्रो अग्रसरता रहनेछ । नयाँ पुस्तामा हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिहरुमा कम संलग्नता भईरहेकोले युवा वर्गमा जागरण ल्याउनका लागि अभियानहरु संञ्चालन गर्ने छौं । हामीसंग सम्बन्धित भाषा, धर्म र संस्कारहरु रही राखेमात्रै हाम्रो अस्तित्व रहीरहन्छ । त्यसतर्फ हाम्रो ध्यान जानेछ । हामीले गर्ने सम्पुर्ण अभियानहरुमा बेलायतमा बस्ने किरात राईहरुलाई संलग्न्ता, समावेश र सहभागिता गरेर हाम्रो अस्तित्वलाई जीवन्त राख्ने छौं ।

दिनानदिन बेलायतमा किरात राईहरुको संख्या बढदै गइरहेको छ । किरात राईहरुको अवस्था कस्तो पाउनु भएको छ ?
बेलायतमा रहेका किरात राईहरुको आर्थिक, सामाजिक र शैक्षिक हिसावमा अवस्था तुलनात्मक रुपमा राम्रै रहेको छ । किनभने अधिकांश रोजगारमुलक काममा संलग्न नै छन । अर्को धेरै किरात राईहरु व्यवसायिक रुपमा व्यापार व्यवसायमा पनि राम्रै प्रगति गएको अवस्था छ । नयाँ आउने पिँढीका नानीहरुले राम्रो शिक्षा लिइरहेको छ । यसरी हाम्रो किरात राईहरु हर क्षेत्रमा प्रगति गइरहेको छ । विश्वव्यापी रुपमा मानव समुदायभित्रका जाती र धर्मलम्बीहरुले आफ्नो विशेषताहरु खोजी गर्ने गरिरहेको छ । त्यसरी नै आफुलाई उभाइरहेको छ । बेलायतमा हाम्रो इतिहास लामो छैन । तर पनि हाम्रो संख्या र सहभागिता बढदै गएको छ । छोटो समयमा नै हामी हाम्रो पहिचान र अस्तित्वलाई चिनाउन र स्थापित गर्न लागि पर्नेछौं ।

बेलायतमा किरात राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिहरुलाई जीवन्त राख्न आगमी दिनमा तपाईबाट के कस्ता पहलहरु हुनेछ ?
हाम्रो भाषा, धर्म संस्कार र संस्कृतिहरुलाई जीवन्त राख्नका लागि आवश्यकीय कुराहरुलाई दस्तावेजीकरण गर्ने, तालिम गोष्ठी सञ्चालन गर्ने र साथै नयाँ आउने पिँढीहरुलाई हाम्रो अभियानमा सलग्न गराई पुस्ताहस्तान्तरण गर्ने जस्ता कामहरु हामी गर्नेर्छौ । त्यसका लागि हामी विज्ञ अनुभवी व्यक्तिहरुसंग छलफल गरेर काम गर्ने छौं ।
नयाँ आउने पुस्ताहरुले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिहरु विर्सदै गएको छ । नयाँ पुस्ताहरुलाई आफ्नो भाषा, धर्म संस्कार र संस्कृतिहरुसंग जोडनका लागि के गर्नुपर्ला ?
नयाँ आउने पिँढीहरुलाई आफ्नो, भाषा, धर्म, संस्कार सँस्कृतिहरुसंग जोडने मुख्य माध्यम भनेको घरका अभिभावकहरु हुन । घरमा भाषा, धर्म, संस्कार र संस्कृतिहरुलाई अनुशरण गरेर सिकाउने र उत्प्रेरणा जगाउन सक्नुपर्छ । मुख्य रुपमा सबै अभिभावकहरुले नयाँ आउने पिँढीहरुलाई सबै कुरा सिकाउदै जानुपर्छ । सबै कुरा सिकाउन सकियो भने अभिभावक र हामी सबैको सफलता हो । त्यसका लागि अभिभावकहरुमा चेतना आउनुपर्छ । यो कुरा मेरो बच्चाहरुलाई सिकाउनु भन्ने सोचको विकास सबैमा हुनपर्छ । त्यसका साथै हामीले पनि सबैलाई आर्कषित गर्ने हाम्रो संस्कृतिक कामहरु गरेर आकर्षण गर्न सक्नुपर्छ । अर्को कुरा हामीले पनि भन्ने सक्नुपर्यो अथवा विश्वस्त बनाउन आधारहरु प्रस्तुत गर्न सक्नुपर्यो ।
नयाँ पुस्ताहरुमा भाषा, धर्म, संस्कार र संस्कृतिप्रति किन वितृष्णा फैलिएको होला ?
वितृष्णा नै नभएर हामीले हाम्रो बालबालिकाहरुलाई भन्ने सकिनौं होला । हामीले उनीहरुलाई यो कुराहरु सिक्नुपर्छ कहिल्यै भन्ने गरिएन । किनभने हामीले अन्य शैक्षिक क्रियाकलापमा केन्द्रीत गर्यौं । हामी आफैले पनि बुझेनौं । हाम्रो बालबालिकाहरुलाई यो कुरा सिकाउनुपर्छ भन्ने कतिपयलाई लागेपनि हरेक कुरा सम्भव भएन त्यसै कारणले पनि नयाँ आउने पिँढीहरुमा हाम्रो भाषा, धर्म संस्कार संस्कृति विरानो बन्दै गएको जस्तो छ । तर यस्तो हुनुहुदैन । यस्तो गर्न कसैले पनि दिनुहुदैन । किनभने यो हाम्रो अस्तित्व हो ।
अन्त्यमा किरात राई यायोक्खा बेलायतको संस्थागत सुधारमा तपाईबाट के कस्ता कार्यहरु हुनेछ ?
विगतमा हाम्रो किरात राई यायोक्खा नीतिगत रुपमा व्यवस्थित हुन सकेको थिएन । परम्परागत शैलीबाट सञ्चालन हुदै आएको थियो । हिजोको चलनचल्ती जस्तै चलिएको थियो । सातौं महाधिवेशनदेखि ८ औं महाधिवेशनसम्म आइपुग्दा हामी संस्थागत प्रक्रियामा धेरै सुधार गरेका छौ । अझ सुधार गर्नुपर्ने देखिएको छ । त्यसका निमित्त मेरो अथक प्रयास रहने छ । विधि विधानले निर्देशिन गरेका कुराहरुलाई कार्यान्यन गर्ने र हरेक गतिविधिरुको दस्तावेजीकरण गर्ने छौं । प्रारम्भिक कार्यसमितिहरुको क्षमता अभिबृद्धि र विस्तार समेत गर्नेछौं ।








