
गैरआवासीय नेपाली संघ बेलायतको आगमी नेतृत्वका लागि ३१ जुलाई २०२१ मा निर्वाचन सम्पन्न हुदैछ । निर्वाचनका लागि सदस्यता वितरण सम्पन्न भईसकेको र बाँकी चुनावी तयारीहरु तीव्र रुपमा भइरहेको छ । नेतृत्व हत्याउनका लागि उम्मेदवारहरु आ–आफ्नो एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन । अन्य देशहरुको तुलनामा बेलायतमा नेपालीहरु संख्या धेरै रहेकाले पनि गैरआवसीय नेपाली संघ बेलायतको निर्वाचनले सबैको ध्यान तानेको छ । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको निर्वाचनमा अध्यक्षका लागि बर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले उम्मेदवारीको घोषणा गरेकी छिन । लामो समयदेखि गैरआवसीय नेपाली संघको अभियानमा निरन्तर संलग्न रोजिना विभिन्न सामाजिक अभियानहरुमा क्रियाशिल रहदै आएकी छिन । नेपालको प्राकृतिक तथा मानवीय विपत्तीहरुमा राहात तथा सहयोगमा उनको अग्रसरता महत्वपुर्ण छ । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको आगमी निर्वाचनमा अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईसंग संस्थागत हित, विकास र उनको उम्मेदवारीसंग सम्बन्धित बिषयमा रहेर सिलिचुङ डटकमका लागि किरण राईले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
१.गैरआवसीय नेपाली संघ बेलायतको आगमी सम्पन्न हुने निर्वाचनमा तपाईले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ? तपाईको उम्मेदवारी के का लागि हो ?
गैरआवासीय नेपाली संघको अभियानमा लामो समयदेखि संलग्न छु । बेलायतस्थित नेपाली समुदायहरुसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा साक्षात्कार गर्दै आएकी छु । समुदायका अपेक्षा र आकांक्षाहरुलाई चिनेकी छु । गैरआवासीय नेपालीहरुको प्रमुख मुद्दा, भूतपुर्व गोर्खा, विद्यार्थी युवा र परोपकार लगायतका मुद्दामा संघको नेतृत्वमा रहेर काम गर्न चाहन्छु त्यसैले यो अभियानको नेतृत्वको आकांक्षा राखेकी हुँ ।
२. उम्मेदवारीको घोषणासँगै निर्वाचन जित्नका लागि के कस्ता तयारीहरु गरिरहनुभएको छ ?
निर्वाचन जित्ने आधार प्रभावशाली एजेन्डा हो । मतदाताको मन जित्नु पर्छ भन्ने लागेको छ, त्यसैले केही दिनमा आफ्ना प्रतिबद्धता सहित मतदाता समक्ष आउने छु । अहिले बेलायतमा रहेका नेपालीहरुलाई संघको छाताभित्र ल्याउन धमाधम सदस्यता विस्तारको कार्य भइरहेको छ ।

‘‘बेलायतस्थित नेपाली समुदायहरुसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा साक्षात्कार गर्दै आएकी छु । समुदायका अपेक्षा र आकांक्षाहरुलाई चिनेकी छु ।’’
३. यदि अध्यक्ष निर्वाचित हुनु भयो भने गैरआवसीय नेपाल संघ बेलायतको हितको निम्ति के कस्तो काम गर्नुहुन्छ ?
गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको नेतृत्वमा पुगेपछि मैले मुख्य रुपमा बेलायतस्थित नेपाली समुदायतको हक र हितको लागि काम गर्ने हो । त्यसको अलवा गैरआवासीय नेपाली संघ आइसीसीले दिएको मार्ग नै मुख्य कामहरु हुने छ । मैले माथि भनेजस्तै बेलायतमा रहेका भूपुगोर्खा, नयाँ पुस्ता, विद्यार्थी लगायत संस्थालाई प्रविधीमैत्री बनाउन तथा आर्थिक पारदर्शिताको मुद्दा उठाएकी छु तीनै मुद्दामा रहेर काम गर्नेछु ।
४) यसअघिको उम्मेदवारहरुले धेरै महत्वकांक्षी चुनावको बेला चुनावी एजेण्डा ल्याउने र पछि गएर विर्सने गरेको छ । तपाईको पनि त्यसैको निरन्तरता हो या होइन ? होइन भन्ने त्यसको आधारहरु के के हुन ?
पहिला जस्तो अहिले छैन् । जे बोल्यो त्यो पुरा गर्नुपर्छ । समुदायले निकै नजिकबाट नियालेर बसेको हुन्छ । सामाजिक संजालहरु निकै शक्तिशाली छन् त्यसैले म पुरा नगर्ने बांचा गर्दिन् गरेका बांचा पुरा गर्ने प्रयास गर्छु ।
६. तपाईले पनि धेरै महत्वकांक्षी चुनावी एजेन्डाहरु बनाउनुभएको छ । चुनावी एजेन्डाहरुलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?
प्राय: चुनावी एजेण्डाहरु महत्वकांक्षी नै हुन्छन् । त्यसलाई कार्यन्वयन गर्न निकै ठूला चुनौती हुन्छन् । त्यसैले ती एजेण्डको नेतृत्व मैले लिए पनि त्यसमा सिंगो नेपाली समुदायको सहयोग चाहिन्छ त्यो मैले प्राप्त गर्ने विश्वास लिएकी छु । बोलेका एजेण्डा पुरा हुन्छन् ।
७. गैरआवसीय नेपाली संघ बेलायतको हाल तपाई उपाध्यक्ष हुनुहुन्छ । शुरुवातको चरणदेखि संस्था विवादको घेरामा रहँदै आयो । जसफलस्वप आर्थिक अनियमितताको कुराहरु बाहिर आयो । यी विवादहरु आउनका कारणहरु के होला ? यसको बास्तविकता बताईदिनुहोस न ?
विदेशमा नेपाली संघसंस्थाभित्र सामान्य विवाद हुनु अहिलेको अवस्थामा सामान्य भैसक्यो । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको विगत हेर्दा यो भन्दा ठूला समस्या आएर पनि समाधान भैसकेका छन् । यो ठूलो समस्या होइन छलफलको विषय हो । विगतको कार्यसमितिले गरेका खर्च विवरणलाई समुदायले प्रश्न उठाएको छ त्यसलाई हामीले बुझाउने प्रयास गरेका छौँ । सो सामाजिक संस्थामा कुनै पनि प्रकार आर्थिक हिनामिना हुन दिन्नौ र गरेको भए पनि कारवाही हुन्छ ।
८. गैरआवसीय नेपाली संघ (एनआरएनए) लाई नेपालीहरुको साझा निर्विकल्प संस्थाको रुपमा स्थापित गर्न तपाईसंग के कस्ता योजनाहरु छन ?
गैरआवासीय नेपाली संघ नेपाल सरकारमा दर्ता भएको एक मात्र सामाजिक संस्था हो । विदेशमा रहेका नेपालीहरुको साझा चौतारीको रुपमा स्थापित भैसकेको छ । यो निर्विल्कल्प संस्थाको रुपमा अगाडी आइसकेको अवस्था छ । त्यसैले मेरो व्यक्तिगत योजना भन्दा संघको केन्द्रले ल्याउने योजनाहरु बढी महत्वपूर्ण हुन्छन् ।
९. चुनावको ताका धेरै उम्मेदवारहरुले गोर्खा भुतपुर्व सैनिकहरुको समस्या समधान गर्ने जस्ता महत्वकांक्षी चुनावी एजेन्डाहरु बनाउदै आएको छ । तपाईले पनि यसपटक चुनावी एजेण्डा बनाउनु भएको छ , ती एजेण्डा चुनावपछि स्वत हराएर जान्छ ? तपाईले पनि एजेन्डाकै रुपमा मात्रै अघि सार्नुभएको हो की ?
बेलायत सरकारले हाम्रा दाजुभाई माथि दशकौंदेखि गरेको असमान नीतिलाई अब सहेर बस्न सकिन्न् । संस्थागत वा व्यक्तिगत जुनसुकै हिसाबले पनि प्रतिकार गर्नु पर्छ । हामी भूपु गोर्खामाथि भएको अन्याय सहेर बस्न सक्दैनौं । यो समस्या बेलायत नेपालबीचको मुद्दा हो भन्ने कुरा दुबै पक्षले स्वीकार गरिसकेका छन् । त्यसैले नेपाल सरकार, भूपुगोर्खा र बेलायत सरकारबीच पुलको रुपमा रहेर गैरआवासीय नेपाली संघ बेलायतले यो मुद्दाका सहकार्य गर्न सक्छ त्यसैले यो चुनावी मुद्दाको रुपमा मात्र होइन् साँच्चिकै समस्याको समाधान गर्न सहयोग पुग्छ त्यसमा हामी सबैको एकताको खाँचो छ । यो मुद्दामा सबै पक्षको एकमत हुनु पर्छ । अनि मात्र भूपुगोर्खाहरुले न्याय पाउँछन् ।
‘‘गैरआवासीय नेपालीहरुको प्रमुख मुद्दा, भूतपुर्व गोर्खा, विद्यार्थी युवा र परोपकार लगायतका मुद्दामा संघको नेतृत्वमा रहेर काम गर्न चाहन्छु त्यसैले यो अभियानको नेतृत्वको आकांक्षा राखेकी हुँ ।’’
१० त्यसो भए गोर्खाहरुको समस्या समाधान गर्न तपाईको प्रयासहरु के के रहने छ ?
हामी सम्बन्धित सरोकारवालहरुसँग छलफल गर्छौँ । नेपाल सरकार समक्ष भूपुगोर्खा आन्दोलनको बारेमा आवाज बुलन्द पाछौं। र संस्थागत रुपमै यो आन्दोलनलाई सफलतामा पुर्याउन सहयोग गछौँ ।
११. तपाई यसपटकको निर्वाचनमा अध्यक्ष निर्वाचित हुनु भयो गैरआवसीय संघका निम्ति के के काम गर्नुहुनेछ ? पहिलो प्राथमिकता के के रहने छ ?
आफु अध्यक्ष भइसके पछि के के काम गर्ने भन्ने बिषयमा म विस्तृत विवरण सहित छिट्टै पत्रकार सम्मेलन गर्नेछु । आगामी दिनमा गैरआवासीय नेपाली संघले अघि सारेका मुद्दा र बेलायतस्थित नेपाली समुदायका मुद्दामा केन्द्रित रहेर काम गर्नेछु । नेपाली नागरिकताको निरन्तरता, नेपालमा साना लगानी, संस्थागत संरचनाको विकास, आर्थिक पारदर्शिता, र प्रविधीमैत्री संघको निमार्णको दिशामा अघि बढ्नेछु ।
१२. अन्त्यमा तपाईको बाँकी भनाईहरु केही छ भने राख्नुहोस् न ?
गैरआवासीय नेपाली संघ बेलायतको जुलाई अन्तिम साता हुने निर्वाचनमा सहभागी हुन सबै बेलायतवासीय नेपाली समुदायहरुलाई अपिल गर्न चाहन्छु । तपाईहरुको एउटा छोरी बुहारी, दिदीबहिनीको रुपमा मलाई सम्झेर संघको नेतृत्वमा पुर्याउनु हुन अपिल गर्दछु । बेलायतस्थित नेपाली समुदायको एक पारिवारिक सदस्य भएर समाजसेवा गर्ने मौका दिनुहुनु अनुरोध गर्दछु ।







