भोजपुरमा पहिलोपटक तीव्र गतीको एफटिटिएच ईन्टरनेट सेवा विस्तार

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । भोजपुरमा पहिलोपटक अप्टिकल फाईबरमार्फत तीव्र गतीको फाईबर टु द होम (एफटिटिएच) अर्थात घरघरमा तीव्र गतीको ईन्टरनेट सेवा विस्तार सुरु गरिएको छ । कृति नेट धरानको एफटिटिएच सेवा अन्र्तगत जिल्लाका विभिन्न स्थानमा उक्त तीव्र गतीको ईन्टरनेट सेवा विस्तार गरिएको हो ।
सदरमुकामस्थित एफटिटिएच सेवा भोजपुर केन्द्रबाट सदरमुकाम लगायत काफ्ले, बोखिम, दाँवा, तिवारीभञ्ज्याङ, हिलेभञ्ज्याङ, श्यामशिला लगायत १० बढि स्थानमा सेवा विस्तार गरिएको छ । सुरुवाती अवस्थामा रहेकाले जिल्लाका विभिन्न दुर्गम भेगमा पनि उक्त सेवा विस्तार गरिने क्रम रहेको अधिकृत विक्रेता एक्शन मल्टीप्रपोज भोजपुर प्रमुख विशाल कार्कीले बताए ।
सेवाग्राहीले उक्त तीव्र गतीको ईन्टरनेट सेवा सहज रुपमा उपलब्ध गराउन विभिन्न प्याकेज राखिएको कम्पनीले जनाएको छ । प्रमुख कार्कीका अनुसार दुईसय ५० बढि सेवाग्राहीले उक्त सेवा जडान गरिसकेका छन् । भने, ‘हामी जिल्लाका सबै भेगका नागरिकले सुलभ छिटो ईन्टरनेट सेवा दिने वातावरण मिलाउने तयारीमा जुटेका छौँ’ एफटिटिएच प्रविधीमार्फत परम्परागत प्रविधीको विकल्पमा घरघरमा उक्त अप्टिकल फाईबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाईस, उच्च गतीको ईन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकाले प्रभावकारी र उपयोगी रहेको उनले बताए ।
कम्पनीले एफटीटीएच सेवा अन्तर्गत व्यक्तिगत र कर्पोरेट प्रयोगकर्ताका साथै कम्बो प्याकेज समेत उपलब्ध गराईरहेको छ । यसका साथै ग्राहकलाई कृति केबुल समेत वितरण गरिएको छ । जुन केबुलमार्फत २ सय ५० भन्दा बढि टेलिभिजन च्यानल हेर्न सकिने व्यवस्था छ । ६० भन्दा बढि एचडी च्यानल समावेश गरिएका छन् । कृति नेट धरानले प्रदेश १ का भोजपुर, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ्ग लगायतका जिल्लामा सेवा विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार