
भोजपुर । जिल्ला अति दुर्गम भेग साल्पासिलिछो गाउँपालिकामा ग्रामिण भेगका सोझा गाउँले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै पहिलोपटक बजार अनुगमन गरिएको छ । प्रशासन र साल्पासिलिछो गाउँपालिकाको सक्रियतामा बजार अनुगमन गर्ने क्रममा गाउँपालिकाको वडा नं १ र २ कुलुङका केहि स्थानिय बजारका थोक किराना पसलहरुमा गरेको अनुगमनमा ३७ हजार बराबरको म्याद गुज्रिएका सामानहरु नष्ट गरेको हो ।
दुर्गम भेगका गाउँले उपभोक्ताहरु सामान लिँदा केहि नहेरी लाने गरेकाले त्यही म्याद गुज्रिएका सामानले उनीहरुको स्वास्थ्य समस्या निम्त्याउने गरेको छ ।
अनुगमनका क्रममा तेल, मसला, खुर्सानी, चिया, बिस्कुट, पेय पर्दाथ आदि उपभोगिय सामानहरु म्याद सकिएको भेटिएपछि ती सबै सामान नष्ट गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विजय राईले बताए । उनले भने, ‘हामीले मुख्य बजारमा भन्दा पनि दुर्गम भेगका थोककिराना पसललाई मुख्य केन्द्र बनाएका छौँ । किनकी दुर्गम भेगका गाउँले उपभोक्ताहरु सोझा हुन्छन्, सामान लिँदा केहि नहेरी लाने गरेकाले त्यही म्याद गुज्रिएका सामानले स्वास्थ्य समस्या निम्त्याउने गरेको छ ।’
नष्ट गरिएकामध्ये स्थानीय साबित्रा स्टोरबाट ९ हजार, विजय स्टोरबाट ५ हजार, कविराज विष्टको पसलबाट ४ हजार नौ सय ९०, पुजा स्टोरबाट ४ हजार सात सय २० रुपैँया बराबरको म्याद गुज्रिएका सामानहरु नष्ट गरिएका थिए । यसरी गाउँमै ठुलो मात्रामा अखाद्य सामान भेटिएपछि खाटम्माका प्रशान राईले यो अनुगमन कार्यलाई निरन्तरता दिईनुपर्ने बताए । उनले यसरी आफुहरु पसलबाट सामान लैँजादा नहेरी लैजाने बानीले बेलाबेला स्वास्थ्य समस्याले स्वास्थ्य चौकी, अस्पताल जानुपरेको सुनाए ।
भोजपुर सदरमुकामदेखी ३ दिन पैदल सबैभन्दा सुदुर उत्तरी क्षेत्रको बजार अनुगमन यो पहिलो हो । ग्रामिण उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै विगत केहि समयदेखि बजार अनुगमनलाई तिव्रता दिईएको छ । बजार अनुगमन जुनसुकै समयमा जुनसुकै स्थानमा पनि हुन सक्ने प्रजिख हिरादेवी पौडेलले बताईन् ।