
भोजपुर । करिब अढाई महिनापछि खुलेको निषेधाज्ञाले चहलपहल बढेको छ । भोजपुर सदरमुकाम लगायतका मुख्य बजारहरु सदाझैँ व्यस्त बनेका छन् । बैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड बढेको छ । बजारक्षेत्र र सडकमा बाक्लो आउजाउ छ । सवारीसाधनहरुको ताँती लागेको छ । तर कोभिड १९ को संक्रमणदर भने रोकिएको छैन । बजार आसपासमा घरलौरी नै सामान्य ज्वरोले थलिएका छन् । स्थानीय प्रशासनले जनजीवन सहज बनाउन न्यूनत्तम स्वास्थ्य मापदण्डको निर्देशन दिएपनि नागरिकमा कुनै असर देखिँदैन । जसले संक्रमणको जोखिम झनै बढेको छ ।
दिनप्रतिदिन कोभिड १९ का विरामीको संख्यामा बृद्धि आएको छ । प्रतिदिन २५ जनाको दरले संक्रमित थपिएपनि वैकल्पिक रोकथामको कुनै तयारी छैन । व्यापारीहरु विहानैदेखि दोकान खोलेर ग्राहकको प्रतिक्षामा हुन्छन् । दुरदराजका ग्रामीण सर्वसाधरणहरु पनि काम र किनमेलका लागि दिनहुँ धाउने गरेका छन् । कुनैबेला पनि पुनः निषेधाज्ञा हुने डरले किनमेल गर्न धाएको पसलका सामान लिएर फिर्दै गरेका अरुण गाउँपालिका २, चम्पेका अर्जुन राईले सुनाए । ‘अब कुन दिन फेरि बन्द हुने हो पत्तो छैन, अहिले नै दशैँका लागि सामानहरु जोहो गर्न सदरमुकाम आएको हुँ’ उनले भने ।
निषेधाज्ञा हट्यो भन्ने मानसिकताले खुला रुपमा चहलपहल बढदै गएपछि संक्रमितको संख्या बढेको छ । दैनिकजसो सम्पर्कमा आउने व्यक्तिमा कोरोना एन्टिजेन पोजिटिभ देखिएकाले संक्रमितको संख्या यकिन गर्न नसकिने स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए । उनी थप्छन्, ‘परिक्षणको दायरा बढाउने हो भने संख्या अझै बढन सक्छ, असंख्य रुपमा त चेकजाँचका लागि आउँदैनन्’
संख्यात्मक हिसाबले सबैभन्दा बढि भोजपुर नगरपालिकामा संक्रमित छन् । उक्त नगरपालिकामा ४ सय ३ जनालाई संक्रमण देखिएको छ । यस्तै हतुवागढी गाउँपालिका १ सय ९२ जना, साल्पासिलिंछो गाउँपालिकामा १ सय ७९ जना, रामप्रसाद राई गाउँपालिकामा १ सय ६२ जना, अरुण गाउँपालिका १ सय ६१ जना, टेम्केमैयुङ गाउँपालिकामा १ सय ४९ जना, षडानन्द नगरपालिकामा १ सय २२ जना, आमचोक गाउँपालिका ६१ र पौवादुङमा गाउँपालिकामा ३३ जना संक्रमित भेटिएको छ ।
तथ्याङ्क अनुसार भोजपुरमा कोरोना संक्रमणबाट ८ जनाको उपचारका क्रममा ज्यान गएको छ । स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा पछिल्लो समयमा उल्लंघन हुनथालेपछि गत साउन १ गतेबाट शैक्षिक संस्था र भिडभाड हुने कार्यक्रमबाहेक सबै क्षेत्र खुला गरिएको थियो । निषेधाज्ञा एकैपटक हटाईएकाले जोखिम बढेको भोजपुर नगरपालिका १०, भैंसीपंखाका स्थानीय समिर राई सुनाउँछन् । ‘केहीलाई निषेधाज्ञामा हिडन नपाउँदा दुःख लागेको थियो, तर अब त जोखिम झन बढेको छ,’
फितलो अनुगमनले महंगीको मार
नयाँ आर्थिक वर्ष लागेसंगै दैनिक उपभोगीय बस्तुको मूल्य बढेको छ । मूल्य सुचीविनै व्यापारीहरु मंहगो मूल्यदरमा किनबेच गर्दा उपभोक्ता मारमा परेका छन् । तर पनि प्रशासन र नियमनकारी सरोकारवाला निकायको ध्यान पुगेको छैन । अनुगमनमा चासो नदेखाउँदा सर्वसाधरण उपभोक्ता झनै मारमा परेको स्थानीय अगुवा नविन प्रधानको ठम्याई छ । भने, ‘महामारीको मौका छोपेर व्यापारीहरुले मनपरी मूल्य बढाएका छन्, नियमनमा कसैको कुनै चासो छैन, उपभोक्तालाई यो महामारीमा झनै मंहगीको मारले थिचेको छ’
मोबाईल तथा ईलेक्ट्रोनिक्स सामान कारोबार बढ्यो
साउन पहिलो हप्ताबाट खुकुलो बनेको निषेधाज्ञाले सबैभन्दा बढि मोबाईलजन्य सामानमा कारोबार बढेको छ । विशेषगरि विद्यालय र कलेजहरुमा अनलाइन कक्षा चलिरहेकाले पनि मोबाईल किन्ने ग्राहकको संख्या बढेको व्यावसायीहरु बताउँछन् । विद्यालयस्तरका बालबालिकालाई पढाउन मोबाइल खरिद गर्ने अभिभावकहरुको आगमनमा बृद्धि आएको मोबाईल व्यावसायी दिपेश ताम्राकारले बताए । उनका अनुसार साउन दोश्रो हप्तासम्म सदाको तुलनामा ५ गुणाले कारोबार बढेको छ ।
व्यापारीहरु हर्षित
निषेधाज्ञा खुकुलो सबैभन्दा बढि व्यावसायीहरु उत्साहित देखिन्छन् । गतवर्ष झैँ योवर्ष पनि करिब दुई महिना पसल बन्द गर्नुपरेकाले मुहारबाट खुसी भागेको स्थानीय होटल व्यावसायी विष्णु कुमारीले सुनाईन् । ‘दैनिक १५ हजार रुपैयाँको व्यापार हुन्थ्यो, निषेधाज्ञाले त्यो पनि बन्द गरिदियो’ उनी भन्छिन्, ‘अहिले महामारीका विच पनि पसल खुलेको छ, तर के गर्नु पहिले जस्तो ग्राहक आउँदैनन्’ मँहगो भाडामा सटर लिएर व्यावसाय गर्ने व्यावसायीलाई निषेधाज्ञाले चर्को सास्ती दिएको उनले सुनाईन् । पहिलो चरणको लकडाउन र दोश्रो चरणको निषेधाज्ञाले व्यापार गर्न नपाएपनि मासिक सटरको भाडा ३० हजार बुझाउनुपर्ने बाध्यता रहेको उनले सुनाईन् ।







