कुटनीतिक तहबाट गोर्खाहरुको समस्या समाधान हुनुपर्ने

लण्डन । लामो देखि समानताको आन्दोलन गर्दै आईरहेको बृटिस गोर्खा भुतपुर्व सैनिकहरूले आफुहरूको समस्याको समाधान कुटनीतिक तहबाट नै हुनुपर्ने कुरामा जोड दिएका छन । गोर्खा भुतपुर्व सैनिकहरूको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ गेसोले आफुहरूको समस्या समाधानको एकमात्र बिकल्प कुटनीतिक पहल नै उत्तम रहेको बताएका छन ।
बुधवार बेलायतस्थित प्रधानमन्त्रीको भ्रमणबाट गोर्खाहरूको मागको बारेमा प्रधानमन्त्री स्तरबाट भएको पहलको बिषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रमका सहभागी भुपु गोर्खाहरूले कुटनीतिक तहबाट समाधान खोजिनुपर्ने कुरातर्फ जोड दिएका हुन ।
प्रधानमन्त्रीस्तरबाट पहिलो पटक गोर्खाहरूको बारेमा पहल भएको जनाउदै अहिले नै उपलब्धी भई नहाले पनि यसले भबिष्यमा राम्रो नतिजा दिन सक्ने बताएका छन ।


जानकारी सभामा बोल्दै गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले गोर्खाहरूको समस्या समाधानको एकमात्र बिकल्प कुटनीतिक तवरबाट हुने कुरामा आफुहरू बिश्वस्त रहेको र त्यसैले कुटनीतिक तवरबाट समस्या समाधानमा हाम्रो जोड रहेको बताएका छन । ‘हामी विभिन्न चरणको आन्दोलन कार्यक्रमहरू पार गर्दै आएका छौ । अहिलेको अन्तिम अस्त्र बिकल्प जे भने पनि कुटनीतिक पहल नै हो’, सभापति राईले भने ‘कुटनीतिक तवरबाट यस्ता समस्याको समाधान खोजिनु आजको आवश्यकता हो । गोर्खा भर्ति दुई देशवीचको कुटनीतिक सम्झौताबाट भएको थियो । जहाँबाट जसरी शुरू भयो त्यहाँबाट त्यसरी नै समाधान हुनुपर्छ । ’

पहिलोपटक कुटनीतिक तवरबाट गोर्खाहरूको मागबारे पहल भईरहेको जनाउदै गोर्खा भुतपुर्व सैनिक संघले नेपाल सरकार र बेलायतका लागि नेपाली दुताबासलाई धन्यवाद दिदै कुटनीतिक पहलको लागि अपिल गरेका छन । गेसोले गोर्खा भुपु सैनिकहरूको नाममा केही समुहले उछृङखल गतिविधी गरेकोप्रति चिन्ता व्यक्त गर्दै आफुहरू कुटनीतिक पहलबाट समस्या समाधान खोजिनुपर्ने विशेष जोड दिएको छ ।

गोर्खाहरूको नाममा केही समुहहरूले गोर्खा राज्यको माग, गोर्खा भर्ती बन्द, आमरण अनसन जस्ता अराजक क्रियाकलाप र आन्दोलन गरेको भन्दै गोर्खा भुतपुर्व सैनिक संघ गेसोका उपाध्यक्ष धर्म तामाङले त्यस्तो गतिविधिहरू सजग हुनुपर्ने बताए । अहिले अराजग गतिविधि गरेर समस्या सुल्झने होइन झन बल्झन भन्दै त्यसलाई रोक्नका लागि सम्बन्धित समुहलाई रोकेर कुटनीतिक पहलको पक्षमा उभिन विकल्प हुने उपाध्यक्ष तामाङले बताए ।
लामो समयदेखि संघर्षरत गोर्खाहरूले समानताको लागि विभिन्न प्रकारको आन्दोलन लगायत दवावमुलक कार्यक्रम गर्दै आएको छ । आन्दोलन लगायत दवावमुलक कार्यको स्वरूप समय सन्दर्भ परिवर्तन हुने भन्दै गेसोले पछिल्लो समय कुटनीतिक तवरबाट समस्याको समाधान खोज्दै आएका छन ।

हाम्रा आन्दोलनले गोर्खाहरूको माग आंशिक रूपमा पूरा भईसकेको र बाँकी मागलाई पूरा गर्न कुटनीतिक पहल प्रभावकारी हुने गोर्खा भुतपुर्व सैनिक संघ गेसोका महासचिव दशरथ राईले बताए । हामीले नेपालको सडक, संसद हुँदै बेलायतको सदन र न्यायलयसम्म पुगेर केही अधिकार पाएको छौ । बाँकी अधिकार नेपाल सरकार र बेलायत सरकारको वीचको कुटनीतिक तवरबाट हुने छ राईले बताए ।

गोर्खाहरूको माग र समस्या समाधानका लागि नेपाल सरकार, बेलायत सरकार र गोर्खाका प्रतिनिधिहरूसहितको प्राविधिक टोलीले प्रतिवेदन तयार गरेका थिए । प्रतिवेदनको आधारमा मागहरू कार्यान्वयन हुने कुराहरू गोर्खाहरू बिश्वस्त थिए । तर बेलायत सरकारको एकपक्षिय घोषणाले गोर्खाको मागहरू केही अंश बाहेक बाँकी कुरा सम्बोधन भएन ।
भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणमा प्रमुख रूपमा गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सम्झौता पुनरावलोकनको बिषयमा कुरा उठेको थियो । त्यसबिषयमा आवश्यक तयारी र बेलायती प्रधानमन्त्री थेरेसा मेको सत्ता बहिर्गमनले उक्त बिषय छायामा परेको जनकारहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार