चाडपर्वमा मनपरी भाडा, भाेजपुर दिंलाकाे भाडा सात सय

  सिलिचुङ सम्बाददाता

भोजपुर–चखेवा सडकखण्ड अन्र्तगत दावाँ बलौटेस्थित टेम्पोको पर्खाईमा यात्रुहरु । तश्विर, सिलिचुङ

भोजपुर । यात्रु सिट थोरै यात्रुको संख्या ज्यादा । अरुबेलाभन्दा भाडादर पनि मंहगो । दशैतिहारको बेला यात्रुको चाप धेरै । अनि ग्रामिण कच्चि, लामो कष्टकर यात्रा । जसोतसो कोचिएरै भएनि घर पुग्न हतारमा हुन्छन्, यात्रुहरु । चाडबाडमा ग्रामिण भेगमा चल्ने छोटो तथा लामो दुरीका सवारी भाडादरमा मनपरी बढेको छ । कष्टकर लामो गन्तव्य पुग्नै भएनि सर्वसाधरणहरु चर्को भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

विशेषगरि चाडबाडका समयमा सदरमुकामबाट छुट्ने अधिकांश ग्रामिण सडकमा चल्ने साना तथा ठुला सवारीमा व्यावसायीले आफुखुशी भाडादर कायम गरेर सवारी चलाउने गरेका छन् ।

‘चाडबाडमा किनमेल धेरै, घर पुग्ने हतार, अनि भाडा मंहगै भएनि नतिरी साध्य छैन, गाडी चढ्नैप¥यो’ पौवादुङ्मा गाउँपालिका २, तिवारीभञ्ज्याङका केशव ढकालले भने, ‘गाउँको कच्ची, अप्ठ्यारो बाटो एकातिर चर्को भाडादर अर्कोतिर, जतापनि सर्वसाधरण नै मारमा’ चाडबाडको बेला भौगोलिक रुपले विशेषगरी ग्रामिण सडकखण्डमा बढि भाडादरमा लापारबाही बढेको छ । सदरमुकामबाट छुट्ने अधिकांश ग्रामिण सडकमा चल्ने साना तथा ठुला सवारीमा व्यावसायीले आफुखुशी भाडादर कायम गरेर सवारी चलाउने गरेका छन् ।
सवारी भाडादरको दररेट कायम गर्न जिल्ला प्रशासन लगायत सरोकारवाला निकायको नियमन नहुनाले पनि मनोमानी बढेको छ । प्रशासनको फितलो नियमनले पनि भाडादरमा मनपरी भएको सर्वसाधरणहरु गुनासो गर्छन् । भोजपुर आम्तेकका स्थानीय पर्शुराम ओझाले सुनाए, ‘चाडबाडमा कडा नियमन र दररेट स्पष्ट नतोकिनाले पनि हामी जस्ता सर्वसाधरणहरु बढि मार खेप्नुपर्छ,’ जिल्लाभित्रबाट चल्ने ठुला सवारीसाधन भन्दा छोटो रुटका ट्याक्सी, टेम्पो लगायत साना सवारीसाधनमा चर्को भाडादर लाग्ने गरेको छ । विशेषगरी चाडबाडका समयमा प्रतिव्यक्ति एक हजारदेखी १५ सयसम्म भाडादर असुल्ने गरेको सर्वसाधरणको गुनासो छ ।
भोजपुर–घोरेटार सडकखण्डमा चल्ने साना गाडीमा धेरै भाडादर लाग्छ । चाडबाडका बेला उक्त रुटमा प्रतिव्यक्ति १२ सयसम्म भाडा असुलिन्छ । दिङ्ला–भोजपुर प्रतिव्यक्ति सात सयसम्म भाडादर लाग्छ । भोजपुरदेखि दिङ्ला, धरान, चखेवा छुट्ने ठुला तथा साना सवारीमा एक सयदेखी डेढ सयसम्म भाडादर बढाईएको छ । यता व्यावसायीहरु यात्रुलाई मार नपर्नेगरि प्रशासनिक रुपमै भाडादर कायम गरेको बताउँछन् । तीमध्ये कम्पनीको संगठनमा आबद्ध नभएका व्यावसायीले आफुखुशी भाडादर लगाउने गरेको ट्याम्के मैयुङ यातायात प्रालिका अध्यक्ष राजन राई बताए ।
अन्य समयमा भन्दा दशैतिहारका बेला भाडादर अझै महंगो कायम गरेर गाडी चलाउने गरेको स्थानीयको गुनासो छ । अहिले प्रतिव्यक्ति एक हजारदेखि १५ सय रुपैँयासम्म भाडा असुल्ने गरेको स्थानीय मनोज खनाल गुनासो सुनाउँछन् । भने, ‘चाडबाडमा त यिनीहरुको दशैँ पल्टिन्छ । त्यतिबेला यात्रुलाई हतार हुन्छ अनि जति मनलाग्यो त्यति लिन्छन् ।’ महंगो भाडा मात्र नभई खनालका अनुसार १२ जना यात्रु बोक्न मिल्ने ट्याक्सीमा २१ जनासम्म यात्रु कोचेर बोक्छन्’
जिल्लामा एउटै रुट पर्मिट नभएकाले पनि ग्रामिण भेगमा भाडादर कायम गर्न असहज भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । ग्रामिण भेगमा भाडाको दररेट कायम गरेपनि साना सवारीमा तोकिएको भन्दा बढि भाडा असुलेको गुनासो कहिँकतैबाट नआएको उनले बताए । उनले रुट पर्मिट कायम गर्न यातायात व्यवस्था विभागमा पत्राचार गरेको र संशोधन भएपछि सबै समान रुपमा कायम हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार