जिल्ला अस्पताल भोजपुुरमै डाक्टरको चरम अभाव, उपचार सेवा प्रभावित

  समिर साम्पाङ राई

 

जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि पालो कुर्दै सेवाग्राहीहरु । तश्विर, सिलिचुङ

 

भोजपुर । भोजपुर सदरमुकाम डाँडागाउँका रविन्द्र केसी खुट्टाको खिल निकाल्न अस्पताल आए । अस्पतालमा उपचार गराउने विरामी र सेवाग्राहीको लामो लाम थियो । काउण्टरमा बाक्लो लाइन भएकाले करिब १ घण्टापछि टिकट पाएपछि शल्यक्रिया गर्न प्रतिक्षा गरे । झण्डै अढाइ घण्टापछि बल्लतल्ल पालो आयो र उनको घाउबाट खिल निकालियो । १५ मिनेटको उपचारका लागि पौने चारघण्टा कुर्नुपर्ने बाध्यता उनको मात्रै हैन । दैनिक अस्पताल आउने सबैलाई यस्तै सास्ती छ ।

”दरबन्दी अनुसार अस्पतालमा नवौँ तहको एकजना मेसु, दुईजना मेडिकल अधिकृत, एकजना एचए, दुईजना अहेब, चारजना स्टाफ नर्स र दुईजना अनमीको दरबन्दी खाली छ । मन्त्रालयलाई पत्राचार गरिएपनि खाली दरबन्दी पूर्तिका लागि अहिलेसम्म डाक्टर नपठाएको अस्पतालका सूचना अधिकारी उदयकुमार चौधरी बताउँछन् ।”

’अस्पतालमा सदाजस्तो सहज छैन, चेकजाँच गर्ने डाक्टर पनि कमी, काउण्टरमा विल काट्ने कर्मचारी पनि कमी । सयौँको भिडमा पालो कुर्दा साहै्र गाह्रो हुन्छ’ रविन्द्रले भने, ’पहिले पर्याप्त डाक्टर र कर्मचारी हुँदा यस्तो सास्ती हुन्थेन, अहिले बाध्यता छ’ जिल्ला अस्पताल भोजपुरमा दरबन्दी अनुसारका पर्याप्त डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित बन्नेगरेको छ । डाक्टर अभावमा स्वास्थ्य उपचारका लागि आउने सयौँ विरामीहरु मारमा पर्ने गरेका छन् ।
दैनिक सयौँको संख्यामा आउने ग्रामीण सर्वसाधरणलाई अझ धेरै सास्ती छ । डाक्टर, चिकित्सक, स्वास्थ्य विशेषज्ञ नहुँदा समस्या बढेको हो । आलोपालो गर्दै विरामीको चेकजाँचमा खट्ने स्वास्थ्य चिकित्सकहरु कार्यालय समयभन्दा अधिक समय खटिनुपर्ने अवस्था रहेको चिकित्सक रचना श्रेष्ठ सुनाउँछिन् । दरबन्दी अनुसारको स्वास्थ्य कर्मचारी नहुन र भएका डाक्टरहरुको पनि सरुवा र सेवाअवधि सकिनुले अस्पतालको सेवा प्रवाह नाजुक बनेको उनले बताईन् ।
प्रदेश र संघिय सरकारले चासो नदिँदा जनशक्ति अभाव खट्किएको हो । समयमै उपचार नपाउने अवस्थाले विरामी र गर्भवती महिलालाई जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको स्थानीय कृष्णकुमार राई गुनासो गर्छन् । भन्छन्, ‘संघीय, प्रदेश र स्थानीय सरकारले वेवास्ता गर्दा दरबन्दी अनुसारको चिकित्सक छैन । जसकारण उपचार सेवामा गम्भिर असर परेको छ । सेवाग्राही आफैले जोखिम उठाउनुपर्ने स्थिती छ ।’
विगत ३ महिनादेखी २ जना एमबिबिएस डाक्टरको भरमा अस्पतालको सम्पूर्ण जिम्मेवारी हेरिरहनुपरेको चिकित्सक सुनाउँछन् । पर्याप्त चिकित्सक नहुँदा एकैजनाले सम्पूर्ण सेवा धान्न भ्याईनभ्याई हुने डाक्टर सञ्जय रानाले सुनाए । ’चिकित्सक अभावमा बहिरंग सेवा अवरुद्ध भईरहेको अवस्था छ, विरामीलाई पनि पालो कुर्नुपर्ने, रिपोर्ट पर्खनुपर्ने बाध्यता छ ।’ उनले भने, ’अहिले एकदमै चर्को जिम्मेवारी थपिएको छ । एकजना डाक्टरको भरमा अस्पताल धानिरहेका छौँ’े । उनका अनुसार जनशक्ति नहुँदा एकजना डाक्टरलाई अस्पतालको आकस्मिक शल्यक्रिया, अपरेसन, इमरजेन्सी, ओपिडि, पोस्टमार्टम, तालिम, राउण्ड लगाउनुपर्ने, विरामीको चेकजाँच सेवामा भ्याईनभ्याई भएको अवस्था छ ।
दरबन्दी अनुसार अस्पतालमा नवौँ तहको एकजना मेसु, दुईजना मेडिकल अधिकृत, एकजना एचए, दुईजना अहेब, चारजना स्टाफ नर्स र दुईजना अनमीको दरबन्दी खाली छ । मन्त्रालयलाई पत्राचार गरिएपनि खाली दरबन्दी पूर्तिका लागि अहिलेसम्म डाक्टर नपठाएको अस्पतालका सूचना अधिकारी उदयकुमार चौधरी बताउँछन् । त्यस्तै स्वास्थ्य निर्देशानालयबाट दरबन्दी प्रशासन लेखा र एनेस्थेसियाको दरबन्दी पनि काटिएको अस्पतालले जनाएको छ ।
जनशक्ति कम भएपनि गम्भिर किसिमका विरामीको शल्यक्रिया र प्रसुति सेवालाई पहिलो प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार वार्षिक ३ हजारको हाराहारीमा ग्रामीण क्षेत्रका महिलाहरु प्रसुति गराउन अस्पताल आउने गरेका छन् । चिकित्सक अभावमा अहिले हप्तामा १५ जनासम्म विरामीहरु रेफर गरिरहुनुपरेको अस्पतालले जनाएको छ । सडकको सहज पहुँच नहुँदा साल्पासिलिछो, टेम्केमैयुङ गाउँपालिका, आमचोक, हतुवागढी, रामप्रसाद राई गाउँपालिकाका केहि दुर्गम क्षेत्रका विरामी र गर्भवती महिलाहरुलाई जोखिम मोलेर अस्पताल आउनुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार