७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 

अख्तियारले यस मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना भएको आरोप छ। भेपमार्फत भएको सुन तस्करीमा अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरूण पोखरेललाई पनि प्रतिवादी बनाएको छ।

 

यसैगरी, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरूद्ध मुद्दा दायर भएको हो।

 

तत्कालीन प्रमुख समेतले पदीय जिम्मेवारी पूरा नगरी सम्पत्ति हानिनोक्सानी हुने काम गरेको अख्तियारको जिकिर छ।  ‘भेप जस्तो देखिने वस्तुमा पहेँलो धातु सुन लुकाएर ल्याएको भन्ने थाहा भएको कारण एक्सरे मेसिनले जाँचको क्रममा स्पष्ट अर्गानिक र इनअर्गानिक मटेरियल छुट्याउन सक्ने, सुनचाँदी लगायतका धातु तथा सोबाट तयार भएका गहना लगायतका सामग्री बाक्लो अवस्थाको आधारमा नीलो, गाढा नीलो र कालो रङ देखाउने र त्यस्तो देखिएमा भौतिक रूपमा खोली हेरी चेकजाँच गर्नुपर्ने तथा भन्सार ऐन विपरीत हुने उक्त सामग्री चेकजाँच नै नगरी नगराई पछि अनुकूल समयमा सट्टापट्टा तथा परिवर्तन गरी लिई जाने गरी हाल सुरक्षित राख्ने जफत गर्ने निर्णय गरे गराएको देखिएको,’ अख्तियारले भनेको छ।

यसरी जफत भएको सामानलाई गोदाममा बन्द गरी सुरक्षित राख्नुपर्नेमा लामो समयसम्म दूषित मनशायले प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठको कार्यकक्षमा राखेको र प्रतिवादीसँग अस्वाभाविक भेटघाट गरेको आरोप छ।

 

त्यस्तै महरासँगै उनका छोरा राहुल, निर्मल कुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, बेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरूङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ र दाओजिङ वाङ, बेल्जियन नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगविरूद्ध मुद्दा दायर भएको हो।

 

डेक्स्टर ट्राभल्स एन्ड टुर प्रालिविरूद्ध पनि मुद्दा दायर भएको हो।  महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

 

उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको हो। २०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप ल्याएका थिए। त्यसमा ९ किलो सुन थियो। त्यो सुन विमानस्थलकै भन्सारबाट चोरी भएपछि मात्र सुन तस्करीबारे खुलेको थियो।

 

सिआइबीले थालेको अनुसन्धानमा महराको सम्बन्ध तस्करीका मुख्य नाइके दाओजिन वाङसँग देखिएको थियो। सिआइबीले पहिलो चरणको अनुसन्धानमा उक्त सम्बन्धलाई आफ्नो चार्टमै प्रस्तुत गरेको भए पनि मुद्दा चलाइएन। पछि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई समेत मुद्दा चलाउनुपर्ने राय दिएको थियो।

 

सिआइबीले महरालाई २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरेको थियो। त्यति बेला उनलाई मुद्दा चलाइएको थिएन। बयान लिएर हाजिर जमानीमा छाडिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार