
भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेकी ७२ वर्षिय नरमाया घिमिरे सातादिनदेखि पेट दुखाईले थलिईन् । दुखाई झन बढेपछि उनलाई स्वास्थ्य चौकी लग्नुपर्ने भयो । छोरा राजेश घिमिरे छरछिमेक दुईचारजना बोलाए । वर्षातका कारण कच्ची सडक हिलाम्मे थियो । कुनै सवारीसाधन चल्न सक्ने स्थिती थिएन । स्ट्रेचरमै बोकेर स्वास्थ्य चौकी पु¥याए । तर विडम्बना सडक पुगेपनि यहाँ अझै एम्बुलेन्स पुग्न सकेको छैन ।
‘सडक पुगेपनि ट्रयाक्टरले बाटो विगार्छ, बर्खामा त झन ठप्पै हुन्छ, कोहि विरामी परे स्ट्रेचरबाटै लैजानुपर्छ’
‘सडक त छ तर न गाडी कुद्छ न एम्बुलेन्स नै कहिल्यै देख्न पाईयो, कोहि विरामी परिहाले स्ट्रेचरको भर पर्नुपर्छ’ राजेशले सुनाए, ‘गम्भिर किसीमका विरामी र सुत्केरीलाई बढि जोखिम छ, कष्टकर यात्रा गरेर खाँदबारी तर्नपर्छ’ राजेश जस्ता यस क्षेत्रका नागरिकको यो बाध्यता हो । उत्तरी साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका, रामप्रसादराई गाउँपालिकाका धेरै ग्रामीण भेगमा एम्बुलेन्स सेवा छैन । अधिकांश स्थानीय तहमा एम्बुलेन्स सेवा पुगेपनि दुर्गम भेगका स्थानीयबासिन्दा अझै स्टे«चरकै भरमा विरामीलाई स्वास्थ्य चौकी पु¥याउनुपर्ने बाध्यता छ ।
एम्बुलेन्स सेवा नहुँदा विरामीको बाटैमा मृत्यू समेत हुने गरेको साल्पासिलिछो गाउँपालिका ६, दोभानेका दिक्पाल राईले बताए । ‘सडक पुगेपनि ट्रयाक्टरले बाटो विगार्छ, बर्खामा त झन ठप्पै हुन्छ, कोहि विरामी परे स्ट्रेचरबाटै लैजानुपर्छ’ उनले भने, ‘न बाटो राम्रो छ, एम्बुलेन्स छ न त अस्पताल नै, अप्ठ्यारो बाटोबाट विरामी लैँजादा विरामीको बाटैमा ज्यान पनि जाने गर्छ’ गाउँपालिका क्षेत्रमा एम्बुलेन्स नहुँदा उत्तरी क्षेत्रका सर्वसाधरण ज्यान जोखिम मोलेरै यात्रा गर्ने गरेका छन् ।
कोभिड १९ का कारण नयाँ एम्बुलेन्स खरिद प्रक्रिया रोकिएको र चाँडै प्रक्रिया अघि बढाउने साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले बताए । ‘एम्बुलेन्सले सेवा दिन नसक्दा नागरिक सास्ती खेप्न बाध्य छन्’ उनले भने, ‘संवेदनशील विषय भएकाले नागरिकको सेवाका लागि पालिकाले एम्बुलेन्स ल्याउने तयारी गरेको छ’ अध्यक्ष राईले चालु आर्थिकवर्षभित्रै गाउँपालिकामा एम्बुलेन्स ल्याईने तयारी भएकोल बताए ।
सडकसञ्जालले गाउँगाउँ जोडिएपनि अव्यवस्थित सडकका कारण एम्बुलेन्सको पहुँच अझै पनि पुग्न सकेको छैन । सडक पुगेपनि एम्बुलेन्सको नहुँदा ग्रामीण नागरिकलाई सास्ती पुगेको षडानन्द नगरपालिका २, कुदाककाउलेका सन्तोष बस्नेत बताउँछन् । हतुवागढी, पौवादुङमा, टेम्केमैयुङ, आमचोक र अरुण गाउँपालिकाले एम्बुलेन्स ल्याएका छन् ।
जिल्ला अस्पतालका २ एम्बुलेन्स विग्रिएर थन्किएका छन् । अस्पतालमा एम्बुलेन्स नहुँदा सदरमुकाम लगायत आसपासका क्षेत्रबाट ईन्डियन वेल्फेयर र नेपाल रेडक्रस सोसाईटीबाट सञ्चालित एम्बुलेन्सले विरामी ओसारपसार गर्ने गरेको छ । दोभाने, तिम्मा, मानेभञ्ज्याङ, सानोदुम्मा, ठुलोदुम्मा, जरायोटार, दुम्माना, हसनपुर, वासिङथर्पु, बासिखोरा, देवानटार जस्ता दुर्गम क्षेत्रका नागरिकलाई अझैपनि सामान्य उपचारका लागि पनि घण्टौं हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ ।
कोभिड १९ को महामारी फैलिरहँदा गम्भिर किसीमका विरामीले एम्बुलेन्स नपाउँदा झन समस्या थपिएको छ । सञ्चालनमा रहेका एम्बुलेन्स पनि कोरोना संक्रमित बोक्नलाई मात्र प्रयोग भएपछि झन समस्या थपिएको हो । कोरोना महामारीका बेला एकातिर सडकसञ्जाल सहज पहुँच नहुनु र अर्कोतिर एम्बुलेन्स नहुँदा विरामी झनै सास्ती मिलेको षडानन्द नगरपालिका १, नेपालेडाँडाका सौगात गौतमले बताए । कच्ची सडक पुगेपनि एम्बुलेन्स नहुँदा नागरिकलाई ज्यानै जोखिममा लग्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।







