टेम्केमैयुङ गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्दै, नागरिकलाई सहज

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर ।  मजदुरीका क्रममा काठमाडौँमा विद्युत्त सर्ट भई दुर्घटनामा परि टेम्केमैयुङ गाउँपालिका १, तिम्मा रिमचिमका पर्वत राई पूर्णत अपांग भए । उनको शारिरीक दुर्बलताले उनले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैँ कष्ट हुन्थ्यो । वरपरका छिमेकीको सहयोगमा स्ट्रेचरमा बोकेरै उनलाई लैजानुपथ्र्यो । तर वडाबाटै भत्ता वितरण सुरु भएपछि अहिले राहत मिलेको छ । ‘छोराको हविगत यस्तो, त्यसमा उसले पाउने सरकारी सेवा पनि लिनै मुस्किल, तर अहिले वडाबाटै बाँड्न थालेपछि गाउँपालिकाको कार्यालय नै धाउनुपर्ने बाध्यता कम भएको छ’ पर्वतका बाबु नारायण प्रसाद राईले भने ।

भौगोलिक दुर्गमताका कारण बैंकिङ सेवा र गाउँपालिका केन्द्रसम्म कष्टकर यात्रा गरि धाउनुपर्ने सास्तीलाई कम गर्न स्थानीयस्तरबाटै भत्ता वितरण गर्न थालिएको हो ।

टेम्केमैयुङ गाउँपालिकाले आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । दुर्गम ग्रामीण भेगका नागरिकको सेवालाई सहज बनाउने उद्देश्यले वडावडाबाटै भत्ता वितरण गरिएको हो ।
भौगोलिक दुर्गमताका कारण बैंकिङ सेवा र गाउँपालिका केन्द्रसम्म कष्टकर यात्रा गरि धाउनुपर्ने सास्तीलाई कम गर्न स्थानीयस्तरबाटै भत्ता वितरण गर्न थालिएको हो । वडाबाटै सहज सेवा पाउनाले समय, खर्च, कष्टकर यात्राबाट छुटकारा मिलेको टेम्केमैयुङ गाउँपालिका ७, कोटकी सेवाग्राही भगवती खतिवडाले बताईन् । भन्छिन्, ‘गाउँपालिकाले वडाबाट दिएको सेवाले अहिले धेरै सजिलो छ, घण्टौ लगाएर जानुपर्ने बाध्यता कम भएको छ, खर्च पनि जोगिएको छ’
९ वडा रहेको उक्त गाउँपालिकाको पायकका वडा नं ३, अन्नपूर्ण, वडा नं ४, नागी र वडा नं ५ खावाबाहेक ६ वटै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो । विशेषगरि शारिरीक दुर्बलताका ज्येष्ठ नागरिक र अपागंलाई सहजता दिन गाउँपालिकाले वडाबाटै वितरणको काम थालेको गाउँपालिकाका कर्मचारी सिताराम राईले बताए ।
दुर्गम भेगका जनतालाई भत्ता लिन कष्टकर यात्रा गर्नुपर्ने समस्यालाई कम गर्ने उद्देश्यले वडाबाटै भत्ता वितरणको काम थालिएको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताईन् । ‘शारिरीक रुपमा अशक्त वर्गको सुलभताका लागि वडाबाटै बाँड्न थालिएको हो, जसमा ज्येष्ठ नागरिक र अपांग व्यक्तिहरुलाई विशेष ग्राहयता दिएका छौँ’ उपाध्यक्ष राईले भनिन्, ‘घर पायक वा दुरीको हिसाबले नजिकका वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ, साथै आगामी दिनमा परिस्थितीलाई हेरेर गाउँपालिकाका केहि सरकारी सेवा पनि स्थानीय पायक ठाउँमै दिने योजना छ’

टेम्केमैयुङ गाउँपालिका वडा नं १, तिम्मास्थित सामाजिक सुरक्षा भत्ता गरिँदै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार