सौन्दर्य सामग्रीमा कतिसम्म भरोसा गर्ने ?

पछिल्लो समय सौन्दर्य बजारमा देखिएको विश्वव्यापी वृद्धि वास्तवमै ऐतिहासिक र आश्चर्यजनक मानिएको छ । २०१९ मै ग्लोबल कस्मेटिक बजार ३८०.२ अर्ब डलर पुगेको थियो भने अबको ५ वर्षमा झन्डै ५०० अर्ब डलरको हुने प्रक्षेपण गरिएको छ । आधुनिक जीवनशैलीमा कस्मेटिक्स लगायत सौन्दर्य सम्बन्धी उत्पादन मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ ।

 

तर यसमा हामीले दैनिक प्रयोग गरिरहेका यस्ता व्यक्तिगत हेरचाहका उत्पादनहरूबारे कहिल्यै पनि गम्भीर भएर सोचिरहेका हुदैनौँ । हामीलाई लाग्छ यिनीहरू पक्कै सुरक्षित नै होलान्, नियम कानुन र गुणस्तरका सबै मापदण्ड पूरा गरेरै निर्माण भएका होलान् । तर यस्तो ठानेर ढुक्क भइ प्रयोग गर्ने अवस्था नरहेको रिसर्चले देखाएका छन् ।

 

यसअघि गार्जियनको ‘टक्सिक अमेरिका’ नामक सिरिजमा बच्चाहरूको खेलौनादेखि, पिज्जा बक्स, पानीको बोतलको बिर्कोसम्ममा हानिकारक केमिकलहरू फेला पारिएको थियो । त्यसैले पनि हामीले आफ्नो शरीरमा जे लगाउछौँ, जे सेवन गर्छौँ त्यसबारे विस्तृत खोजी गर्न जरुरी भइसकेको छ । केवल मान्यताकै भरमा सामान खरिद मात्र गर्ने अहिलेको संस्कृति बदल्नैपर्ने विज्ञहरू बताउँछन् ।

 

उपभोक्ता मात्र नभएर ‘ब्युटी सलोन’ मा काम गर्ने कर्मचारीहरू पनि कस्मेटिक्स सम्बन्धी ठूलो स्तरमा केमिकलको सम्पर्कमा आइरहँदा उच्च जोखिममा हुन्छन् । स्किनकेयरले अनुसन्धान गरेका उत्पादन र त्यसका प्लास्टिक प्याकेजिङमा मान्छेको शरीर र वातावरणमा सधैँभरि रहिरहने केमिकल भेटिएको छ जसलाई क्यान्सर, भर्खर जन्मिएका बच्चामा रोग र अपाङ्गता, कलेजोमा खराबी, थाइरोइड सम्बन्धी रोग, प्रतिरोधात्मक क्षमतामा कमी, अत्यावश्यक हर्मोन उत्पादनमा अवरोध जस्ता अनेकौँ स्वास्थ्य समस्यासँग जोडिएको छ । कस्मेटिक्समा मेक–अपका सामानमा पनि यस्ता थुप्रै प्रमाण भेटिएका छन् ।

 

यसको सबैभन्दा ठूलो उदाहरणको हो जोन्सन एण्ड जोन्सन कम्पनीको बच्चाहरूलाई लगाइने पाउडर । प्राप्त प्रमाणअनुसार कम्पनीलाई १९७० को दशकमै सो पाउडर निर्माणमा प्रयोग गरिएका सामग्रीले क्यान्सर हुने थाहा भएर पनि बेवास्ता गरी बच्चाहरूको ज्यान जोखिममा पारिरहेको थियो । कम्पनीले यस विषयमा हजारौँ कानुनी मुद्दाको सामना गरिरहेको छ भने आफ्ना उत्पादन धेरै ठाउँबाट हटाइसकेको छ ।

 

त्यस्तै अर्को उदाहरणीय घटना हो कुनै समय अत्यन्तै लोकप्रिय मानिएको कपाल सम्बन्धी अमेरिकी ब्रान्ड ‘डिभाकर्ल’ । येशा मलिकको कपाल कुनै समय डिज्नीका राजकुमारहरू सरह बाक्लो र चम्किलो थियो । यहाँसम्म कि उनले कुनै विग या कर्लिङ आइरन प्रयोग नगरेको साबित गर्न युट्युब भिडियो नै बनाउनु परेको थियो । मलिक त्यसबेला डिभाकर्लकी एकदमै ठूलो फ्यान थिइन् । उनी आफ्ना कपालमा त्यसकै उत्पादन मात्र प्रयोग गर्दथिन् र घना चम्किलो कपालका लागि उनले सो कम्पनीलाई नै श्रेय दिँदै आएकी थिइन् ।

 

तर जनवरी २०१९ मा ६ वर्षसम्म डिभाकर्लको प्रयोग गरिसकेपछि उनलाई सो उत्पादनको प्रभावकारीतामा शंका लाग्न थाल्यो । उनको कपाल दिनदिनै सुख्खा, पातलो भइरहेको थियो भने जरामा चिलाउने अनि नुहाउँदा एकदमै धेरै झरिरहेको थियो । यति मात्र नभएर उनमा एन्जाइटी सुरु भयो र स्मरण क्षमता पनि कमजोर बन्दै गयो । बिस्तारै उनले बोल्नमा पनि कठिनाइ महसुस गरिन् । यसपछि उनले सामाजिक सञ्जालबाट आफूलाई हटाइन् ।

 

अनि उनका फलोअरहरूले पनि चिन्ता जनाउँदै आफ्ना त्यस्तै अनुभव सुनाए । पहिले त उनलाई विश्वास गर्न कठिन भइरहेको थियो । यसपछि उनले सो ब्रान्डको उत्पादन प्रयोग गर्दा कपाल र स्वास्थ्यमा भएको ‘ड्यामेज’ बारे प्रचार गरिरहेको एक फेसबुक ग्रुप फेला पारिन् । त्यसमा हाल ६० हजार बढी सदस्य छन् । उनीहरूले पनि मलिककै जस्तो भयावह लक्षणको सामना गर्नुपर्यो । यसरी सो ब्रान्डसँगको उनको त्यति लामो सम्बन्ध अन्त्य भयो ।

 

मलिक र डिभाकर्ल ब्रान्डको यो घटना यस्ता सयौँ हानिकारक सौन्दर्य उत्पादनमध्ये एउटा मात्र हो ।  विज्ञहरूका अनुसार यसमा हामीले प्रयोग गर्ने स्याम्पू, कन्डिसनर, नेल पोलिस, मोस्चराइजर, पफ्र्युम सबैमा सरकारी नियामकहरूबाट आधिकारिकता प्राप्त भएको सुनिश्चित गरेर मात्र प्रयोग गर्न जरुरी छ । हो, मानिसलाई त्यसो गरिरहन झन्झट लाग्न सक्छ तर आफ्नो, परिवार अनि बालबालिकाको स्वास्थ्यका लागि यो अत्यन्तै जरुरी प्रक्रिया भएको विज्ञहरू बताउँछन् ।

 

यसअघि युरोपेली युनियनले कस्मेटिक्समा मात्र एक हजार ३०० हानिकारक केमिकल फेला पारेपछि सयौँ उत्पादनमा प्रतिबन्ध लगाएको थियो । यसैगरी अमेरिकाले पनि दैनिक प्रयोग गरिने कस्मेटिक सामानहरूमा ११ अत्यन्तै विषाक्त तत्वहरू फेला पारेको थियो ।

 

कस्मेटिक्स सामान उत्पादनकर्ताहरूले विक्री अगाडि आफ्ना उत्पादन अनिवार्य परीक्षण गर्नैपर्ने नियम नभएकाले पनि यो विषय गम्भीर बन्दै गइरहेको छ । जस्तै अमेरिकामा यदि कुनै उत्पादनले उपभोक्तालाई हानि पुर्यायो भने त्यहाँको खाद्य तथा औषध विभागले केवल उक्त कम्पनीलाई विक्री बन्द गर्न आग्रह मात्र गर्न सक्छ ।

 

दैनिक उपभोग्य वस्तु सम्बन्धी अन्य सबै उद्योगमा कडा मापदण्ड र नियामकहरू हुन्छन् तर कस्मेटिक्समा चाहिँ यस्तो कडाइ अपनाइएको पाइँदैन । यसमा केवल निर्माण प्रक्रियामा प्रयोग भएका सामग्री मात्र खोलमा सूचीकृत गर्न भनिएको हुन्छ ।

 

२०१९ मा इन्डस्ट्रियल केमिस्ट लादेन कँडेलले ‘जेल नेल पोलिस’ सम्बन्धी युनिभर्सिटी अफ क्यालिफोर्नियामा रिसर्च गरेकी थिइन् जसमा उनले सो उत्पादनको सेफ्टी डाटामा उल्लेख नगरिएको खतरनाक सामग्री भेट्टाएकी थिइन् ।

 

यस्ता केमिकलहरूमा फर्मलडिहाइड, बेन्जिन, टोलिन र मिथाइल मेथाक्राइलेट पर्दछन् जसबारे उत्पादनको बाहिरी खोलमा उल्लेख गरेकै हुनुपर्दछ । तर निर्माणकर्ताहरूले यस्ता जानकारी लुकाएर आफ्ना सामान विक्री गरिरहेको पाइएको छ । यसको अर्थ उपभोक्ता नै आफैँ सतर्क रहनुपर्ने अवस्था छ ।

गार्जियनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार