बसन्त बोलाउने किरातीको ‘उभौँली’

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । अन्नबाली लगाउने समय भएको छ । किसानहरु बेँसी खेतमा बिउब्याड राख्न भ्याईनभ्याई छ । सबैतिर बसन्तले छपक्क छोपेको छ । रनबन पाउलिएका छन् । गर्मी छल्न चराचुरुंगीहरु बेँसीदेखि लेकतिर लाग्ने गर्छन् । अर्थात उभौँली आएको छ । गाउँबस्तीमा उभौँलीको रौनक सुरु भएको छ । किरातबस्तीहरु ढोल, झ्याम्टाले गुञ्जयमान बनेका छन् ।
वैशाख पूर्णिमासंगै किरात समुदायको साँस्कृतिक चाड उभौँली धुमधामले सुरु भएको छ । किरात राई समुदायको बाहुल्यता रहेको भोजपुरमा उभौँली पर्व उल्लासका साथ सुरु भएको छ । किरात राई मुन्दुमी संस्कृतिमा साकेला, साक्खेवा, साकेन्वा नामले परिचित उभौँली पर्व किरातबस्तीहरुमा धुमधामले सुरु भएको हो ।
मुन्दुमी मान्यताअनुसार अन्नबालीमा प्राकृतिक विपत्तहरूबाट सुरक्षाको मनोकामनाका साथ किरातहरुको ईष्टदेवता सुम्दिमा र पारुहाङको पुजाआजा गर्ने चलन छ । स्थानीय नाक्छोङ (धामी) गंगा राईका अनुसार उभौँलीमा न्वागी, सिमे, भूमे र भूमिपूजाको रुपमा कुखुरा, कोदोको जाँड र रक्सीलाई ‘सुप्तुलुङ’ अर्थात तिनचुल्हो र माङ (पितृ) पुजामा चढाउने धार्मिक परम्परा छ ।
बर्षभरिलाई फलाईने अन्न रोपेर ‘उभोँ’ (उकालो) लाग्ने भएकाले भूमिपूजक किरात राईहरु बैशाख पूर्णिमादेखि १५ दिनसम्म उभौँली मनाउँछन् । मुन्दुमी परम्परा अनुसार आफ्ना माङ (कुलपितृ) लाई शक्ति माग्ने गरिने राईले सुनाईन् । ‘अन्य समुदाय जस्तै किरात राईहरुको पनि उभौँली मुख्य पहिचान हो, हाम्रो संस्कार हो, हाम्रो संस्कारसंस्कृति, मौलिकपन, मूल्यमान्यता बिर्सन पनि हुन्न, त्यहि पुर्खाहरुको सम्झना र सुखशान्तिको कामनाका लागि उभौँली मनाउँछौ’ उनले भनिन् ।

मुन्दुमी मान्यताअनुसार अन्नबालीमा प्राकृतिक विपत्तहरूबाट सुरक्षाको मनोकामनाका साथ किरातहरुको ईष्टदेवता सुम्दिमा र पारुहाङको पुजाआजा गर्ने चलन छ । स्थानीय नाक्छोङ (धामी) गंगा राईका अनुसार उभौँलीमा न्वागी, सिमे, भूमे र भूमिपूजाको रुपमा कुखुरा, कोदोको जाँड र रक्सीलाई ‘सुप्तुलुङ’ अर्थात तिनचुल्हो र माङ (पितृ) पुजामा चढाउने धार्मिक परम्परा छ ।

उभौँलीमा किरात राईहरु आदिमकालमा पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुल खाने, काँचो वनतरुलको टीका लगाउने, सबेरै काँचो वनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रुपमा ग्रहण गर्ने परम्परा रहेको किँरात संस्कृतविद् शरणबहादुर राईले बताए ।
यस्तै उभौँलीमा नाचिने साकेन्वा सिलि परापूर्वकालदेखि अनुशरण हुँदै आएको पशुपंक्षीको चाल, कृिषखेतीका तौरतरिकाको अनुकरण गरी ढोल र झ्याम्टा बजाउँदै एकै सुरतालमा गोलबन्दी घेरा बनाएर नाच्ने गरिन्छ । उर्भौँलीको आफ्नो पहिचानकै कारण साँस्कृतिक महत्व जोडिएको उनी सुनाउँछन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टा, बिनायोको सुरमा घेराभित्र विधीवत् रुपमा नाच्ने गरिन्छ ।
आध्यात्मिक रुपमा प्राकृतिक श्रोत र शक्तिसंग जोडिएकाले पनि परापूर्वकालदेखि नै उभौँली मानिँदै आएको संस्कृतविद् पावीहाङ राई बताउँछन् । वैशाख पूर्णिमाका बेला सूर्यको गती उत्तर लाग्ने भएकाले उभाँैलीलाई मुन्दुमी किँरात भाषामा ‘दोङवाङा’ भन्ने गरिएको उनको ठम्याई छ ।
किरात राईहरुले ढुङ्गे युगपछि कृषि युग सुरु गर्ने क्रममा विभिन्न परम्पराको रुपमा आफ्नो पहिचान छोडे । थितीहरु बसाए । त्यहि नै सँस्कृतिको रुपमा विकसित भएको सँस्कृतविद्हरुको बुझाई छ । चलनचल्तीमा आएको विश्वास छ । किरात सुनुवार, राई, लिम्बु र याक्खा जातिहरु उभौँली–उधौँलीलाई मान्ने, पुज्ने र विधीवत् सँस्कार्ने गर्दछन् । भोजपुरसंगै खोटाङ, ओखलढुङ्गा, धनकुटामा उभौँली धुमधामले मनाईन्छ । विशेषगरि आदीबासी जनजाती किरात राईहरुको बाहुल्यता रहेको नेपालको पूर्वी पहाडी भेगलाई यो साँस्कृतिक पर्वको थाकथलो मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार