
भोजपुर । ९ स्थानीय तहमध्ये भोजपुरका ६ स्थानीय तहको अन्तिम मत परिणामको टुंगो लागेको छ । जसमा हतुवागढी गाउँपालिका र पौवादुङमा गाउँपालिकामा नेकपा एमाले, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा माओवादी केन्द्र, अरुण गाउँपालिकामा नेपाली कांग्रेस र साल्पासिलिछो गाउँपालिकामा एक स्वतन्त्र उम्मेदवारले जितेका छ ।
साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्रका उम्मेदवारले विजय हाँसिल गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका दौलत कुलुङ राई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
निकै प्रतिस्पर्धामा रहेका राईले निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश राईलाई ३८ मत र नेकपा एमालेका शान्तिबहादुर अधिकारीलाई ४ सय ३१ मतले पछि पार्दै निर्वाचित भएका हुन् । राईले कुल १८ सय १४ मत पाउँदा कांग्रेसका राईले १७ सय ८६ र एमालेका अधिकारीले १३ सय ८३ मत पाएका थिए ।
नेकपा एमालेबाट बागी स्वतन्त्र उम्मेदवार उठेका राईले गाउँपालिकाको सम्मुनत समृद्धिको सपनालाई साकार बनाउँदै जनताको सेवा गर्ने दृढ इच्छाले चुनावी मैदानमा सहभागी बनेको बताए । यस्तै, उपाध्यक्षमा भने नेपाली कांग्रेसकी अस्मिता कुलुङ राई निर्वाचित भएकी छन् । उनले नेकपा एमालेकी रिता घलेलाई २ सय ८२ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले कुल १८ सय ६२ मत प्राप्त गरेकी थिइन् ।
सत्ता गठबन्धन हराउँदै भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई ६८९ मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित बनेका राईले ४ हजार ४० मत ल्याएका थिए ।
उनका निकटत्तम प्रतिद्वन्द्वी कार्कीले ३ हजार ३ सय ५३ मत ल्याएका थिए । त्यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी सुनिता किराती विजयी भएकी छन् । उनले ३ हजार ७ सय ७ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला राईले ३ हजार ६ सय ११ मत ल्याइन् ।
भोजपुरको दक्षिण आमचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले शानदार विजयी हासिल गरेको छ । माओवादी केन्द्रले ६ वटा वडा सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित जित हासिल गरेको हो ।
नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सिता राई विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित अशोक राईले ३६ सय ८५ मत र उपाध्यक्षमा निर्वाचित सिता राईले ३५ सय ९१ मत प्राप्त गरेका छन् ।
राईले ४२७ को मतान्तरले उनका निकत्तम प्रतिद्धन्दी एमालेका बसन्त राईलाई र उपाध्यक्ष पदमा राईले ४११ मतान्तरका साथ नेपाली काँगे्रसका छिरिङ्ग शेर्पालाई पछि पार्दै विजयी भएका हुन् ।
यस्तै पूर्वी पौवादुङमा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए । उनले २४ सय ९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ १६ सय ८८ मतमा रोकिए । १३ सय ७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए ।
किरणको यो दोस्रो जित हो । यसअघिको निर्वाचनमा यहाँ उपाध्यक्ष भने माओवादीले जितेको थियो । उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४ सय ६ मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७ सय ६९ मत प्राप्त गरिन् । तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १३ सय ८७ मत प्राप्त गरिन् ।
रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई निर्वाचित भएका छन् । ३ हजार ७७ मत ल्याएका राईले एमालेका बलराम राईलाई पराजित गरेका हुन ।
एमालेका बलरामले २८ सय ५१ मत ल्याए । यहाँ केन्द्र र माओवादीको तालमेल थियो भने एमाले एक्लै थियो । यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका वीरेन्द्र राई ३५ सय ७७ मत ल्याएर निर्वाचित भएका छन् । एमालेका कमलादेवी राईले २२ सय १४ मत ल्याएर पराजित भएकी छिन् ।
अरूण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका शालिकराम खत्री २ हजार ८ सय ८७ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद घिमिरेले दुई हजार ४ सय २४ मत ल्याएका छन् । यसैगरी अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रहेका डिल्लीराम अधिकारीले एक हजार ८ सय २७ मत प्राप्त गरे ।
सोहि गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाटै विनीता ढकालले जित हासिल गरिन् । उनले ३ हजार मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार कविता राईले दुई हजार ५ सय ४४ मत ल्याइन् । नेकपा (एकीकृत समाजवादी)का उमेदवार होमबहादुर श्रेष्ठले भने एक हजार ९० मत प्राप्त गरे । यहाँ माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो ।







