
भोजपुर । नयाँ शैक्षिक सत्र सुरु भएपनि सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित बनेको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको झण्डै दुई महिना वितिसक्दा पनि भोजपुरका सबै सामुदायिक विद्यालयहरुमा पर्याप्त पाठ्यपुस्तक नहुँदा सिकाइ सहजीकरणमा समस्या आएको हो ।
विद्यालयको नियमित पठनपाठन कार्यलाई निरन्तरता दिन नसक्दा शिक्षक विद्यार्थी दुवै अन्योलमा परेका छन् । असार सुरु भईसक्दा पनि धेरैजसो विद्यालयमा पाठ्यपुस्तकहरु पुग्न नसकेको शिक्षा विकास तथा समन्वय इकाइ भोजपुर प्रमुख रुद्र राईले बताए । पाठ्यपुस्तक छपाईको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रले स्थानीय तहको चुनावको मतपत्र छाप्ने कामले कागज अभाव भएपछि पाठ्यपुस्तक छाप्न ढिलाई भएको बताएको उनले जानकारी दिए ।
सरकार निर्वाचन केन्द्रित बन्नाले पनि विद्यालयको पठनपाठनमा अड्चन थपिएको हो । पुस्तक बिक्रेताहरुले पनि योवर्ष चुनावका कारण केन्द्रले छपाईमा ढिलाई गरेपछि समयमा विद्यालयहरुलाई पाठ्यपुस्तक दिन नसकेको बताएका छन् । यशोधरा माध्यमिक विद्यालय टक्सारका शिक्षक बिष्णुकुमार राईले भने, ’कक्षा ४, ७ र ९ को योवर्ष लागू हुने नयाँ परिमार्जित पाठ्यक्रम हो । तर बाँकी कक्षा १ देखि १० को पाठ्यपुस्तक पुरानै पाठ्यक्रमको भएपनि आएको छैन ।’ उनले पाठ्यक्रमविना विद्यार्थीको पाठ्यपुस्तक पढ्ने मनोविज्ञान समेत प्रभावित बन्न पुगेको बताए । यसका बारेमा जिम्मेवार निकायले नै चासो नदेखाएको उनको गुनासो छ ।
पुस्तक नहुदाँको समस्या सुनाउँदै जाल्पा माध्यामिक विद्यालय भैसीपंखाका शिक्षक बमबहादुर कार्की भन्छन, ’पुस्तक छाप्ने बेलामा मतपत्र छापियो रे, निर्देशन जेठ पहिलो हप्ताबाट पठनपाठन सुरु गर्नु भन्ने थियो, पुस्तकको अत्तोपत्तो छैन । सुगम तथा ईन्टरनेटको पहुँच पुगेका ठाउँमा पाठ्यक्रम डाउनलोड गरेर दुःखसुख कक्षा चलाउन सकिएला तर दुर्गम जिल्लाहरुमा यो सम्भव छैन ।’ कोरोनाका कारण प्रभावित शैक्षिक संस्थाहरुमा यस बर्ष पनि पुस्तकका कारण समयमा पठनपाठन समयमै हुन नसकेको उनले बताए ।
केही विद्यालयहरुले भने पुरानो पाठ्यक्रमबाट पठनपाठन गर्न थालेका छन् । जसमा परिमार्जित कक्षा ४, ७ र ९ को पुस्तक भने अभावका कारण विद्यार्थीलाई अन्य सिप अभ्यासमा केन्द्रित गराईएको पशुपति माध्यमिक विद्यालय रिमचिमका शिक्षक मोहन प्रधानले बताए । उनले भने, ’अन्य कक्षाको पठनपाठन पुरानो पुस्तकबाटै गरेका छौँ । केहि सेट आएका छन्, त्यो पनि अपुरो छ । ४, ७ र ९ कक्षाको पुस्तक आईनसकेकाले नियमित पठनपाठनमा समस्या छ ।’ जिल्लाका दुर्गम ग्रामीण क्षेत्रहरुमा पाठ्यपुस्तक नहुनाले केहि विद्यालयले गर्मी विदा समेत गरेका छन् । ’सदरमुकाम मै त पुस्तक आएको छैन, ग्रामीण क्षेत्रका विद्यालयमा आईपुग्न अझै कति समय लाग्ने हो । पुस्तक अभावमा विद्यालयको पठनपाठनलाई थाती राखेर गर्मी विदा दिएका छौँ ।’ तिम्मा माध्यमिक विद्यालयका शिक्षक खगेन्द्र खनालले भने ।
सरकारले पाठ्यपुस्तक छपाईमा गरेको लापरवाहीले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकको सिकाइ क्रियाकलापमा समस्या थपिएको विद्यालयहरुले जनाएका छन् । एकादशी आधारभुत बिद्यालय भुल्केमा अहिलेसम्म कुनै पनि कक्षाको पाठ्यक्रम पुग्न नसकेको शिक्षक डम्वर गुरागाईको गुनासो छ । उनले भने, ’अहिलेसम्म कुनै पनि कक्षाको पुस्तक उपलब्ध भएको छैन, पुरानो पाठ्यपुस्तकबाट नै शिक्षण सिकाई भईरहेको छ ।’
यस्तै जनकल्याण आधारभुत विद्यालयका शिक्षक योगराज लुर्इँटेलका अनुसार कक्षा ४, ६, ७ र ८ को नयाँ पुस्तक नआएकाले पुरानाबाट नै पठनपाठन भईरहेको बताए । पुस्तक बिक्रेताहरुले समेत पुस्तक छाप्न ढिलाई हुदाँ विद्यालयहरुमा पुस्तक पठाउन नसकिएको गुनासो गरेका छन । पुस्तक बिक्रेता रजनी स्टोर भोजपुरका प्रोपाईटर अवनी शाक्यले पुस्तक लिनका लागि विराटनगर जादाँ समेत पुस्तक नपाईएको बताईन् । भनिन्, ’पुस्तक छाप्न नै ढिला भएको छ, कक्षा १, २, ३ र ५ को भने पुस्तक बिद्यालयहरुलाई बाँडिएको छ ।’







