
लण्डन । गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खाहरुको समस्या र समाधानका लागि भइरहेको बार्ताको बिषयमा जानकारी सभा गरेको छ ।
गोर्खा भूतपूर्व सैनिकहरुको जनघनत्व रहेको अल्डरसर्टस्थित एम्पायर हलमा गोर्खा भूपपुर्व सैनिक संघ गेसो अल्डरसर्ट शाखाले आज शुक्रवार जानकारी सभा गरेको हो । सभामा गोर्खा भूतपूर्व सैनिक संघ गेसाका केन्द्रीय सभापति कृष्णकुमार राईले बेलायतस्थित भखैरै नेपाली दुतावासमा भएको त्रिपक्षीय छलफलपछि गोर्खाहरुको माग र समस्या समाधान गर्ने बिषयतर्फ अगाडी बढेको बताए ।
(गेसो)का केन्द्रीय सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्या समाधानको लागि गोर्खाहरु सम्मिलित दुई देश वीच चाडै हुने कुटनीतिक बार्ता बारेमा जानकारी गराएका थिए ।
लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा त्रिपक्षीय छलफल र त्यसबाट हुने उपलब्धीको बारेमा जानकारी गराइएको थियो ।
गोर्खाहरुको माग र समस्या समाधानका लागि डिसेम्बर महिनाभित्रै गोर्खाहरुको प्रतिनिधिहरु सम्मिलित नेपाल सरकार र बेलायत सरकारवीच वार्ता कमिटि गठन गरेर समस्या समाधान गरिने उक्त छलफलले निष्कर्ष निकालेको जानकारी सभापति राईले सम्पुर्ण उपस्थित गोर्खाहरुलाई दिएका थिए ।
कार्यक्रममा गोर्खा भुतपूर्व सैनिक संघ गेसाको उपसभापति धर्म तामाङले गोर्खा संगठनहरुवीच अहिले साझा सहमति बनेको र बार्ताले ठोस निष्कर्ष दिने बताए । अव हुने बार्ताले गोर्खाहरुको समस्या समाधान हुने कुरामा विश्वास व्यक्त गरे । कार्यक्रममा कोषाध्यक्ष देवीमाया पुन मगरले समेत मन्तब्य राखेकी थिइन ।
कार्यक्रम गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) अल्डरसर्ट शाखाका सभापति पदमबहादुर राना अध्यक्षतामा भएको थियो ।













