
दशैको छेकतिर खेतमा लहलह धान झुल्थ्यो । पाकेर पहेलपुर भएको खेती तिहार लगत्तै काटेर सुकाइन्थ्यो । धानको पाँजोले खेतका आली चिटिक्क देखिन्थे । धान चुटेर गेडो छुट्याएपछि बस्तुभाउलाई घाँस पराल पनि मनग्ये आउँथ्यो ।
‘दशैतिहारको बेला यो खेत रहरलाग्दो पो देखिन्थ्यो,’ भोजपुरको हतुवागढी गाउँपालिका –२ आहालेकी अमृता राईले अलैचीं बगान नियाल्दै उबेलाको दशैतिहार र धानखेत सम्झिइन्, –‘आफ्नै (खेत)मा फलेको चामलको भात खान पाइन्थ्यो, बर्षभरी गाइबस्तुलाई घाँसपराल ट¥थ्यो ।’
उनी यस बर्षको विजयादशमीको भोलीपल्ट विहानै घरदेखि दुई किलोमिटर परको बगानमा कुलो (सिचाइको लागि पानी लगाउने) लगाउँदै थिइन् । जहाँ नौ बर्ष अघिसम्म धान खेती हुन्थ्यो ।

१७ बर्ष अघि सम्म राम्रो गोडमेल, सिचाइ मिल्दा र जंगली बाँदरबाट जोगाउन सक्दा १५ रोपनी खेतमा १० देखि १५ मुरी धान आउथ्यो । त्यसयता धान रोप्ने सिजनमा पानी नपर्ने, खोलामा पानी सुकेर सिचाइ नपुग्ने, महिनौसम्म खडेरी पर्न थाल्यो । उब्जनी घट्यो ।
‘१० पाथी बिउ समेत नउठ्ने भो, ०६९ सालपछि त खेती लाउनै छाडिदियौं,’ अमृताले बेलिविस्तार लगाइन् । छ महिना भारतको कोइलाखातमा मजदुरी र छ महिना घरखेती भ्याउने अमृताका पति वुद्धिमान गुजारा टार्न साउदी अरब हानिए ।
अढाइ बर्षमा घर फर्किए । एक दिन गाउँमा रुख ढाल्ने क्रममा दाहिने खुट्टामा ठुलो चोट लाग्यो । अत्यधिक रक्तस्राब भयो । १४ लाख जति खर्च गरेर धरानमा उपचार गराए । चोट निको भएपनि खुट्टाले राम्ररी भर दिदैन । घरमुली नै अशक्त भएपछि पाँच जनाको परिवारलाई खान, लाउन धौधौ पर्न थाल्यो ।
वुद्धिमानले बाँस र पुराना टायरबाट मुडा बनाउन सिकेर बेच्न थाले । अमृताले खेतमा अलैंची खेती हाल्ने सोच बनाइन् । गाउँमा सबैले अलि–अलि खेती गर्न थालेका थिए । धानलाई जसरी धेरै स्याहार गर्नु नपर्ने, आम्दानी मनग्य दिने थाहा पाएकी थिइन् ।
पाँच बर्ष बाँझै छोडेको पाखो खेत घारी र उत्तिसको जंगलले छोपेको थियो । घारी फाँडेर सेपिलो जमिनमा अलैँचीका बेर्ना लगाए । अलैची खेती थालेको चार बर्ष भैसकेको छ । पहिलो बर्ष चार रोपनी जतिमा हाल्दा १६ किलो फलेको थियो । दोस्रो बर्षदेखि १५ रोपनीमै विरुवा फैलाए । १८४ किलो अलैची फल्यो । प्रतिकिलो सात सय रुपैयाँमा बेच्दा एक लाख २८ हजार आठ सय कमाइ भयो ।

अलैचीको भाउ बर्षेनी घटबढ हुने गर्छ । नेपाल कृषि बजार विकास कार्यक्रमका व्यवस्थापक विष्णुप्रसाद काफ्लेका अनुसार सन् १९६५ मा प्रति किलो दुई रुपैयाँ मात्र पर्ने अलैचीं पाँच/छ बर्षअघिसम्म पच्चिस सय रुपैयासम्म पुगेको थियो । उनले प्रदेश—१ को कृषि विकास निर्देशानलयद्धारा ०७८ असारमा प्रकाशित ‘प्रादेशिक कृषि दर्पण’ पुस्तिकामा ‘अलैचीको निर्यात विविधिकरण र आन्तरिक बजार प्रवद्र्धन’ शिर्षकको लेखमा यो उल्लेख गरेका छन् ।
विश्व बजारको करिब १२ हजार मेट्रिक टन अलैंची मध्ये करिब ५५ प्रतिशत नेपाली अलैंचीको हिस्सा रहेको छ । झण्डै ७० हजार किसानहरुले प्रत्यक्ष रुपमा खेती गर्छन् । यो नेपालको प्रमुख निर्यातमुखी कृषि मसला बाली भित्र पर्छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यहाँका किसानले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले लगायत जातको अलैचीं लगाउँछन् । आर्थिक बर्ष ०७६/७७ मा भोजपुरमा ७१२ हेक्टर क्षेत्रफलमा अलैचीं खेती लगाइएको थियो । उत्पादनशिल क्षेत्र ४२० हेक्टरमा २०७ मेट्रिकटन उत्पादन भएको थियो ।
०७७/७८ मा खेती लगाइएको क्षेत्र वृद्धि भएर ७२३ हेक्टर पुग्यो । उत्पादनशिल क्षेत्र ५६० हेक्टरमा २३५ मेट्रिकटन उत्पादन भएको छ । अलैची खेतीले साना तथा मध्यम किसानहरुका लागि जिविका र रोजगारीको माध्य बनेको छ । पुर्वी पहाडमा अलैचींलाई ‘खोल्साको कालो सुन’ उपमा नै दिइएको छ ।
आफ्नै प्रयास र लगानीमा सुरु गरेको अलैंची खेती अमृता परिवारलाई पनि गतिलो आयस्रोत बन्यो । गाउँकै स्कुलमा कक्षा १२ पढाइ सकेका जेठो छोरो प्रदिपलाई धनकुटा जिल्लामा कृषि बाली अन्तर्गत जुनियर प्राविधिक सहायक (जेटिए) पढ्न पठाए । यो बर्षदेखि स्नातक भर्ना गरिदिएका छन् ।
कान्छो छोरा र छोरी गाउँमा पढिरहेका छन् । उनीहरुलाई पनि उच्च शिक्षा पढाउने आँट थपेको छ अलैंची खेतीले । ‘खोल्साको कालो सुन’ ले घर, जिविका चलाउन, अन्नदाल, नुनतेल, माछामासु किन्न, चाडवाड मनाउन, छोराछोरी पढाउन, वुद्धिमानको उपचारमा लागेको ऋण तिर्न टेवा दिएको छ ।
‘सय रुपैयाँ पाथी पर्ने धान भन्दा चार सय रुपैयाँ किलो नै किन नहोस्, अलैचीले नै फाइदा दिएको छ,’ अमृता भन्छिन्, ‘बाँझो खेत नि काम लाग्यो, आपत पर्दा यही अलैची देखाएर ऋण काढेर चलाउन आँट आउँछ ।’
अमृता प्रतिनिधि पात्र हुन्, लामो समयसम्म लगातार खडेरी पर्ने, समयमा पानी नपर्ने, हिउँदमा हिउँ कम पर्ने तथा बालीनालीमा नयाँ नयाँ रोगकिरा लाग्ने जस्ता कारणले अन्नबाली उब्जनी हुन छाडेपछि कृषकहरु आफैले वैकल्पिक कृषि अभ्यास अगाल्न थालेको कृषि तथा वातावरण विज्ञ पुरुषोत्तमप्रसाद गुप्ता बताउँछन् ।
‘यस्ताखाले प्रकृतिमा आधारित समाधान तथा जलवायु अनुकुलन कृषि प्रणालीलाई विस्तार गर्नु जरुरी छ,’ उनले भने, ‘पृथ्वीमा तापक्रम बढिरहेको छ, जलवायु परिवर्तनको असर खेती प्रणालीमा देखिन थालेको छ, समयमा यता ध्यान नदिने हो भने भोकमरी, पोषण स्वास्थ्यमा हानी पुग्छ ।’
कुराकानीको क्रममा उनले धादिङको खनियाबास गाउँपालिका, तारागाउँको उदाहरणलाई जोडे । बर्षमा एक पटक कोदो फल्ने बारीमा अचेल गोलभेडा, खुर्सानी, काउली, बन्दा, आलु लगायत बेमौसमी तरकारी बाह्रैमास उत्पादन हुन थालेको छ ।
खेतीमा सिचाइको समस्या भएको ठाउँमा बेलायतको अन्तरराष्ट्रिय विकास नियोगको सहयोगमा सञ्चालित पुर्णिमा कार्यक्रमले छिमेकी गाउँबाट सिचाइ ल्याएर खेती गर्न, उत्पादन र विक्रि प्रवद्र्धनमा सहयोग पु¥यायो ।
तारागाउँका करिब अढाइसय परिवारले उत्पादन गरेको तरकारी धादिङबेसीको बजारमा निर्यात हुन थालेको छ । यसरी कृषकहरुले आफैले जानेर या केही परियोजनाको सहयोगमा भैरहेको अभ्यास मात्रै पर्याप्त नहुने भएकाले स्थानीय, प्रदेश र संघिय सरकारले नीति बनाएर लागु गर्नुपर्ने उनको भनाइ छ ।

हतुवागढी गाउँपालिका –५, होमताङका एक्सन राईले पनि बाँझो जग्गामा एभोकाडो लगाएका छन् । मकै कोदो फलाउदै आएको जग्गामा सिचाइको अभाव भएपछि खेती लगाउन छाँडेका थिए । आकाशे पानी समयमा नपर्दा मकै, कोदो सप्रिन छाड्यो ।
उत्पादन हुन छाडेपछि पाँच बर्ष बाँझै छोडेको १० रोपनी जग्गामा एभोकाडो हालेका छन् । ‘चार बर्ष अघि विरुवा रोपियो, फल्न थालेको छ, आउने सालदेखि व्यवसायिक उत्पादन दिन थाल्छ,’ उनले भने, ‘बाँझो जग्गाको उपयोग पनि भयो, नगदेबाली भएकाले आम्दानी पनि हुने भयो ।’ भोजपुरको स्थानीय बजारमा प्रतिकिलो अढाइ सय देखि तीन सय रुपैयाँ पर्छ ।
भोजपुरकै उत्तरी भेगमा पर्ने षडानन्द नगरपालिका, चिउरीबोटेका सुदेश राईले पाँच बर्षयता १२ रोपनी बारीमा रुद्राक्ष विरुवा लगाए । एक सिजन मकै, कोदो फलाउदै आएको बारीमा विस्तारै सिचाइकै समस्या हुन थाल्यो । सुख्खा खडेरीले गर्दा उब्जनी हुन छाड्यो । रुद्राक्ष लगाए ।
‘मकै, कोदो उब्जनीले बर्षभरी मात्रै खान पुग्थ्यो भने रुद्राक्ष दानाको आम्दानी हाम्रो मुख्य आयस्रोत नै भएको छ,’ उनले भने, ‘पहिले खेतबारीका पाटामा मात्रै रुद्राक्षका बोट हाल्थ्यौं, अचेल पानी नलाग्ने खेतबारीमा सबैले रुद्राक्ष नै हाल्छौं ।’
रुद्राक्षको मुखदार, गुणस्तरको आधारमा मुल्य हुन्छ । सामान्य खालको दानाको प्रतिकिलो न्युनतम हजार देखि तीन हजार हुन्छ भने मुखदार एकै दानाको ४५/५० लाखमा विक्रि हुन्छ । ‘मुख हेरेर, क्वालिटी हेरेर जसले जति हाल्न सक्यो त्यति नै हुन्छ मुल्य,’ सुदेशले भने । उनले रुद्राक्षबाट बार्षिक औसत २५ लाख कमाइ गर्छन् ।
षडानन्द नगरपालिका लगायत भोजपुरको उत्तरी भेगमा रुद्राक्ष खेती स्थानीयको मुख्य आयस्रोत मानिन्छ । रुद्राक्ष व्यवसायी संघको केन्द्रीय सदस्य निलमणी न्यौपानेका अनुसार दिंङ्लाबाट बार्षिक २० देखि ३० करोड रुपैयाको रुद्राक्ष निर्यात हुन्छ ।
डिभिजन वन कार्यालय, भोजपुरका अधिकृत विष्णुलाल घिमिरेले रुद्राक्ष लगाउने पुरानै अभ्यास भएपनि पछिल्लो समय व्यवसायिकतामा वृद्धि भएको बताए । अन्तरराष्ट्रिय व्यापार हुने रुद्राक्षले जिल्लाको आर्थिक विकासमा टेवा दिइरहेको भएपनि कति क्षेत्रफलमा खेती हुन्छ, उत्पादन र आम्दानी कति हुन्छ भन्ने यकिन तथ्याकं सरकारी निकायसित छैन ।
वन अधिकृत घिमिरे भन्छन्, ‘जिल्लाभित्र अन्नबाली लाग्न छोडेका जग्गा, बाँझो जमिनमा खेती लगाउने उत्साह कृषकहरुमा बढेको छ, अन्य जिल्लाहरुमा पनि माग भैरहेको छ ।’ वन कार्यालयले बर्षेनी कम्तिमा ३० हजार विरुवा नर्सरीबाट निशुल्क वितरण गर्दैै आएको छ । कृषकको माग अनुसार यस बर्ष सुदुरपश्चिमको अछाममा तीन हजार र झापामा एक हजार पाँच सय विरुवा वितरण गरेको बताए ।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्रप्रसाद यादवले खडेरी, जलवायु परिवर्तन, गाउँमा खनजोत गर्ने मानिसको अभाव जस्ता कारणले परम्परागत र निवार्हमुखि कृषि पेशालाई नगदे र तरकारी बालीले विस्थापित गर्न थालेको बताउँछन् ।
‘अन्नबालीको सट्टा अलैची, अकबरे, रुद्राक्ष, खुर्सानी, सुन्तला, किवी, एबोकाडो, ड्रागनफ्रुट, बेमौसमी तरकारी खेती तिर कृषकको आकषर्ण बढेको छ,’ उनले भने, ‘धेरै जनशक्ति पटक पटक नचाहिने, आम्दानी दिने भएकाले बाँझो जग्गाहरुको पनि उपयोग हुन थालेको छ ।’ कृषि ज्ञान केन्द्र भोजपुरको अभिलेख अनुसार भोजपुरमा कुल ६२ हजार २ सय ९९ खेतीयोग्य जमिन मध्ये ५६ हजार ९ सय ६३ हेक्टर क्षेत्रफलमा खेती हुन्छ ।







