भोजपुर । आकाशे पानीको भरमा धान खेती हुने स्थानहरुमा पर्याप्त पानी नपरेपछि किसानले यो वर्ष चाहे अनुसारको धान खेती गर्न पाएका छैनन् । पानी कम परेकाले साउन सकिन लाग्दासम्म जिल्लाभर करिब ८४ प्रतिशत मात्र धान रोपाई भएको छ । हिउँदयाममा सुख्खाखडेरी र वर्षातमा कम पानी परेका कारण मुहान, मूलमा पानी सतह घटेपछि गत सालको तुलना यो वर्ष झण्डै ५ प्रतिशतले धान रोपाँई घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पानी नपरेपछि बाँझो जोतेको खेतमा धुलो उड्न थालेको टेम्के मैयुङ गाउँपालिका कोट पिप्लेका मणि राईले सुनाए । ‘पानी कम परेकाले धान रोप्ने काम पनि त्यतिक्कै थाती राख्नुपरेको छ । पानी नभएपछि अगाडी रोपेका धानका बीउहरु पनि सुक्न थालेका छन् ।’ उनले भने, ‘कहिले आकाश गर्जिएला र धान रोपौँला भएको छ ।’
यो वर्ष कम पानी परेपछि धान रोपाँई घटेको कार्यालयका सूचना अधिकारी युकमणी भट्टराईले जानकारी दिए । उनले भने, ‘पानी कम परेकाले जिल्लाका कोट, गोगने, दलगाउँ, दक्षिणी क्षेत्र, उत्तरी केहि क्षेत्रहरुमा धान रोपाँई हुन सकेको छैन । पोहोरसालको तुलनामा यसपाली ५ प्रतिशत जति कम रोपाँई भएको छ ।’
जिल्लाको १८ हजार ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिनेमध्ये करिब ७ सय हेक्टर पानी पुग्ने क्षेत्रफलमा बर्खे र हिउँदे गरी दोहारो धान खेती हुने गरेको तथ्याङ्क छ । बाँकी क्षेत्रमा भने एक कमाई धानखेती हुने गरेको छ । तर गतवर्षको तुलनामा यो वर्ष अधिकांश कृषकहरु धान खेतीलाई छोडी नगदेबाली तथा फलफुल खेतीतर्फ उन्मुख भएपछि करिब एक हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन घटेको सुनाउँदै सुचना अधिकृत भट्टराईले भने, ‘पछिल्लो समय कृषकहरु पारम्पारिक धानखेतीलाई छाडेर छिटो र राम्रो आयआर्जन गर्नका लागि अन्य पेशा अंगालेका छन् । भएको सयौँ मुरी फल्ने धान खेती जमिनमा अलैँची, अम्लिसो, रुद्राक्ष, सुन्तला लगायत नगदेबाली तथा फलफुल खेती गर्न सुरु गरेकाले धानखेती जमिन मासिएको हो ।’
०७३ सालको तुलनामा गतवर्ष ३ हजार ८ सय २० मेट्रिक टन बढिले धान उत्पादन बढेको थियो । उन्नत जातको विउविजन, रेखदेख, प्रशस्त सिँचाई र उचित समयमा मलखाद वितरणले गतवर्ष जिल्लाभर कुल ४० हजार एक सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । ७५ प्रतिशतभन्दा बढि किसानहरु मुख्यबालीको रुपमा धान खेती गर्ने गरेका छन् । जिल्लामा स्थानिय जातका अट्टे, जिरा मसिना, मन्सुली, पोखरेली, बास्मती जातका धान खेती हुने भोजपुरमा उत्तरी साङपाङ, देउराली, दिङ्ला, हेलौँछा, बोया, पुर्वी तिवारी भञ्याङ, चरम्बी, याङपाङ, चम्पे, दक्षिणी मानेभञ्ज्याङ, बैकुण्ठे, बासीखोरा, रानीबास, बालंखा, दुम्माना, हसनपुर, पश्चिमी अन्नपूर्ण, छिनामखु, नागी, खावा, दिल्पा र सिद्देश्वर, गुप्तेश्वर, बोखिम, भोजपुर, टक्सार, भैँसीपंखालाई मुख्य धान उत्पादन पकेट क्षेत्रको रुपमा लिईन्छ ।