भोजपुर । भोजपुरमा लामो समयपछि नेपाल बायु सेवा निगमले पुनः बिहिवारबाट उडान शुरु गरेको छ । बिमानको मर्मत कार्य सकिएकाले पुनः बिहिवारबाट भोजपुर काठमाण्डौ उडान पुन शुरु भएको नेपाल बायु सेवा निगम भोजपुरका सहायक स्टेशन प्रमुख राजु मिजारले बताए ।
जहाजमा खरावी आएको भन्दै नेपाल बायु सेवा निगमको जहाजले गएको श्रावण महिनाको अन्तिमबाट भोजपुरमा उडान बन्द गरेको थियो । लामो समयसम्म पनि नेपाल बायु सेवा निगमको जहाजले उडान बन्द गर्दा जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरुबाट अन्यत्र लान सिफारिस गरेका बिरामीहरु सवै भन्दा बढी मारमा पर्दै आइ रहेका थिए ।
भोजपुरमा नेपाल बायु सेवा निगमको टुईनेटर जहाजले मात्र उडान गर्दे आइ रहेको छ । भोजपुर नगरपालिकाको टक्सारमा रहेको एक मात्र बिमानस्थलमा निगमको जहाजले हप्तामा काठमाण्डौका लागि मंगलवार, बुधवार, बिहिवार, शुक्रवार र शनिवार गरी ५ वटा उडान गर्दे आइ रहेको छ भने हप्तामा १ दिन मंगलवार बिराटनगर पनि उडान गर्दे आइ रहेको निगमका सहायक स्टेशन प्रमुख मिजारले जानकारी दिए ।
चाड पर्व नजिकिदै गएको अवस्थामा यात्रुको चाप पनि बढेकोले समस्या भएको थियो मिजारले भने अव पुन उडान शुरु हुने भए पनि सजिलो हुने भएको छ ।