भोजपुरमा पनि सुरु भयो अमेरिकी फौजी किराको प्रकोप

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरमा पहिलोपटक फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि हतुवागढी गाउँपालिका क्षेत्रका किसानहरु चिन्तित देखिएका छन् । लामो खडेरीले बर्खे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका हुन् ।

बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए । गाउँपालिकाका वडा नं १, २, ५ र ६ का रानीबास, लुङ्गिन, होम्ताङ, हर्का, लंखा लगायत छिमकी आमचोक गाउँपालिकाका केहि क्षेत्रमा पनि फौजी किराको बढि प्रकोप देखिएको छ । प्रकोपले गाउँपालिका क्षेत्रका करिब सवा ८ सय रोपनी क्षेत्रफलमा लगाईएको मकैबाली नष्ट गरेको छ ।
किसानका अनुसार ठूलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने, रातमा कलिला पात खाए मकैको बोट सखाप पारेका छन् । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने लुङ्गेनका अर्का स्थानीय कृषक राजेन्द्र राईले बताउनुभयो ।
सुख्खा खडेरीले बर्खे मकै मरेपछि मासेर लगाएको हिउँदे मकैमा पनि फौजी किराले सास्ती दिएको हतुवागढी गाउँपालिका १, रानीबास हर्काका किसान पदमबहादुर बस्नेतले गुनासो गर्नुभयो ।
हतुवागढी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार गाउँपालिकाले कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानविच तत्काल किराको प्रकोप समाधान गर्न, नमुना संकलन, स्थलगत अनुगमन, विषादी छिट्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।
खेतबारीमा लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढ्दै जाँदा किसानहरु अन्य बालीनाली, रुखबिरुवा, बस्तुभाउमा समेत क्षति पु¥याउने सन्त्रास पनि फैलिएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, गाउँपालिकाले किराको पहिचान गर्न र तत्काल समस्या समाधानका लागि प्रभावित क्षेत्रमा कृषि प्राविधिक टोली खटाईएको छ । किरा नियन्त्रणको लागि आवश्यक पहल भइरहेको छ ।
फौजी किराको केहि अगडि छिमेकी जिल्ला खोटाङ्ग र उदयपुरमा देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार