संगितमय बन्यो अन्नपूर्ण

टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा आयोजित सांगितिक साँझ । तश्विर, अन्नपूर्ण

भोजपुर । चिसो ठण्डा माहोल बन्दै थियो, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा । जिल्लाभित्र र छिमेकी खोटाङबाट ‘म्युजिकल ईभेन्ट’ भन्दै दर्शकहरुको खचाखच उपस्थिती थियो । संगित र साहित्यका रस भिजेका पारखीहरु पनि सांगातिक प्रस्तुतीको पर्खाईमा थिए । चिसो मौसमको वास्तै नगरी स्थानीय बृद्धबृद्धाहरु पनि आएका थिए ।
‘आज गाउँमा ठुलो नाचगान हुन्छ रे, उहिले हाम्रो पालाको मेलाको रौनक जस्तै, नहेरी त नजाने’ स्थानीय लक्ष्मीप्रसाद अधिकारीले भने । दर्शकको तालीको गडगडाहटले हल तातियो जब बरिष्ठ गायक, संगीतकार एवम् साहित्यकार गणेश रसिक हार्मोनियमका साथमा स्टेजमा देखिए । उनको एकल साँझ भएकाले पनि दर्शकहरुको उनको गायिकी हेर्न लालायित देखिन्थे । गायनको जादू छर्ने रसिकले झण्डै डेढ दर्जन गितहरु गाएर भरपुर मनोरञ्जन दिए ।
टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको टेम्केमैयुङ मुन्दुम पर्यटकीय महोत्सवको अवसरमा आयोजित साँस्कृतिक साँझमा रसिकको गायन तारिफयोग्य रह्यो । छिनामखुमा जन्मिएका रसिकको एकल गायन साँझले माहोल तताएको थियो । शब्द, संगीत र स्वरका माध्यमबाट नेपाली संगीतमा पाँच दशक बिताइसकेका रसिकलाई गाउँपालिकाले सम्मान पनि गरेको थियो ।
त्यस्तै लोकप्रिय गायक भिषण मुकारुङको प्रस्तुतीले दर्शकलाई उफार्न बाध्य बनायो । चिसो मौसमलाई सांगातिक माहोललाई उनका चर्चित ‘खुर्सानी डल्ले’ले ततायो । लोकप्रिय भाकामा केटाकेटीदेखि बुढाबुढी दर्शकहरु कम्मर मर्काए । मुकारुङले ‘सोई ढोले’, ‘अँधेरीमा जुन खुल्दा’, ‘पूर्णेको जुन’ लगायतका प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन दिए ।
प्रतिकूल मौसमका कारण दर्शकको अपेक्षा नगरिएपनि प्रस्तुति सुरु भएपछि हल खचाखच भरिएको थियो । गायक भिषणले दर्शकको उपस्थितीलाई धन्यवाद दिँदै भने, ‘मौसम विग्रिए बावजुत पनि दर्शकहरु आईदिनुभयो, हामीले सोचेकै थिएनौ, खुशीको सिमै रहेन, धन्यवाद छ माया गर्ने सबै दर्शकलाई’
सांगातिक साँझमा गाउँपालिकाभित्र जन्मिएका श्रष्टा गणेश रसिक र भिषण मुकारुङसंगै अन्य गायकगायिका तथा साहित्यकारको बजोड प्रस्तुती थियो । पर्यटकीय गन्तव्यमा सुचीकृत मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले आयोजना गरेको महोत्सवको अवसरमा सांगातिक साँझ पनि राखिएको थियो । महोत्सवका लागि गाउँपालिकाले ८ लाख बजेट छुट्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार