निर्माण काममा चरम लापारबाही, महिना दिन पनि टिकेन बसपार्कको पर्खाल

  सिलिचुङ सम्बाददाता

भोजपुर नगरपालिका ७, कोदारस्थित भत्किएको बसपार्कको पर्खाल । तश्विर

 

भोजपुर । निर्माण काममा चरम लापारबाही भएपछि भोजपुर बसपार्कको पर्खाल एक महिना नपुग्दै भत्किएको छ । प्राविधिक ईस्टिमेट अनुसारको गुणस्तरीय काम नहुँदा भोजपुर नगरपालिका ७, कोदारस्थित बसपार्कको पर्खाल भत्किएको हो ।
भोजपुर नगरपालिकाले आफ्नै मातहतमा निर्माण समिति बनाएर गत जेठ अन्तिम साताबाट पर्खालको काम सुरु गरेको थियो । सम्झौता अनुसार उक्त पर्खाल निर्माणका लागि आर्थिक वर्ष ०७६÷७७ को प्रदेश सांसद कोषबाट १९ लाख बजेट छुट्याईएको थियो । निर्माण काममा प्राविधिक ईस्टिमेट नै लापारबाही भएकाले पर्खाल महिनादिन पनि नटिकेको स्थानीय सरोकारवालाको गुनासो छ ।
लाखौँको लगानीमा बनेको पर्खाल महिनादिन पनि नटिकेपछि बजेटको दुरुपयोग बढेको भन्दै स्थानीयबासिन्दा रुष्ट बनेका छन् । पहुँचका आधारमा मात्र मनोमानी ढंगमा काम सकेको स्थानीय स्थानीय विवेक राईले बताए । नगरपालिकाको गलत ईस्टिमेटका कारण पर्खालको दिर्घकालिन काम नभएको उनको आरोप छ । भने, ‘निर्माणका कामहरु पहुँचका आधारमा आफ्नालाई गरिखाने भाँडा बनाईयो, पर्खाल निर्माणका काममा दिर्घकालीन टिकाउ देखिएन’

भोजपुर नगरपालिका ७, कोदारस्थित भत्किएको बसपार्कको पर्खाल । तश्विर

यता नगरपालिका भने अविरलको वर्षातका कारण बसपार्कको पर्खाल भत्किएको बताएको छ । नगरपालिकाका मेयर कैलाशकुमार आलेले भने, ‘पुरुवा माटोमा बनाईएको पर्खाल केहि दिनको निरन्तर वर्षातले भत्काएको छ, हामीले प्राविधिकसंग बुझ्दा ईस्टिमेट अनुसार नै काम सम्पन्न भएको जानकारी पाएका थियौँ’ मेयर आलेका अनुसार उक्त भत्किएको पर्खालको पुनः निर्माणका लागि अर्काे शिर्षकमा बजेट विनियोजन गर्नुबाहेक अर्काे विकल्प नरहेको बताए ।
यता निर्माण समितिका अध्यक्ष टेक भण्डारीले प्राविधिक ईस्टिमेट गलत भएको बताए । उनका अनुसार पुरानो पर्खालमा नगरपालिकाका प्राविधिकले पर्खाल लगाउने ईस्टिमेट गरेकाले पर्खाल भत्किएको हो । भने, ‘हामीले पुरानो पर्खालमाथि पर्खाल नलगाउन नै भन्या थियौँ तर प्राविधिकले त्यहि ईस्टिमेट गरेपछि हामीले काम सम्पन्न ग¥यौँ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार