कोभिड-१९ को विश्वव्यापी महामारीपछि विभिन्न देश गएकामध्ये हालसम्म हवाई उडानबाट ४५ हजार ६ सय ७३ जना नागरिक स्वदेश फर्केका छन् । भारतसहित ३० देशबाट स्वदेशी र विदेशी विमानहरूको चार्टर उडानमार्फत यो संख्यामा नेपाली स्वदेश फर्केका हुन् ।
सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) द्वारा शुक्रवार जारी विज्ञप्ति अनुसार शुक्रवार मात्रै साउदी अरब, युनाइटेड अरब इमिरेट्स र अष्ट्रेलियाबाट आठ ७४ जना स्वदेश फर्केका छन् । सिसिएमसीले शुक्रवार अपरान्हसम्म तयार गरेको उडान विवरणअनुसार सबैभन्दा बढी युएईबाट १२ हजार एक सय ७५ जना स्वदेश फर्केका छन् । शुक्रवार युएईबाट दुई उडान भएका छन् । पहिलो उडानमा एक सय ५० जना आएका छन् । युएईबाट शुक्रवारै एउटा शब पनि ल्याइएको छ । साँझ भएको दोस्रो उडानमा पनि युएईबाट नेपाली आएका छन् ।
यो अवधिका श्रीलंकाबाट भने जम्मा पाँच जना स्वदेश फर्केका छन् । श्रीलंकाबाट फर्केकाहरुमध्ये चारजना बागमती प्रदेश र एकजना गण्डकी प्रदेशका हुन् । युएईपछि साउदी अरबबाट फर्किनेको संख्या ६ हजार नौ ९७ जना छ । मलेशियाबाट ६ हजार ६ सय २० जना, कुबेतबाट ६ हजार तीन २९ जना, कतारबाट पाँच हजार दुई ४१ जना, अष्ट्रेलियाबाट एक हजार ८७ जना, जापानबाट एक हजार २३ जना स्वदेश फर्केका छन् ।
यसबीचमा शान्ति सेनामा गएर फर्केकाहरूको संख्या पनि सिसिएमसीले जोडेको छ । जसअनुसार इराकबाट ३९ जना, दक्षिण सुडानबाट दुई ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)बाट ६८ जना, दक्षिण सुडानबाट दुई ५० जना फर्केका छन् । यसैगरि अफगानिस्तानबाट ३३, ओमानबाट चार सय ९२, म्यानमारबाट २६ थाइल्याण्डबाट तीन सय २६, दक्षिण कोरियाबाट सात सय २०, बंगलादेशबाट आठ सय ४१, मालदिभ्सबाट सात सय नौ ना स्वदेश फर्केका छन् । सिंगापुरबाट दुई सय ९७, हंङकंङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट नौ सय ८०, अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई २९, इजरायलबाट एक सय २७, चीनबाट दुई सय आठ, टर्कीबाट एक सय १०, फिलिपिन्सबाट दुई सय एक, स्वीटजरल्याण्डबाट १० जना पनि स्वदेश आएका छन् । भारतबाट पनि हवाई उडान प्रयोग गरेर ८५ जना स्वदेश फर्केका छन् । स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको संख्या एकिन छैन ।
सात प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशका नागरिक आएका छन् । त्यसपछि क्रमशः प्रदेश १, प्रदेश ५, प्रदेश २, सुदुरपश्चिम र कर्णाली प्रदेशका नागरिक हवाई माध्यम हुँदै विदेशबाट आएका छन् ।