
भोजपुर । भोजपुरको ‘टक्सार’ सुन्ने वितिक्कै कलात्मक मन्दिर वा मुर्तिको झल्को आउँछ । अर्को अर्थमा ‘मिनी पाटनं’ ले नामले पनि चिनिन्छ । वि.स १८७२ सालतिर प्रख्यात तामाको डोली टक (पैसा) काट्ने नामले यो ठाउँलाई कालान्तरमा टक्सार भनियो । पछि कलात्मक धातु र मठमन्दिरले छुट्टै पहिचान बनायो । पाईलैपिच्छे भेटिने यहाँको मन्दिर तथा देवलहरु टक्सारको पहिचान बन्यो ।
०७२ सालको महाभुकम्पले अधिकांश धार्मिक संरचना जीर्ण बनायो । आर्थिक अभावले त्यसको पुनः निर्माण हुन सकेको छैन । हिजोआज पुजाआजा गर्ने तिर्थालुको आगमन पनि खस्किेको छ
त्यहि ऐतिहासिक देवलहरुले सजिएको टक्सार हिजोआज विरानो बन्दै गएको छ । भोजपुर नगरपालिकाको १२ नं वडामा पर्ने टक्सार भोजपुर आउने जोकोही पर्यटकको लागि पहिलो र नजिकैको दुरीको गन्तव्य हुन्थ्यो । नेपालकै पहिलो थेरबादी शाक्यमुनि बौद्धविहार लगायत राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान, सरस्वती मन्दिर लगायत दर्जनौ देवल तथा विहारचैत्यहरु छन् । तर ती सबै पुराना र जिर्ण बनिसकेका छन् । जुन जगेर्णा हुन नसक्दाको कारण हो । ती देवलहरु संरक्षण गर्ने अधिकांश गाउँलेहरु सुविधाको खोजीमा बसाई लागे । चासो दिने गाउँमा भेटिन्दैनन् ।
संरक्षण अभावमा टक्सार शान ऐतिहासिक देवलहरु ओझेलमा परेका छन् । त्यसमाथि ०७२ सालको महाभुकम्पले अधिकांश धार्मिक संरचना जीर्ण बनायो । आर्थिक अभावले त्यसको पुनः निर्माण हुन सकेको छैन । हिजोआज पुजाआजा गर्ने तिर्थालुको आगमन पनि खस्किेको छ । रेखदेखको कमी र आर्थिक संकटमा पिसिएका ती ऐतिहासिक धरोहरको कन्तविजोग भएको स्थानीय अम्रिका ताम्राकारले सुनाए ।
दिनानुदिन खण्डहर बनेका ती मठमन्दिर र विहारचैत्यहरुमा हिजोआज भक्तालुहरु पनि आउन छोडेको पुजारी नरेन्द्रराज शाक्य बताउँछन् । भन्छन्, ‘टाठाबाठाहरु सबै शहर पसे, भएका केहि घरको कुरै मिल्दै, मनमुटाव चल्छ, हामी बुढाबुढीले केही गरौँ भन्ने जाँगर पनि छैन’
पातलिँदो बस्ती र संरक्षण अभाव झेलिरहको मध्ये वि.स १९९० सालतिर बनेको नेपालको पहिलो ऐतिहासिक शाक्यमुनि थेरवाद बौद्धविहारको हविगत पनि उस्तै छ । स्थानियकै चासोमा नपरेपछि विहार जिर्ण बनेको छ । विहारका उपासिका उत्तरा शाक्यले भनिन्, ‘मन्दिरको रेखदेख गर्ने, सरोकार राख्ने मान्छे भेटिदैन र भएका स्थानियको चासो छैन, बाहिरी कुनै दाताबाट सहयोग प्राप्त भए मन्दिरको मर्मत सम्भार गर्ने थियौँ’

तात्कालिन जिल्ला विकास समितीले विहारको भवन मर्मत सम्भार गर्न छुट्टाएको तीन लाख बजेटबाट बौद्धविहार प्रतिष्ठानले ध्यानशिविर भवन बनायो । ०७२ सालमा प्रतिष्ठानले बौद्धविहार सम्बद्र्धन गर्न जिविसकै ९० हजार र स्थानियबाट ६० हजार चन्दा उठाए । तर त्यो संकलित एक लाख ५० हजार रकमले विहार मर्मतसम्भारमा पर्याप्त भएन । गाउँमा बजेट मात्र नभई स्थानियबासीविच नै आपसी समझदारी नहुँदा बौद्धविहारको प्रबद्र्धन गर्न कठिनाई भएको प्रतिष्ठानका अध्यक्ष प्रकाश शाक्यले बताए ।
ऐतिहासिक थलोकै विग्रदो हविगतले आन्तरिक पर्यटनमा पनि खलल पुगेको छ । जिल्ला बाहिरबाट आउने पर्यटकहरुको पहिलो रोजाई टक्सार भ्रमण हो । सदरमुकाम नजिकै पर्ने भएकाले पनि टक्सारबजार घुम्न, अवलोकन गर्नेको राम्रै आगमन हुन्थ्यो । यहाँ घुम्न आउने पर्यटकहरुले स्थानीय कालीगढले बनाएका आकर्षक कलात्मक करुवा, आम्खोरा, खुकुरी लगायत धातुका सामान चिनो स्वरुप लग्छन् । तर मानिसहरुको आमगनसंगै स्थानीयको आर्थिकोपार्जनमा पनि असर पुगेको स्थानीय धातु व्यावसायी बुद्धराज शाक्य बताउँछन् । भन्छन्, ‘आजभोली मानिसहरु नै आउँदैनन्, टक्सार सुनसान जस्तै छ, पहिले राम्रै कमाई हुन्थ्यो, हाम्रा सामान किन्न घरमै आउँथे, अहिले खासै हुँदैन’
सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व जोडिएका ती ऐतिहासिक देवलको दुर्दशा छ । सरोकारवालाहरु सुस्ताएको स्थानीयको गुनासो छ । यता नगरपालिकाले ध्यान नदिएपनि वडाले ऐतिहासिक देवलको संरक्षण र पुनः निर्माणका लागि नीति र बजेट विनियोजन गरेर लैजाने वडाध्यक्ष कुमार प्रसाद श्रेष्ठले प्रतिबद्धता जनाए ।







