भोजपुरमा शिव गोरक्षनाथको शक्तिपिठ जगाईदै

  सिलिचुङ सम्बाददाता

भोजपुर नगरपालिका ९ कैलाशडाँडास्थित गोरक्षनाथ शिव कैलाश मन्दिरको शिलान्यास गरिँदै । तश्विर, सिलिचुङ

 

भोजपुर । भोजपुरलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न शिव गोरक्षनाथ कैलाश शक्तिपिठ स्थापना गरिएको छ । आर्थिक विकास र आध्यात्मिक केन्द्रको रुपमा विस्तार गर्न उक्त शक्तिपिठको प्रबद्र्धन सुरु गरिएको हो ।
धार्मिक पर्यटन प्रबद्र्धनलाई जोड दिँदै भोजपुर नगरपालिका, गोरखनाथ कल्याण केन्द्र र भोजपुरबासी शिव गोरक्षनाथ मन्दिर प्रबद्र्धनमा जुटेका छन् । अभियानलाई मूर्त रुपमा दिन भोजपुर नगरपालिका ९ कैलाशडाँडामा शिव गोरक्षनाथ कैलाश मन्दिरको शिलान्यास गरिएको हो । परापूर्वकालमा योगी पाताञ्जली प्रकट भएको हिमदखण्ड, प्राचिन हरिद्वार, धवन्तरी देवले अमृत घडा मन्थन गरेको क्षिर सागर (दुधकोशी) र किँराती देव पारुहाङ र सुम्दिमाको पवित्र भूमि भएकाले भोजपुरलाई विश्वमाझ चिनाउने प्रयासले धार्मिक पर्यटन प्रबद्र्धन गर्न लागिएको गोरखनाथ कल्याण केन्द्र नेपालका संयोजक राजेश श्रेष्ठले बताए ।

प्रदेश सरकार, भोजपुर नगरपालिका र भोजपुरबासीको सहयोगमा ३ करोड ३३ लाख बराबरको गुरुयोजनामा उक्त मन्दिरको काम सम्पन्न हुनेछ

भगवान रुद्रको अक्ष (आँशु) खसेर निक्लेको शक्तिशाली उर्जा बसेको पवित्र भूमि मानिने भोजपुर धार्मिक तथा ऐतिहासिक पर्यटन प्रबद्र्धनका हिसाबले उद्गम थलो भएको उनले औल्याए । गोरक्षनाथका पाँच शक्तिपिठमध्ये सिन्धुलीको कुशेश्वरमा, सिखरकोट पालुङको दामनमा, धादिङको धार्केमा शक्तिपिठ छन् । यस्तै भोजपुरको कैलाशडाँडापछि फागुपूर्णिमामा सिन्धुलीमा शक्तिपिठ राखिने केन्द्रले जनाएको छ ।
आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रबद्र्धन गर्ने लक्ष्यले थालिने निर्माणको काम ६ महिनाभित्र सम्पन्न हुने लक्ष्य लिईएको छ । ५४ फिट अग्लो बन्ने उक्त शक्तिपिठसंगै ध्यानास्थल, शिवको मूर्ति लगायतका भौतिक संरचना बन्ने मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्बर श्रेष्ठले जनाए । प्रदेश सरकार, भोजपुर नगरपालिका र भोजपुरबासीको सहयोगमा ३ करोड ३३ लाख बराबरको गुरुयोजनामा उक्त मन्दिरको काम सम्पन्न हुने उनले बताए ।
ऐतिहासिक तथा पुराना धार्मिक स्थलहरु प्रचारप्रसार अभावमा ओझेलिदै गएकाले त्यसको प्रबद्र्धनको सुरुवात उक्त शक्तिपिठ निर्माणबाट गरिएको हो । भोजपुर सदरमुकाम नजिकै भएकाले पनि उक्त शक्तिपिठको प्रबद्र्धन सकिएपछि सिंगो जिल्लाकै आर्थिक विकासमा समेत टेवा पुग्ने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले बताउँछन् । नगरपालिकासँग बजेट कम भएपनि शक्तिपिठ निर्माण काममा कुनै कसुर नछोड्ने उनले बताए ।
पहिले प्रशिद्ध सिद्धकाली देवीको नामबाट भोजपुरलाई पूर्वको ‘सिद्धपूर’ ले चिनिन्थ्यो । पछि पृथ्वीनारायण शाहले एकिकरणको क्रममा युद्ध सकिएको खुशीयालीमा दिएको भोज खान नसकेर भोजले नगर पुरिएपछि भोजपुर नामाकरण रहन गएको कथन छ । सोहि महत्वलाई प्राथमिकतामा राखेर ऐतिहासिक र धार्मिक महत्वको जगेर्ना गर्नका लागि पनि शक्तिपिठको स्थापना भएको स्थानीय अगुवा नविन प्रधानको ठम्याई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार